२०८३ बैशाख २६ गते शनिवार
काठमाडौं । सप्तरीमा जग्गा खरिद गर्न आएका दुई जनालाई गोली प्रहार गरेर रकम लुट्ने समूहलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ ।
२०८२ माघ ४ मा सिरहाको लहान नगरपालिका वडा नम्बर-१० घर भएका ४७ वर्षीय मोहम्मद सदाम र ६० वर्षीय ताहिर मियाँलाई सप्तरीको खड्क गाउँपालिका-५ स्थित खरचुहियामा ५ जना मिलेर बन्धक बनाएर गोली प्रहार गरेर रकम लुटेका थिए ।
लुटपाटमा संलग्न ५ जनालाई वैशाख २३ र २४ गते पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले बताएका छन् । पक्राउ पर्नेमा ४२ वर्षीया मिना खातुन, ४३ वर्षीय हजरत मियाँ, ४५ वर्षीय मंजिद मियाँ, ४८ वर्षीय मुमताज मियाँ र ३५ वर्षीय उपेन्द्र मोची रहेका छन् । घटनापछि उनीहरू फरार थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
आरोपीहरूमाथि अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij