२०८३ बैशाख २८ गते सोमवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न प्राविधिक परीक्षण थालेको छ । परीक्षण सफल भएमा आजै साँझ परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको बोर्डले जनाएको हो ।
‘प्राविधिक परीक्षण भइरहेको छ । कुनै समस्या नआए आजै साँझ नत्र भोलीसम्ममा नतिजा सार्वजनिक हुन्छ’, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले भने,‘ छलफल भइरहेको छ । डेमो हेर्ने भनेर सुरु भएको छ ।’
उनले ठ्याक्कै आजै नतिजा सार्वजनिक हुन्छ नै भनेर भन्न भने नसकिने बताए । ‘आजै हुनपनि सक्छ । नभए भोली हुनसक्छ । सानो प्राविधिक समस्या आयो भने रोकिनुपर्ने हुन्छ’, सदस्य सचिव अर्यालको भनाइ छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij