Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव हुने

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव हुने


  • 386
    Shares

    खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव हुने

    काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको हो ।

    नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताए ।

    “गाउँपालिकाका धेरै भीरमा मौरी पाइन्छन्, लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरिएको छ”, उनले भने, “महोत्सवमा स्थानीय समुदायले उपभोग गर्दै आएका रैथाने खाना प्रयोग गरिन्छ । फेदीको तेरावा क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जैविक विविधतासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आन्तरिक तथा पर्यटकको सहभागिता रहनेछ ।”

    जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केपिलासगढी गाउँपालिका–१ फेदीका सामुदायिक वन क्षेत्रमा रहेको एक दर्जनभन्दा बढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीय लक्ष्मण साम्पाङले बताए ।

    फेदीका स्थानीयले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिना गरी वर्षमा दुईपटक भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

    फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार गर्दै आइएको स्थानीय मह सिकारी हस्तराम राईले बताए । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्ता यसमा आकर्षित भएका छन्”, उनले भने, “उनीहरुलाई हामीले नै सिकायौँ । युवा पुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

    मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायतका सामग्रीको सहयोगमा परम्परागतरुपमा भीर मौरीको मह सिकार गरिन्छ । पर्याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

    स्थानीय भाषामा भीरमा गएर मह निकाल्नेलाई पर्याङ्गे भनिन्छ भने सुताको माध्यमबाट पर्याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्याङेसम्म पुर्याउनेलाई सुतारे भनिन्छ । पर्याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धूवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भनिन्छ ।

    भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायतका क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुरलगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

    फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्ने गरेका छन् ।

    भीर मौरीले जडीबुटीजन्य फूलहरूबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १६:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij