२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । पूर्व-पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने कार्य सुरु भएको छ। शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ वटा घरधुरी र लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको संरचना भत्काउन थालिएको हो।
डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको यस कार्यका लागि सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएका छन्।
अतिक्रमण खाली गर्ने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडपको अवस्था सिर्जना भएको थियो। यद्यपि, अहिले अवस्था सामान्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिएका छन्।
डिभिजन सडक कार्यालयले सडक क्षेत्रको दायाँबायाँ २५\२५ मिटर खाली गराएपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वमा रहेको क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका हुन्। सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लो उपस्थितिमा सडक किनारका अवैध संरचनाहरू हटाउने काम जारी रहेको छ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij