२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । कक्षा १२ को प्रश्नपत्र र उत्तर परीक्षा हुनुभन्दा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले सुर्खेत घर भई काठमाडौं बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ घर भई काठमाडौं बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठलाई सोमबार चाबहिलबाट पक्राउ गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डको पत्रका आधारमा ब्युरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनीहरूको संलग्नता पुष्टि भएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
पक्राउ परेकाहरूले ‘Class 12 Management only’ नामक ह्वाट्सएप ग्रुप तथा फेसबुक मेसेन्जरमा विभिन्न ग्रुपहरू खोली प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई चार दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij