२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले नाफा, आम्दानी र कर्जाको गुणस्तर जस्ता मुख्य सूचकहरूमा उत्साहजनक प्रगति गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्ममा बैंकले १ अर्ब ४६ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतको वृद्धि भएको छ। गत आर्थिक वर्ष मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब २० करोड ३२ लाख ६१ हजार रुपैयाँ रहेको थियो।
बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि ठूलो सुधार ल्याएको छ। बैंकको निष्क्रिय कर्जा १५३ आधार बिन्दुले घटेर २.५३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको चैतमा ४.०६ प्रतिशत रहेको थियो।
पूँजीगत आधारतर्फ पनि बैंक थप मजबुत देखिएको छ। बैंकको पूँजी पर्याप्तता अनुपात १३२ आधार बिन्दुले वृद्धि भई १३.७६ प्रतिशत पुगेको छ। बैंकको खुद ब्याज आम्दानी ९.४६ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड ९४ लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५३ करोड ५० लाख ३९ हजार रुपैयाँ थियो।
ब्याज आम्दानी ९खुद फि तथा कमिसन आम्दानी० २७.४२ प्रतिशतले उल्लेख्य वृद्धि हुँदै १ अर्ब ५३ करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ५२ लाख ९१ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर लाभांश क्षमता १० रुपैयाँ ७५ पैसा कायम भएको छ।
हाल ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब २६ करोड ९२ लाख ३७ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब २० अर्ब २ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १४ रुपैयाँ १५ पैसा रहेको ईपीएस यस वर्ष १७ रुपैयाँ १९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात २३.५५ गुणा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij