Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

आज दिनभरको ३६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 365
    Shares

    आज दिनभरको ३६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास ग¥योः उपाध्यक्ष विष्णु पौडेल

    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरित रहेको बताउनुभएको छ । सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उहाँले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो । बुधवार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाउनु भयो । सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरवाही देखाएको उहाँको तर्क छ । सरकार सञ्चालनका क्रममा दुईवटा खम्बा—संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा जोड दिनुभयो । 

    २. रास्वपा संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा शुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक शुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा पार्टी सभापतिसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो । बैठकमा उपस्थित सांसदहरूबीच विभिन्न समसामयिक एजेण्डामा विचार विमर्श भइरहेको जनाइएको छ ।

    ३. रातो मत्स्येन्द्रनाथः आज साँझ नरिवल खसाल्ने जात्रा

    वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पु¥याइएको छ । रथ यात्राको तालिकाअनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पु¥याएका हुन् । रथ ठटीटोल पुगेसँगै आजै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग) बाट नरिवल खसाल्ने यस विशेष परम्परालाई हेर्न र नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गर्दछ । आज साँझ नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण विधिवत रूपमा अगाडि बढ्नेछ । 

    ४. ब्याटिङमा अपेक्षित प्रदर्शन हुन नसक्दा हार व्यहोर्नुप¥योः सोमपाल

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले ब्याटिङमा राम्रो शुरुवात गर्न नसक्दा टोलीले हार व्यहोर्नुपरेको स्वीकार गरेका छन् । खेलपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोमपालले विपक्षीले प्रश्तुत गरेको लक्ष्य पछ्याउन सकिने भएपनि ब्याटिङ युनिटको कमजोरीका कारण नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताए । सोमपालकाअनुसार टोलीले बलिङतर्फ विपक्षीलाई मध्यम योगफलमा रोक्न सफल भएपनि ब्याटिङमा अपेक्षित साझेदारी हुन सकेन । विकेट जोगाउने रणनीतिमा रनको गति सुस्त हुनु हारको अर्को कारण रहेको उनको विश्लेषण छ । उनले प्रतिकूल मौसमले पनि खेलमा केही प्रभाव पारेको उल्लेख गरे । उनले दीपेन्द्र सिंह ऐरीको पछिल्लो प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलहरूमा अन्य खेलाडीहरूले पनि आफ्नो जिम्मेवारी सम्हाल्ने र टोलीले पुनरागमन गर्ने विश्वास व्यक्त गरे । 

    ५. प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत छैनः विष्णु पौडेल

    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सत्ता कब्जा’ गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको दाबी गर्नुभएको छ । विगतको स्मरण गर्दै पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको बताउनु भयो । पौडेलकाअनुसार एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले हठ नत्यागेका कारण अन्ततः उहाँले सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो । माओवादीले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको पौडेलको तर्क थियो । उहाँले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गर्नुभयो । 

    ६. निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौंः उपाध्यक्ष पौडेल

    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने घोषणा गर्नुभएको छ । बुधवार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले फागुन २१ गतेको निर्वाचन नतिजालाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुने बताउनुभएको हो । उपाध्यक्ष पौडेलले विगत १० वर्षमा एमालेले दुई तिहाइ नजिकको सरकार बनाउने जस्ता ठूला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ को मार्गनिर्देशनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने उहाँले बताउनु भयो । निराशा र पलायन समस्याको समाधान नभएको भन्दै उहाँले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा जुट्न आह्वान गर्नुभयो ।

    ७. देशका विभिन्न जिल्लामा तिब्र हावाहुरी र चट्याङको जोखिम, उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह

    देशका विभिन्न भागमा तिब्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च शतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ जारी गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टकाअनुसार आज विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा वागमती प्रदेशका नवलपुर र चितवन; मधेस प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरूमा तिब्र गतिको हावाहुरी चल्ने सम्भावना छ । यो मौसमी प्रणाली पश्चिमबाट शुरु भई क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएको छ । उहाँले हावाहुरी, मेघगर्जन र चट्याङ शुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र जान र झ्यालढोका राम्ररी बन्द गर्न आग्रह गर्नुभयो । घरबाहिर वा खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउनुपर्ने, तिब्र गतिको हावाहुरीले आगो उडाएर बस्ती वा वनजंगलमा डढेलो लाग्नसक्ने जोखिम रहेको बताउनु भयो । कमजोर र लड्न सक्ने संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तारहरू नछुन सचेत गराइएको छ ।

    ८. जलवायु जोखिम विरुद्ध शहरी उत्थानशीलता सुदृढमा जापान सरकारको सहयोग

    नेपालको जलवायु जोखिम विरुद्ध शहरी उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी परियोजनामा जापान सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच साझेदारी भएको छ । विश्वव्यापी ‘क्लाइमेट प्रमिस’ पहल अन्तर्गत सञ्चालन गर्न लागिएको यो परियोजनाको नेपालका लागि जापानी राजदुत माएदा तोरु र नेपालका लागि युएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । धनगढी उप–महानगरपालिकामा जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि ‘मानवीय सुरक्षा र दिगो विकासका लागि स्मार्ट भवन तथा हरित पूर्वाधार’ परियोजना सञ्चालन गरिने भएको छ । परियोजनाको लागत १२ लाख ९६ हजार अमेरिकी डलर अर्थात करिव १९ करोड ५७ लाख नेपाली रुपैयाँ रहेको छ । 

    ९.जनसरोकारका कामलाई ‘फास्ट ट्रयाक’ बाट अगाडि बढाउन रास्वपाको जोड, झन्झटिला कानून सुधार्न अध्यादेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनसरोकारका मुद्दा र प्रशासनिक ढिलासुस्तीलाई सम्बोधन गर्न ‘फास्ट ट्रयाक’ को पद्धति अपनाउनुपर्नेमा जोड दिएको छ । पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको संसदीय दलको अनौपचारिक छलफलमा सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन र झन्झटिला कानूनी प्रक्रियालाई अध्यादेशमार्फत भएपनि सुधार्नुपर्ने विषयमा विमर्श भएको हो । बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले समसामयिक राजनीति, सांसदहरूले भोगिरहेका व्यावहारिक समस्या र सरकारले ल्याउन लागेको आगामी बजेटमा पार्टीको तर्फबाट गरिने सुधारका प्रश्तावहरूमाथि छलफल भएको बताउनु भयो । प्रमुख सचेतक बुर्लाकोटीले विद्यमान कानूनी प्रक्रिया निकै झन्झटिलो र समयसापेक्ष नभएको उल्लेख गर्दै त्यसलाई ‘इमर्जेन्सी’ उपचारको शैलीमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । छलफलमा प्रश्तावित अध्यादेश कुनै व्यक्ति वा दल विशेषको लाभका लागि नभई सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिइएको उहाँले बताउनु भयो ।

    १०. खराब ब्याटिङ र बलिङसँगै नेपालको हार

    खराब बलिङ र ब्याटिङ सामना गरेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा ओमानसँग हार बेहोरेको छ ।
    कीर्तिपुरमा बुधवार भएको वर्षाले प्रभावित शृंखलाको दोस्रो खेलमा खराब बलिङ र ब्याटिङसँगै नेपाली टोलीले ओमानसँग डिएल मेथडमा १०२ रनको फराकिलो हार सामाना गरेको हो । यो हारसँगै लिग–२ को शीर्ष चारभित्र रहेर लगातार दोस्रोपल्ट एकदिवीय विश्वकप छनोट खेल्ने नेपालको लक्ष्य कमजोर भएको छ । कुल ३६ खेलमध्ये नेपालले २२ खेल खेलिसकेको छ । आठ राष्ट्र सहभागी लिग–२ मा अब नेपालले १४ खेलमध्ये १२ खेल जित्न सके मात्र शीर्ष चारभित्र पर्न सक्ने सम्भावना हुनेछ । लिग–२ मा नेपालको यो सातौं हार हो । यो श्रृंखलाअघि नेपाल ‘ए’ ले भने ओमानलाई कडा चुनौती दिएको थियो । जुन प्रदर्शन सिनियर टोलीबाट आउन सकेन ।

    ११. रातो मत्स्येन्द्रनाथको रथबाट खसालियो नरिवल

    रातो मत्स्येन्द्रनाथ रथजात्राअन्तर्गत बुधवार लगनखेलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलनअनुसार जात्रा सम्पन्न भएको हो । नरिवल खसालेको भोलिपल्ट महिलाले मात्रै रथ तान्ने गर्छन् । रथलाई तान्दै लगनखेल पु¥याएपछि खुशीयालीमा रथको माथिबाट नरिवल खसाल्ने मान्यता रहिआएको छ । किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । ललितपुरको सबै भन्दा लामो र महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् ।

    १२. कोही पनि नागरिक घरबारविहीन हुँदैनन्, जोखिमपूर्ण बस्तीको व्यवस्थापन गरिन्छः सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका क्रममा कुनैपनि वास्तविक नागरिकलाई घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । खोला किनारका जोखिमपूर्ण र गैरकानूनी रूपमा हडपिएका क्षेत्रहरू खाली गराउने कदम चालिएको स्पष्ट पार्दै उहाँले राज्यको यो कदम नागरिकको सुरक्षा र कानूनी प्रणाली स्थापित गर्नका लागि भएको बताउनुभएको हो । बस्ती व्यवस्थापनका क्रममा केही नागरिकलाई केही दिन असहजता भएको स्वीकार गर्नुभयो । उहाँले वास्तविक सुकुम्बासी र घरबारविहीनहरूको पहिचानका लागि लगत सङ्कलन कार्य भइरहेको र उनीहरूको गाँस, बास र कपासको ग्यारेन्टी राज्यले गर्ने बताउनु भयो । पछिल्लो समय भइरहेका कदमहरूको राजनीतिक अपव्याख्या भइरहेको प्रति सङ्केत गर्दै लामिछानेले प्रतिपक्षी र अन्य दलहरूले नागरिकमा डर पैदा गराउन खोजेको आरोप लगाउनु भयो । स्थानीय सरकारको क्षेत्राधिकारको सम्मान गर्दै उहाँले स्थानीय तहले पनि नागरिकलाई घरबारविहीन नबनाई प्रणालीभित्र ल्याउने विश्वास व्यक्त गर्नुभयो । खोला किनारमा वर्षौँदेखि बाढीको त्रास र असुरक्षित अवस्थामा बसिरहेका नागरिकका लागि यो कदम दीर्घकालीन समाधान भएको उहाँको तर्क छ ।

    १३. एनभिए लिगको महिलातर्पm फाइनलमा न्यु डायमण्ड र पुलिस भिड्ने 

    एक खेलअगावै नेपाल पुलिस क्लव जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा महिलातर्पm शिर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगेको छ ।
    त्रिपुरेश्वरमा बुधबारको खेलमा नेपाल पुलिस क्लव विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै चौथो खेलसम्म अपराजित रह्यो । शिर्ष दुई स्थानमा रहेर फाइनलमा पुग्न पुलिसलाई एक अंक र एपिएफसँग जितको विकल्प थिएन । पहिलो सेट आफ्नो बनाउँदै एपिएफले चुनौती दिए पनि जित निकाल्न असफल भयो । यससँगै चौथो खेलसम्म अपराजित पुलिस एक खेलअगावै फाइनलमा पुग्यो । अब पुलिसले उपाधिका लागि आगामी वैशाख १९ गते न्यु डायमण्ड स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

    १४. अध्यादेश प्रकरणले तातियो राजनीतिः विपक्षी दलद्वारा सामुहिक विरोध, सरकारद्वारा बचाउ

    सङ्घीय संसदको अधिवेशन हठात अन्त्य गरी सरकारले विभिन्न अध्यादेश जारी गर्न सिफारिस गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले गम्भीर आपत्ति जनाएका छन् । बुधवार सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारको यस कदमलाई ‘अलोकतान्त्रिक, असंवैधानिक र असंसदीय’ ठहर गर्दै उक्त प्रक्रिया तत्काल रोक्न माग गरेको हो । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको सो बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधि सरस्वती लामाको सहभागिता रहेको थियो । बैठकले सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन र संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

    १५. इण्डोनेसियामा रेल दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, राष्ट्रपतिद्वारा अस्पताल भ्रमण

    इण्डोनेसियाको पश्चिम जाभास्थित बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार सो दुर्घटनामा परी अन्य ८४ जना घाइते भएका छन् । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले मङ्गलवार बिहान बेकासीस्थित एक अस्पतालमा पुगेर पीडित र घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । सो क्रममा उहाँले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै यस दुःखद घटनाको तत्काल निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भयो । सोमवार राति स्थानीय समय अनुसार करिव ८ः५० बजे जकार्ता–बेकासी मार्गमा गुडिरहेको ‘कम्युटर रेल’ र जकार्ता–सुरबाया मार्गमा गुडिरहेको लामो दूरीको रेल एकापसमा ठोक्किएका थिए । दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन रेल सञ्चालक निकाय र राष्ट्रिय यातायात सुरक्षा समितिले संयुक्त रूपमा अनुसन्धान शुरु गरिसकेका छन् ।

    १६. क्षेत्रीय स्थिरताका लागि स्वतन्त्र प्यालेस्टिनी राज्य अपरिहार्यः जोर्डनी राजा अब्दुल्लाह

    जोर्डनका राजा अब्दुल्लाह द्वितीयले क्षेत्रीय स्थिरताका लागि प्यालेस्टिनी अधिकारको सुनिश्चितता र दुई–राज्य समाधानमार्फत स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना अनिवार्य शर्त रहेको बताउनुभएको छ । मंगलवार अम्मानमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँगको भेटघाटका क्रममा राजा अब्दुल्लाहले उक्त कुरा बताएको जोर्डनी राजदरबार (रोयल कोर्ट) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटका क्रममा राजा अब्दुल्लाहले जेरुसेलम, पश्चिम बैंक र गाजा क्षेत्रमा ‘नयाँ तथ्यहरू स्थापित गर्ने’ उद्देश्यका साथ चालिएका इजरायली कदमहरूप्रति जोर्डनको असहमति पुनः दोहो¥याउनु भयो । उहाँले इजरायलका यस्ता गतिविधि रोक्न र त्यसका विरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउन जोर्डनले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । दुई नेताहरूबीच पश्चिम बैंकमा बढ्दो ‘एकपक्षीय कारबाही’ का विषयमा केन्द्रित रहेर छलफल भएको थियो । 

    १७. बुरुन्डीबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गोका शरणार्थीहरूको पहिलो समूह स्वदेश फिर्ता

    संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको सक्रियतामा सञ्चालित स्वैच्छिक प्रत्यावर्तन कार्यक्रम अन्तर्गत बुरुन्डीमा शरण लिइरहेका करिव ४७० कङ्गोली शरणार्थीहरू आफ्नो मुलुक फर्किएका छन् । द्वन्द्वका कारण महिनौँदेखि निर्वासनमा रहेका यी शरणार्थीहरूको यो पहिलो संगठित फिर्ती हो । बुरुन्डीको रुयिगी प्रान्तस्थित बुसुमा शरणार्थी शिविरबाट प्रस्थान गरेको यो टोली कविमविरा सीमा नाका हुँदै प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दक्षिण किवु प्रान्तमा अवस्थित उविरा शहर प्रवेश गरेको छ । दुई देशका सरकारबीचको आपसी सहमति र मानवीय सहायता निकायहरूको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो । स्वदेश फर्किने क्रममा शरणार्थीहरूमा उत्साह र भविष्यप्रति अन्योल दुवै देखिएको छ । 
    कङ्गोको पूर्वी क्षेत्रमा सरकारी सेना र ‘मार्च २३ मुभमेन्ट’ लगायतका विद्रोही समूहहरूबीच सन् २०२५ मा चर्किएको हिंसाका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित भएका थिए । हालसम्म बुरुन्डीले २ लाख ५० हजारभन्दा बढी कङ्गोली शरणार्थीहरूलाई आश्रय दिइसकेको छ । 

    १८. भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई चार वर्षको जेल सजाय

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचारको अभियोगमा पुनरावेदन अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । मंगलवार सार्वजनिक गरिएको अदालती फैसलाको प्रत्यक्ष प्रशारण (लाइभ फुटेज) अनुसार, भ्रष्टाचार सम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकिएको हो । यसअघिको फैसलामाथि गरिएको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले कारावासको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

    १९. मलेसियाको उत्पादक मूल्य सूचकांकमा १.७ प्रतिशतको गिरावट

    कृषि र उत्पादन क्षेत्रमा आएको मन्दीका कारण सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको उत्पादक मूल्य सूचकांक (पिपिआई) मा १.७ प्रतिशतको गिरावट आएको छ । सोमवार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार अघिल्लो त्रैमासिकमा १.५ प्रतिशतले घटेको यो सूचकांकमा गिरावटको क्रम थप विस्तार भएको हो । मलेसियाको तथ्याङ्क विभागद्वारा जारी विज्ञप्तिअनुसार कृषि, वन र मत्स्यपालन क्षेत्रमा ७.५ प्रतिशत तथा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा १.७ प्रतिशतको संकुचन आएका कारण समग्र पिपिआईमा दबाब परेको हो । यसको विपरित खानेपानी आपूर्ति क्षेत्रमा सबैभन्दा बढी ११.१ प्रतिशतको वृद्धि देखिएको छ । त्यसैगरी विद्युत तथा ग्यास क्षेत्रमा ६.५ प्रतिशत र खानी क्षेत्रमा १.६ प्रतिशतको बढोत्तरी भएको तथ्याङ्कले देखाएको छ । त्रैमासिक आधारमा (अघिल्लो त्रैमासिकको तुलनामा) भने पिपिआई ०.९ प्रतिशतले बढेको छ, जुन यसअघिको ०.१ प्रतिशतको वृद्धिको तुलनामा तिब्र हो । 

    २०. मस्कोको एक निर्माण स्थलमा भीषण आगलागी, सात जनाको मृत्यु

    रुसको राजधानी मस्कोको उत्तरी क्षेत्रमा अवस्थित एक निजी निर्माण स्थलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । मस्कोका मेयर सेर्गेई सोब्यानिनले मंगलवार सामाजिक सञ्जाल टेलिग्राममार्फत यस दुःखद घटनाको पुष्टि गरेका हुन् । मेयर सोब्यानिनकाअनुसार मस्कोको ‘एरोपोर्ट’ जिल्लामा रहेको उक्त निर्माण स्थलमा आगलागी भएको हो । घटनाको जानकारी पाउनासाथ आपतकालीन सेवाका सदस्यहरू र चिकित्सा टोलीहरू घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन् । रुसी समाचार एजेन्सी ‘तास’ ले आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । करिब १ हजार ४ सय वर्ग मिटर क्षेत्रमा फैलिएको उक्त आगोलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको थियो । सुरक्षा नियमहरूको सम्भावित उल्लंघनका कारण आगलागी भएको आशंका गर्दै अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा आपराधिक मुद्दा दर्ता गरेका छन् । 

    २१. ह्वाइट हाउसको रात्रिभोजमा गोली प्रहार गर्ने व्यक्तिमाथि अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयासको अभियोग

    ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको रात्रिभोजका क्रममा शनिवार राति गोली प्रहार गर्ने संदिग्ध व्यक्तिमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको औपचारिक अभियोग लगाइएको छ । अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले ३१ वर्षीय कोल थोमस एलेनविरुद्ध तीनवटा गम्भीर संघीय अभियोग दर्ता गरिएको जानकारी दिनुभयो । एलेनमाथि राष्ट्रपतिको हत्या प्रयास, अपराध गर्ने उद्देश्यले अन्तरराज्यीय हतियार ढुवानी र हिंसात्मक कार्यका क्रममा बन्दुक प्रहार गरेको आरोप लगाइएको छ । अनुसन्धानकाअनुसार क्यालिफोर्निया निवासी एलेन रेलमार्फत लस एन्जलसबाट सिकागो हुँदै अप्रिल २४ मा वासिङ्टन डिसी पुगेका थिए । उनी हतियारसहित वासिङ्टन हिल्टन होटलमा बसेका थिए, जहाँ शनिवार राति विशेष रात्रिभोजको आयोजना गरिएको थियो । घटनाको विवरण दिँदै ब्लान्चले बताएअनुसार राति करिव ८ः४० बजे एलेन होटलको टेरेस लेभलमा रहेको सुरक्षा जाँच केन्द्रमा हतियारसहित प्रवेश गर्ने प्रयास गरेका थिए । 

    २२. काठमाडौं महानगरका विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु

    काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीको बुधवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । शुक्रवारसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडांै महानगरले सञ्चालन गरेको १५ हप्ते स्केच तथा मूर्तिकला तालिम पूरा गरेका विद्यार्थीद्वारा सिर्जित कलाकृति राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला क्षेत्रमा पुस्तान्तरणको आवश्यक रहेको बताउनु भयो । उहाँले कला क्षेत्रमा ‘अघिको, अहिलेको र अबको’ पुस्ताबीच सीप हस्तान्तरणको अवधारणामा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । अघिल्लो पुस्ताले सिकाएको सीप अहिलेको पुस्ताले ग्रहण गरेको र अहिलेको पुस्ताले अबको पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उहाँको भनाई छ । यसको लागी प्रतिष्ठान र काठमाडौं महानगरपालिकाबीच सहकार्य भएको उहाँले जानकारी दिनुभयो । 

    २३. छिटो काम गर्न अध्यादेश ल्याइयो, सरकारको खराब नियत छैनः प्रमुख सचेतक बुर्लाकोटी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले दु्रत गतिमा काम गर्नको लागि अध्यादेश ल्याएको दाबी गर्नुभएको छ । बुधवार रास्वपाको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले नागरिकले दिएको म्याण्डेटअनुसार छिटो छरितो रुपमा काम गर्नको लागि अध्यादेश ल्याइएको दाबी गर्नुभएको हो । हाल कानूनी प्रक्रियाका झन्झटले सामान्य काम गर्न पनि ३–४ महिना लाग्ने अवस्था रहेको उहाँको भनाई छ । अध्यादेश कुनै व्यक्ति, संस्था वा दल विशेषलाई लाभ पु¥याउने उद्देश्यले नभई जटिल प्रक्रियाबाट रोकिएका कामहरूलाई गति दिन ल्याइएको उहाँले दाबी गर्नुभयो । उहाँले विशेष गरी सहकारी पीडितहरूको रकम फिर्ता गर्ने प्रक्रिया र संवैधानिक नियुक्तिहरूलाई छिटो टुंग्याउन अध्यादेश आवश्यक रहेको बताउनु भयो । लामो विधायकी प्रक्रियाले राज्य सञ्चालनमा ढिलाइ हुने भएकाले ‘फास्ट ट्रयाक’ आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले असल नियत राखेर नै अध्यादेश ल्याइएको उल्लेख गर्नुभयो ।

    २४. देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन, कुपोषण न्युनिकरण गर्ने लक्ष्य

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरेको छ । मन्त्रालयकाअनुसार वैशाख १५ गतेदेखि देशभरमा ७ सय ५३ वटै स्थानिय तहमा ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो । वैशाख ३० गतेसम्म दुई साता सञ्चालन हुने अभियानमा बालबालिकाको पोषण अवस्था पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँकाअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गरी कुपोषण भएका बालबालिकाको उपचार गरिनेछ । स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्र, सामुदायिक भवन तथा वडा कार्यालयमार्फत बालबालिकाको पोषण अवस्था सम्बन्धी तथ्यांक संकलन गरिने उहाँले बताउनु भयो । लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाई मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ ।

    २५. पूर्वगृहमन्त्री गुरुङमाथी छानविन चाँडै हुन्छः सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन गर्ने बताउनुभएको छ । बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिनुभएको हो । गुरुङले नै आफूमाथी छानविनको माग गरेको उहाँले बताउनु भयो । उहाँकाअनुसार कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन । 
    उहाँले भन्नुभयो, ‘छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ,त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाईहाल्नु हुन्छ, उहाँले अहिले नैतिकता देखाएर, म माथी प्रश्न उठेको हुनाले छानविन गरियोस् नै भन्नुभएको छ । उहाँमाथी छानविन हुन्छ, कुन प्रक्रिया बाट छानविन गर्ने भन्ने छ, चाँडै छानविन हुन्छ ।’ 

    २६. पूर्ववर्ती सरकारले गरेका विवादित नियुक्ति हटाउँदैछौँः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले संवैधानिक तथा कानूनी रित्तता हटाएर जनताको पक्षमा काम गर्न अध्यादेश ल्याएको बताउनुभएको छ । बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले कुनै राजनितिक दल फुटाउन, कसैलाई जोगाउन र कसैलाई फसाउन नभई जनताको काम गर्न ल्याएको जिकिर गर्नुभयो । सभापति लामिछानेले संवैधानिक निकायहरू रहेको रिक्तता परिपूर्ति गर्न संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आवश्यक रहेको बताउनु भयो । सरकारले अध्यादेशमार्फत छिटो पदपूर्ति गर्न खोजेको उहाँको भनाई छ । संवैधानिक निकायहरूमा नियुक्ति मेरिटोक्रेसीको आधारमा र खुला प्रतिस्पर्धाबाट हुनेपनि उहाँले जानकारी दिनुभयो । उहाँले रास्वपाले विगतको जस्तो आफन्तवादभन्दा बाहिर गएर योग्य नागरिकलाई अवसर दिन खोजेको दाबी गर्नुभयो । उहाँले सहकारी पीडितलाई तत्काल राहत दिनको लागि सहकारी सम्बन्धी अध्यादेश ल्याएको बताउनु भयो । नारा लगाएर मात्र पीडितले रकम फिर्ता नपाउने उहाँको भनाई छ । सम्पत्ति जफत गरेर भएपनि पैसा फिर्ता दिलाउनुपर्ने उहाँले बताउनु भयो । उहाँले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिमा प्रश्न उठेकोले त्यसलाई सच्याउन खोजिएको बताउनु भयो । 

    २७. च्लचित्र ‘लाली बजार’प्रदर्शन रोक्ने अदालतको आदेशविरुद्ध चलचित्रकर्मी आन्दोलित

    उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्रकर्मीहरू आन्दोलित भएका छन् । मंगलवार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित चलचित्र प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि निर्माण टिमसहित चलचित्रकर्मीहरूले प्रदर्शन गर्दै उच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । अदालतको आदेश सच्याउन माग गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । निर्माता तथा अभिनेता निश्चल बस्नेतले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई साहित्य र कलालाई दृश्यरूपमा प्रश्तुत गर्ने सशक्त माध्यम भएको भन्दै सरोकारवाला सबैले यो कुरा बुझ्न आवश्यक भएको बताउनु भयो । उहाँले चलचित्र निर्माण संविधान र सेन्सर बोर्डको नीतिअनुसार गरिएको दाबी गर्दै सम्बन्धित समुदायसँग पटक–पटक छलफल गरेर ‘सेल्फ सेन्सरसिप‘ अपनाइएको पनि स्पष्ट पार्नुभयो । 

    २८. बजेट अधिवेशन बोलाउनुपर्ने समयमा अध्यादेश सिफारिस गरेर सरकारले दुई तिहाई जनमतको अपमान ग¥योः नेकपा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले बजेट अधिवेशन बोलाउनुपर्ने समयमा पाँचवटा अध्यादेश सिफारिस गरेर झन्डै दुई तिहाई जनमतको अपमान गरेको आरोप लगाउनुभएको छ । बुधवार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संसदमार्फत एक हप्तादेखि १० दिनभित्रै विधेयक पारित गर्नसक्ने बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्न खोज्नु असंवैधानिक भएको बताउनु भयो । उहाँले सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र मिच्दै अध्यादेशमार्फत ऐन बनाउन खोजेको भन्दै यसलाई संसदीय प्रणालीमाथिको हस्तक्षेपको रूपमा टिप्पणी पनि गर्नुभयो । 

    २९. बेलाइएको संसद अधिवेशन स्थगन गरेर अध्यादेश जारी गर्ने सरकारको निर्णय असंसदीय र अलोकतान्त्रिक कदमः विपक्षी दलहरू

    विपक्षी दलहरूले सरकारले संसद छल्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाउँदै अध्यादेशहरु तत्काल फिर्ता लिन माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग गरेको विपक्षी दलका नेता एवं नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले बताउनुभएको हो । उहाँले संसदको अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरेर अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको भन्दै भत्र्सना र निन्दा गर्नुभयो । सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्न दुई अध्यादेश तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानून संशोधन र विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । ती सबै अध्यादेश संसद छल्ने उद्देश्यले सिफारिस गरिएको भन्दै विपक्षी दलहरुले अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह समेत गरेको नेता आङ्दाम्बेको भनाइ छ । 

    ३०. सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीयः एमाले

    नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने चेतावनी पनि दिनुभयो । दंगालले यदि सरकारले नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । त्यसपछि सदनको मुद्दा समाप्त हुने र संघर्षको केन्द्र सडक बन्ने उहाँको भनाइ छ । 

    ३१. सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

    नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले अध्यादेशमार्फत ऐन बनाउन खोज्ने सरकारको कदम संसदीय प्रणालीमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । बुधवार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानले संसद नबसेको अवस्थामा अध्यादेश सिफारिस गर्नसक्ने व्यवस्था भएपनि अहिलेको परिस्थिति त्यसभन्दा भिन्न रहेको स्पष्ट पार्नुभयो । आह्वान गरिसकेको संसद स्थगित गरेर अध्यादेश जारी गर्नु अलोकतान्त्रिक, असंवैधानिक र असंसदीय कदम उहाँको भनाइ छ । उहाँले विगतका सरकारहरूले संसद अधिवेशन नरहेको अवस्थामा मात्रै अध्यादेश ल्याएको उल्लेख गर्दै अहिले भने सदनलाई स्थगित गरेर अध्यादेश जारी गर्न खोजिएको उहाँको आरोप छ । 
    उहाँले भन्नुभयो, ‘अध्यादेश ल्याउन पाइन्छ । विगतका सरकारहरुले पनि संसद नबसेको अवस्थामा अध्यादेशको लागि सिफारिस गर्न पाउँथ्यो । किनभने हाम्रो संविधान र ऐनमा त्यो व्यवस्था गरिएको छ ।

    ३२. आम नागरिकको पीडालाई सम्बोधन गर्नका लागि सरकारले अध्यादेश ल्याउनुपरेको होः रास्वपा

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकको पीडालाई तत्काल सम्बोधन गर्नका लागि सरकारले विभिन्न अध्यादेशहरु ल्याउनुपरेको बताएको छ । संसदलाई छलेर सरकारले संवैधानिक परिषद्, सहकारी सम्बन्धि अध्यादेश ल्याएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला सत्तारुढ रास्वपाले भने त्यसको बचाउँदै गर्दै आम नागरिकको हितमा केन्द्रित भएर सो अध्यादेश ल्याउनु परेको जिकिर गरेको हो । बुधवार सिंहदरवारमा पार्टी संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आम नागरिकलाई पीडामा मलमपट्टी तत्काल लगाउनका लागि सरकारले सो अध्यादेश ल्याउनुपरेको बताउनु भयो । उहाँले सो अध्यादेश जनादेशअनुसार आएकाले पनि त्यसको विरोध गर्नुको कुनै तुक नरहेको दाबी गर्नुभयो । 

    ३३. नेपाली काँग्रेससहितका विपक्षी दलहरूको बैठक शुरु, सरकारको कदमविरुद्ध साझा रणनीति बनाइँदै

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बुधवार सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा जारी सो बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल भइरहेको हो । सरकारले संसदलाई छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयक ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन् । बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गतिविधि बढाएको विषयमा गम्भीर समीक्षा भइरहेको बताइएको छ । बैठकमा सहभागी नेताहरूका अनुसार सुकुम्बासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकतावद्ध भएर अघि बढ्ने योजना तय गरिनेछ । सरकारका ‘गलत’ कामहरूको भण्डाफोर गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो ।

    ३४. मनास्लु हिमालको हीरक महोत्सव हुने

    मनास्लु हिमालको हीरक महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । संघका अध्यक्ष फुल गेल्जे शेर्पाले यही वैशाख २६ र २७ गते सो हिमालको हीरक महोत्सव आयोजना गर्न लागिएको बताउनु भयो । सो हिमाल आरोहण गरेको ७० वर्ष पुगेर अवसर पारेर सो कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालको विकास पर्वतीय पर्यटनबाट मात्रै सम्भव भएकाले त्यसका लागि आवश्यक प्रचार गर्न सो कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ । संघका अध्यक्ष शेर्पाले नेपालको विकासका लागि पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारलाई दबाब पुगोस् भनेर सो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

    ३५. ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज बुधवार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ असार ३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    ३६. चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने

    चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधवार औपचारिक रूपमा सम्पन्न भएसँगै चक्रपथ विस्तारको काम अघि बढ्न बाटो खुलेको हो । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदुत झांग माओमिंगबीच बुधबार यससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिव ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । यसअघि सन् २०१९ देखि शुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।–न्युज एजेन्सी नेपाल

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - २०:५६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij