२०८३ बैशाख १४ गते सोमवार
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१\८२ को सोही अवधिसम्म बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३.८२ प्रतिशतले घटेको छ।
चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३.५३ प्रतिशतले घटेको छ।
बैंकले ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरयायोग्य मुनाफा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ थियो।
चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङमा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ र रिजर्भमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात घटेर ०.६१ प्रतिशतमा झरेको छ।
बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ३२.३५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २१.५८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४४.२७ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij