२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार चैत मसान्तमा यस अवधिमा कम्पनीको नाफा ९१.१५ प्रतिशत घटेको छ।
कम्पनीको कुल आम्दानी १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ रहेको छ । गत वर्षको २ अर्ब १५ करोड ७८ लाख रुपैयाँको तुलनामा १०.९१ प्रतिशतले न्यून हो। लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३१.९३ प्रतिशतले घटेर २४ करोड ८३ लाख रुपैयाँमा झरेको छ।
कम्पनीले ४ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सफल भएको छ। गत आवको यसै अवधिमा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी घटेर १ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। कम्पनीको कुल खर्च २२.१६ प्रतिशतले बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। विशेषगरी कमिसन खर्च ८६.५३ प्रतिशतले वृद्धि भई ३ करोड ६८ लाख रुपैयाँ पुग्दा मुनाफामा थप दबाब सिर्जना भएको छ ।
कम्पनीले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा ४.३७ प्रतिशतले बढी हो। कम्पनीको बीमा कोषमा भने उत्साहजनक सुधार भएको छ। गत वर्ष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस्तो कोष ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ यथावत रहेको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ ६ पैसा कायम भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij