२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । नेपाल देशभरका यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि पोखरामा मतदान प्रक्रिया सुरु भएको छ। महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो।
आगामी तीन वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागिता जनाउँदैछन्। मतदान प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन यसपटक विद्युतीय मतदान मेसिनको प्रयोग गरिएको छ।
महासंघको केन्द्रिय अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् भने उनी यसअघि वि।सं। २०७९ को गोदावरी महाधिवेशनबाट अत्यधिक मतका साथ निर्वाचित भएका थिए।
सिटौलाको उम्मेदवारीलाई महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँरले प्रस्ताव गरेका छन् भने निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समर्थन गरेका छन्।
गत आइतबारदेखि सुरु भएको यस महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij