Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

इलेक्ट्रीक स्कुटीमा आगलागी, एकै परिवारका चारजना गम्भीर

इलेक्ट्रीक स्कुटीमा आगलागी, एकै परिवारका चारजना गम्भीर


  • 428
    Shares

    इलेक्ट्रीक स्कुटीमा आगलागी, एकै परिवारका चारजना गम्भीर

    वीरगन्ज । बढ्दो पेट्रोलको मूल्यबाट हैरान भई इलेक्ट्रीक मोटरसाइकल वा स्कुटी खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनु आवश्यक देखिएको छ । इलेक्ट्रीक स्कुटीकै कारण वीरगन्जमा एकै परिवारको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएको छ ।

    घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर अवस्थामा पुगेका हुन् । बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका विशालले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गएराति आगलागी हुँदा सर्राफसहित उनकी श्रीमती २६ वर्षीया अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर बिरामी भई आइसीयूमा भर्ना भएका छन् ।

    पेट्रोलको बढ्दो मूल्यका कारण खर्च घटाउने उद्देश्यले विशालले वीरगन्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको उक्त इलेक्ट्रीक स्कुटी खरिद गरेका थिए । सोही स्कुटीलाई शनिबार राति चार्जमा राखेर सुतेका बेला ब्याट्री पड्किँदा आगलागी भएको र उक्त घटनामा परिवारका सदस्यहरू घाइते भएको विशालका पिता विष्णु सर्राफले जानकारी दिए।

    आगलागीमा परी गम्भीर बिरामी भएका परिवारका सदस्यहरूलाई वीरगन्जस्थित गण्डकमा रहेको बयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको छ भने २ वर्षीया बालिकालाई सोही अस्पतालको एनआईसीयूमा राखिएको छ ।

    सर्राफका अनुसार पेट्रोलको मूल्यबाट राहत पाउन खरिद गरिएको स्कुटीले नै परिवारको ज्यान संकटमा पारेको छ । हाल घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा रहेको र त्यसपछि कम्पनीविरुद्ध कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए । यस घटनाले स्थानीय बासिन्दामा पनि त्रास फैलाएको छ । छिमेकी सुशीला देवीले यस्ता सवारीसाधन घरमा नकिन्न र प्रयोग नगर्न आफूले परिवारका सदस्यलाई सचेत गराएको बताइन् ।

    उक्त घटनाबारे बुझ्दा कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् फ्लक्चुएसनका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनका अनुसार यस प्रकारको घटना पहिलो पटक भएको हो र यसको कारणबारे कम्पनीले पनि अनुसन्धान गर्ने जनाएको छ । आगलागीमा पूर्ण रूपमा नष्ट भएको स्कुटीको क्षतिपूर्ति थर्ड पार्टी इन्स्योरेन्सबाट हुने र घरमा भएको क्षतिबारे सम्बन्धित पक्षसँग छलफल गरिने उनले बताए ।

    जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीले स्कुटीमा आगलागी हुँदा एकै परिवारका चारजना बिरामी भएको पुष्टि गरे । उनका अनुसार घरभित्र चार्जमा राखिएको स्कुटीमा आगलागी हुनुको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । यस घटनालाई लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ भने स्कुटीका आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई समेत सोधपुछका लागि बोलाइएको जनाएको छ ।

    नगवामा भएको यस घटनाले भविष्यको सवारीसाधनका रूपमा प्रचार भइरहेका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरहरूको सुरक्षामापदण्डबारे प्रश्न उठाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १६:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij