२०८३ बैशाख २१ गते सोमवार
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा रास्वपा सांसद केपी खनालको तीन तले घरलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । ‘बालेनको साथीको घर’ भन्दै उक्त तस्बिर भाइरल बनाइएपछि खनालले आफ्नो बचाउ गर्दै घर निर्माणको स्रोत र जग्गाको बारेमा स्पष्टीकरण दिएका छन् ।
खनालले उक्त घर आफ्नो व्यक्तिगत कमाइले नभई आमा–बुवाको दशकौँ लामो परिश्रमको फल भएको बताएका छन् । घर ऐलानी जग्गामा बनेको भन्ने प्रश्नमा खनालले सुदूरपश्चिमको तराई क्षेत्रमा धेरैजसो घरहरू ऐलानी जग्गामै रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, 'यो कुनै सार्वजनिक जग्गा वा सरकारी कार्यालयको जग्गामा बनेको होइन । दशकौँदेखि बसोबास गर्दै आएको तर लालपुर्जा नभएको जग्गामा यो घर छ । मेरो पहाडमा भने नम्बरी जग्गा छ ।' उनले चुनावका बेला पनि आफूले लालपुर्जा नहुनेमध्ये म पनि एक हुँ भनेर बोलेको स्मरण गराएका छन् ।
घर निर्माणको आर्थिक स्रोतबारे स्पष्ट पार्दै खनालले भने 'यसको सम्पूर्ण आयस्रोत १० वर्षदेखि भारतमा आमा र बुवा दुवैले दिन–रात काम गरेर मासिक भारु ५० हजार कमाइ हो, जुन अझै अपूर्ण नै छ ।'
आफू देशमै बसेर केही गरौँ भन्ने भावनाका साथ अघि बढिरहेका बेला परिवारको दुःखको कमाइमाथि प्रश्न उठाइएकोमा उनले दुःख व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij