२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको ७ तले भवनमा डोजर चलाइएको छ। संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आइतबार डोजर चलाएको हो ।
घरधनी इन्द्र चाम्लिङले घर करिब ५ वर्षअघि निर्माण सम्पन्न गरेको बताएका छन् । उनले भवनको नक्सा पास भएको र आफूले नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको समेत दाबी गरेका छन्।
चाम्लिङले प्रशासनको काम गर्ने तरिकाप्रति असन्तुष्टि जनाउँदै यसलाई "अन्यायपूर्ण" कदम भनेका छन्। सरकारी जग्गा मिचेको भन्दै महानगरले डोजर चलाए पनि उनले आफ्नो हातमा आधिकारिक लालपूर्जा र नक्सा रहेको दाबी गरिरहेका छन्।
भवन भत्काउने कार्य भइरहँदा चाम्लिङले प्रधानमन्त्री बालेन शाहलाई एक देशभक्त नेताको रूपमा स्वीकार गरेका छन् । उनको काम गर्ने जोशको प्रशंसा गरे पनि आफूसँग भेटघाट र छलफलको मौका नदिइएकोमा गुनासो गरेका छन्।
चाम्लिङले भने, म चाहन्छु कि नेपालका सबै सुकुम्वासीहरूको पनि यस्तै ७ तले घर होस् र उनीहरू पनि महलमा बस्न पाऊन् । आफूले दुःख गरेर बनाएको सम्पत्तिमा डोजर चल्दाको पीडालाई उनले सुकुमबासी व्यवस्थापनको प्रसङ्गसँग जोडेर सरकार र महानगरको नीतिको आलोचना गरेका छन्।
उक्त भवनमा यसअघि विभिन्न मिडिया कार्यालय, स्पा र रेस्टुरेन्टहरू सञ्चालनमा थिए। महानगरले खोला किनारको मापदण्ड मिचेको र स्वीकृत नक्सा भन्दा बढी संरचना बनाएको भन्दै माथिल्लो तलाहरू र नक्सा विपरीतका भागहरू भत्काएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij