२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । महिनामा कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा खुद नाफा ५७.१९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ करोड ६८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको सञ्चालन मुनाफामा भने सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ३४.२६ प्रतिशतले बढेर २ अर्ब १२ करोड ९ लाख २ हजार रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ रहेको छ, जुन गत वर्ष १ अर्ब ९१ करोड १० लाख ३१ हजार रुपैयाँ रहेको थियो।
बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा भने केही चुनौतीको सामना गरिरहेको देखिन्छ। गत वर्षको चैत मसान्तसम्म ४.९८ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा सामान्य वृद्धिसँगै ५.०६ प्रतिशत कायम भएको छ।
बैंकको नाफामा सुधार देखिए पनि मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। बैंकको खुद ब्याज आम्दानी ११.३४ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ३९ लाख ९३ हजार रुपैयाँ कायम भएको छ।
हाल १८ अर्ब ८८ करोड ४३ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख ३५ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ १९ पैसा कायम भएको छ।
व्यवसाय विस्तारका हिसाबले कृषि विकास बैंकले चैत मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ८ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ करोड १२ लाख ५७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९६ करोड ५४ लाख ४१ हजार रुपैयाँ कायम भएको छ। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ २५ पैसा पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij