२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय दुई चर्चित कन्टेन्ट क्रिएटर सजन श्रेष्ठ र विश्वास तिमिल्सिना (बीटी कान्छा)बीच देखिएको सवाल-जवाफले व्यापक चर्चा पाउन थालेको छ ।
केही दिनअघि सजन श्रेष्ठले आफ्नो फेसबूकमार्फत् ‘निउ खोजेको’ संकेतात्मक स्टाटस सार्वजनिक गर्दै लेखेका थिए- ‘कोही कोही कमेडियन निउँ खोज्दै रहेछन् उसको भिडियो रियाक्ट गर्यो भनेर, पहिला पहिला नचल्दा मेल गरी गरी भिडियो रियाक्ट गर्देउ न भनेको बिर्स्यो कि क्या हो ?? झ्याम्म दिनुपर्ने !!!’
उनको उक्त स्टाटसपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू शुरू भएका थिए । धेरै प्रयोगकर्ताहरूले यसलाई कुनै अर्का क्रिएटरतर्फ लक्षित गरिएको हुनसक्ने अनुमान गरेका थिए ।
यहीबीच, उक्त स्टाटसको कमेन्टमा विश्वास तिमिल्सिना (बीटी कान्छा)ले प्रत्यक्ष प्रतिक्रिया दिँदै लेखेका छन्- ‘आफू हप्ता दिन मिहिनेत गरेर एउटा भिडियो बनायो, अनि हा हा गरेर त्यसबाट पैसा कमायो । भयो के, अब रियाक्ट नगर भन्दा निउँ खोज्दै स्टाटस हालेछ। राम्रो मुखले सम्झाएको बुझ्दैन कि क्या हो ?’
बीटी कान्छाको यस प्रतिक्रियापछि भने यो बहसले नयाँ मोड लिएको छ । कमेन्टमा ‘कमेडियनको नाम अनुमान गर्नुहोस्’ देखि ‘अर्को विवाद छिट्टै आउँदैछ’ जस्ता प्रतिक्रियाहरूले यो विषयलाई अझै चर्चामा ल्याएको छ ।
यसैबीच, पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा देखिएको ‘निउँ खोज्ने’ सम्बन्धी बहससँग पनि यो घटनालाई जोडेर हेरिएको छ।
हालसम्म दुवै क्रिएटरहरूले यस विषयमा औपचारिक रूपमा कुनै विस्तृत धारणा सार्वजनिक गरेका छैनन् । तर उनीहरूबीचको यो संवादले दर्शकहरूको चासो निकै बढाएको छ । अब प्रश्न उठ्न थालेको छ- के यो केवल सामाजिक सञ्जालको सामान्य बहस हो वा कुनै ठूलो योजनाको शुरूआत ?
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij