२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट महिला कैदीबन्दी फरार भएकी छन्। शुक्रबार राति महिला बन्दी गृहमा कैद भुक्तान गरिरहेकी नुवाकोटकी २५ वर्षकी सपना तामाङ पर्खाल नाघेर फरार भएको कारागारका जेलर कृष्ण चापागाईँले बताएका छन्।
सपना चारवटा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेकी थिइन्। अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान र डाँकाचोरीको मुद्दामा अदालतले दोषी ठहर गर्दै जन्म कैद सुनाएको थियो।
फागुन ४ गते उनलाई केन्द्रीय कारागार सुन्धारा ल्याइएको थियो। तर शुक्रबार राति नै फरार भएको खुलेको छ। सपना फरार भएको कारागार प्रशासनले भने १५ घण्टा पछि मात्रै थाहा पाएको थियो।
शुक्रबार राति १ बजेतिरै उनी कारागारको बाहिरी पर्खाल नाघेर फरार भए पनि शुक्रबार अपरान्ह कैदीबन्दी गणना गर्ने बेलामा मात्रै एक जना संख्या कम भएको पत्ता लागेको थियो।
कारागार प्रशासनले कोही पनि कैदीबन्दी बाहिरिएको रेकर्ड फेला नपरेपछि सीसीटीभी हेरिएको थियो। जसमा उनी पर्खाल नाघेर भागेको देखिएको छ।
कारागारका सुरक्षाका लागि डीएसपीको कमाण्डमा नेपाली प्रहरीको टोली छ। सपना भागेको विषयमा कारागार प्रशासनले पनि आन्तरिक छानबिन गरिरहेको जनाएको छ। फरार सपनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij