२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्।
धर्नमा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत बुद्धिजीवि तथा सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका केही स्थानीयहरू बसेका थिए।
१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं, खगेन्द्र सुनारले आफ्नो फेसबुकमा लेखेका छन्। उनका स्वकीय अर्जुन सुनारले रातभरि धर्नामा बसेको बताएका छन्।
हिरासतमै मृत्यु भएका २२ वर्षीय श्रीकृष्णलाई प्रहरीले यातना दिएर मारेको आफन्तहरूको आरोप छ। श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए।
ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए। ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए।
त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो।
ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij