Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

यो वर्ष खडेरीको संकेत: देशभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान

यो वर्ष खडेरीको संकेत: देशभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान


  • 659
    Shares

    यो वर्ष खडेरीको संकेत: देशभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरेको छ।  

    विभागको जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुको जलवायु आँकलन सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने अर्थात् गर्मी बढ्ने पूर्वानुमान गरेको हो।

    वर्षाको आँकलनअनुसार कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। सुदूरपश्चिम प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा पनि ४५ देखि ५५ प्रतिशत सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। 

    कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने ३५ देखि ४५ प्रतिशत सरदर वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा कम वर्षा हुने विभागले जनाएको छ।

    अधिकतम तापक्रमको हकमा देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको भनाइ छ। सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भूभाग, कर्णालीको उत्तरी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर९पूर्वी तथा दक्षिणी भूभाग, बागमतीको पश्चिमी भूभाग, मधेसको पूर्वी तथा पश्चिमी भूभाग र कोशीको पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। 

    कोशीको मध्य र सुदूरपश्चिमको पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भूभागमा ४५ देखि ५५ प्रतिशत सरदरभन्दा बढी हुने सम्भावना छ।


    न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी नै हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उत्तरी भूभागहरू, मधेसको पूर्वी भूभाग र कोशीको दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। 

    कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभागहरू, मधेसको मध्य भूभाग र कोशीको मध्य तथा उत्तरी भूभागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा बढी न्यूनतम तापक्रम रहनेछ। देशका बाँकी भूभागमा भने यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

    विभागले यो आँकलन विश्व मौसम सङ्गठनका विश्वभर तथा क्षेत्रीय स्तरका जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम ९सास्कोफ० को आँकलनका आधारमा तयार पारेको हो। 

    गत वर्ष २०८२ को मनसुनको पूर्वानुमानको समीक्षा गर्दै विभागले वर्षाको आँकलन पूर्ण रूपमा नमिल्दा तापक्रमको आँकलन भने मिलेको जनाएको छ। गत वर्ष अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि धेरैजसो केन्द्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मात्र मापन भएको थियो। 

     

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १५:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij