२०८३ बैशाख ८ गते मंगलवार
१. श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझावः देशलाई विदेशी सैन्य रणनीति र हस्तक्षेपबाट मुक्त राख्नुपर्ने
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिनुभएको छ । मंगलवार उहाँले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा, कृषि, सुशासन र नागरिक अधिकारका विषयमा पार्टीको स्पष्ट धारणा राख्नुभएको हो । अध्यक्ष राईले नेपालको असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसीसी, एसपीपी र हाल चर्चामा रहेको ‘बफर स्टेट’ जस्ता सैन्य रणनीतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने सन्धि सम्झौता नगर्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो, हामी असल छिमेकी भएर प्रश्तुत हुनुपर्छ तर हाम्रो देशलाई युद्धको ब्याटल ग्राउन्ड बन्न दिने गरी बफर स्टेटको व्याख्या गरिरहनु पर्दैन ।’
२. रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
रातो मत्स्येन्द्रनाथको रथ मंगलवार (आज) बाट तान्न शुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो । वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ ।
३. प्रतिनिधि सभा नियमावली मस्यौदा समितिद्वारा सभामुसमक्ष प्रतिवेदन पेश
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्य सम्पादन सम्पन्न गरी प्रतिवेदन बुझाएको छ । मंगलवार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले समयमा नै कार्य सम्पादन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनका लागि यसले सकारात्मक नजिर बसालेको बताउनु भयो । उहाँले कुनैपनि काम समय सीमाभित्र सम्पन्न गर्दा मात्र व्यक्तिगत र संस्थागत रूपमा गर्व महशुस हुने र जनताले पनि आफूले चुनेका प्रतिनिधिहरूले काम गरिरहेको महशुस गर्ने धारणा राख्नुभयो ।
४. प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनः कानून निर्माणमा ‘क्यालेण्डर’ लागू गर्ने प्रश्ताव
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यभार पूरा गरी तयार पारेको अन्तिम प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई हस्तान्तरण गरेको छ । १५ सदस्यीय मस्यौदा समितिका संयोजक गणेश पराजुलीले १४ दिनको समयावधिमा तयार पारिएको सो मस्यौदा प्रतिवेदन सभामुखलाई बुझाउनुभएको हो । प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक पराजुलीले नयाँ नियमावलीले प्रतिनिधि सभालाई अझ बढी प्रभावकारी, जनमुखी र जवाफदेही बनाउने विश्वास व्यक्त गर्नुभयो । नयाँ मस्यौदामा कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्धलाई अझ बढी ‘चेक एन्ड ब्यालेन्स’ गर्ने व्यवस्था गरिएको छ । सदन वा संसदीय समितिले दिएका निर्देशनहरूको कार्यान्वयन भए÷नभएको बारे ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने अनिवार्य समयसीमा प्रश्ताव गरिएको छ । साथै कुनै निर्देशन कार्यान्वयन गर्न प्राविधिक वा कानुनी कठिनाइ भएमा कार्यपालिकाले सोही अवधिभित्र सदनलाई स्पष्ट जानकारी दिनुपर्नेछ ।
५. नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण
नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पुनः निर्माण गर्न लागिएको छ । सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पु¥याएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न लाग्नुभएको हो । शाक्यकाअनुसार यहाँको चौतारा र मूर्ति मर्मतका लागि ३५ लाख रुपैयाँ लगानी लाग्नेछ । यहाँ जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति छ । २०७० सालमा निर्माण गरिएको मूर्ति नारायाणीमा पटक पटक आउने बढीले क्षती पु¥याउँदै आएको थियो । भत्किएको ठाउँमा प्लाष्टर र रंग रोगन गरिएको उहाँले बताउनुभयो । नारायणी नदी घुम्न आउने मानिसहरुले यहाँ फोटो, भिडियो खिच्ने र चौतारामा शितलता प्राप्त गर्ने गर्दछन् ।
६. केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ । भक्तपुर नगरपालिका इनाचोका स्थानीय ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको सफल उपचार सेवा लिने पहिलो बिरामी बनेका हुन् । पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजुलाई उनका छोरा अजयले उपचारका लागि यहाँ ल्याएका थिए । त्यसपछि अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो । मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक डाइग्नोस्टिक एन्जियोग्राम सम्पन्न ग¥यो । करिव ३० मिनेटको उक्त परीक्षणका क्रममा उनको मुटुका दुईवटा नसाहरू अवरुद्ध भएको तथ्य फेला प¥यो ।
७. ‘सत्ताको चक्रव्युह र न्यायको मरण’
‘राजीनामा केवल एउटा पर्दा मात्र हो, वास्तविक नाटक त पर्दा पछाडि कानूनी उन्मुक्तिमा खेलिन्छ । जब नयाँ अनुहारले पुरानै कुकर्म दोहो¥याउँछन्, तब एउटा युगको आशाको हत्या हुन्छ ।’ नेपाली राजनीतिको रङ्गमञ्चमा पात्रहरू बदलिन्छन्, तर प्रवृत्ति उस्तै रहन्छ । पछिल्लो समय बालेन्द्र साहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेको छ । झन्डै दुई तिहाईको यो सरकारलाई नागरिकका समस्या समाधान गरेर समृद्ध देश बनाउने कार्यभार छ । तर सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा तानिनुले एउटा गम्भीर प्रश्न उब्जाएको छ, के राजीनामा नै अन्तिम हो त ?
श्रममन्त्री बनेको १३ दिनमै दीपककुमार साह बर्खास्त हुनु र गृहमन्त्री सुधन गुरुङ विवादित पृष्ठभूमिका व्यवसायीसँगको साँठगाँठका कारण विवादमा तानिनुले केवल ‘राजनीतिक व्यवस्थापन’ मात्र हो कि न्यायको पूर्ण प्राप्ति ? आम नागरिकले सोधिरहेका छन्ः सत्ताबाट बाहिरिनु नै उनीहरूका लागि पर्याप्त सजाय हो त ?
जब एउटा मन्त्रीले नैतिकता बिर्सन्छ वा पदको दुरुपयोग गर्छ, उसलाई पदमुक्त गर्नु भनेको एउटा ‘सुधारात्मक कदम’ मात्र हो, ‘दण्ड’ होइन । पद गुमाउनु व्यक्तिका लागि आत्मग्लानि वा व्यक्तिगत क्षति हुनसक्छ तर राज्यको कानून मिचिएको विषयमा ऊ जवाफदेही हुनुपर्छ ।
८. अमेरिकी सेनाले ओमानको खाडीमा इरानी कार्गो जहाज नियन्त्रणमा लियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा नाकाबन्दी छल्न खोज्ने इरानी झण्डा भएको कार्गो जहाज नियन्त्रणमा लिएको घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा अमेरिकी सेनाले एउटा इरानी कार्गो जहाजलाई नियन्त्रणमा लिएको बताउनुभएको हो । टुस्का नामको झन्डै ९ सय फिट लामो यो जहाजले नाकाबन्दी तोड्ने प्रयास गरेको थियो । अमेरिकी युद्धपोतले चेतावनी दिँदा नमानेपछि इन्जिन कोठामा प्वाल पारेर जहाज रोकिएको र अहिले अमेरिकी मरीनहरूको नियन्त्रणमा रहेको ट्रम्पले जानकारी दिनुभयो । इरानले यसको बदलामा अमेरिकी जहाजहरूमाथि आक्रमण गरेको समाचारहरू आएका छन् ।
९.जापानी प्रधानमन्त्री ताकाइचीद्वारा संविधान संशोधन प्रयासको विरोधमा टोकियोमा ३६ हजार प्रदर्शनकारीहरूद्वारा प्रदर्शन
जापानी प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयासको विरोध गर्न र धारा ९ को रक्षाको माग गर्दै टोकियोस्थित संसद भवन वरपर दशौँ हजार जापानी नागरिकहरू भेला भएका छन् । आयोजकहरूकाअनुसार उक्त ¥यालीमा करिव ३६ हजार मानिसहरू सहभागी थिए । गत अप्रिल ८ पछि संविधान संशोधनको विरुद्धमा नेसनल डाइट (संसद) भवन नजिकै ३० हजार भन्दा बढी मानिसहरू भेला भएको यो दोस्रो ठूलो प्रदर्शन हो । प्रदर्शनकारीहरूले युद्धलाई नाइँ धारा ९ लाई कमजोर नबनाऊ र ताकाइची पदत्याग गर लेखिएका प्लेकार्डहरू बोकेर जापानको शान्तिवादी संविधानको रक्षा गर्न माग गरेका थिए ।
१०. जोर्डनका राजा र फिनल्याण्डका राष्ट्रपति बीच अम्मानमा भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सम्बन्धमा जोड
रोयल हासेमाइट कोर्टद्वारा जारी विज्ञप्तिअनुसार जोर्डनका राजा अब्दुल्लाह द्वितीय र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले अम्मानमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र क्षेत्रीय संकटप्रति समन्वयात्मक प्रतिक्रिया जनाउने विषयमा वार्ता गर्नुभएको छ । क्षेत्रीय स्थिरताका बारेमा चर्चा गर्दै राजाले युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविराम कायम राख्नुपर्नेमा जोड दिनुभयो । तनाव कम गर्न थप कुटनीतिक पहलहरूका लागि आग्रह गर्नुभयो । लेबनानको स्थितिबारे बोल्दै उनले युद्धविरामले इजरायली आक्रमणको अन्त्य गर्नुपर्ने र लेबनानको सार्वभौमसत्ताको रक्षा हुनुपर्ने जर्डनको अडान दोहो¥याउनु भयो ।
११. पाकिस्तानद्वारा अमेरिका–इरान बीचको दोस्रो चरणको वार्ताका लागि तयारी सम्पन्न
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामावादमा हुने दोस्रो चरणको वार्ताका लागि तयारी पूरा भएको जानकारी सोमवार पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मोघदामलाई दिएका छन् । गृह मन्त्रालयकाअनुसार मन्त्री नकवीले सो कुराको जानकारी गराएका हुन् । एक विज्ञप्तिअनुसार मन्त्रीले राजदुतसँग दोस्रो चरणको वार्ताको प्रवन्धका विषयमा छलफल गर्न भेट गरेका थिए । सो क्रममा उनले भ्रमणमा आउने विदेशी प्रतिनिधिमण्डलका लागि फुलप्रूफ(अचुक) सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो । मन्त्रीले संवाद र वार्ताका माध्यमबाट विवाद समाधान गर्ने महत्वमा जोड दिँदै दीर्घकालीन क्षेत्रीय स्थिरता र शान्तिका लागि दिगो समाधान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
१२. भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
दक्षिण भारतीय राज्य तमिलनाडुको एउटा पटाका कारखानामा भएको विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । सरकारी प्रशारण संस्था अल इन्डिया रेडियो (एआईआर) ले सो कुराको जानकारी दिएको हो । उक्त सञ्चारमाध्यमकाअनुसार कारखानाभित्र कामदारहरूले प्रज्वलनशील रासायनिक पदार्थहरू ओसारपसार गरिरहेका बेला सो दुर्घटना भएको हो । विष्फोटको समयमा कारखानाका चारवटा कोठामा गरी करिव ५० जना कामदारहरू उपस्थित रहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन् । विष्फोट यति शक्तिशाली थियो कि यसले कारखानाको भवनलाई तहसनहस बनाउनुका साथै संरचनामा पूर्ण रूपमा क्षति पु¥याएको अधिकारीहरूले बताएका छन् ।
१३. युद्धमा क्षतिग्रस्त सम्पदा स्थलहरू पुनर्जीवित गर्दै सिरिया
सिरियाले एक दशकभन्दा लामो द्वन्द्वमा क्षतिग्रस्त भएका आफ्ना सांस्कृतिक सम्पदा स्थलहरूको जीर्णोद्धारका लागि प्रयास बढाउने वाचा गरेको छ । अधिकारीहरूको मुख्य लक्ष्य यी स्थलहरूलाई युनेस्कोको खतराको सूचीबाट हटाउनु हो । अलेप्पोको ऐतिहासिक बजार, जुन १९८६ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ, कुनै समय सिल्क रोडको व्यापारको एक मत्वपूर्ण केन्द्र थियो । विश्वकै सबैभन्दा ठूलो छाना भएको बजारका रूपमा परिचित यो १३ किलोमिटर लामो क्षेत्र गृहयुद्धका क्रममा नराम्ररी ध्वस्त भएको थियो । २०१२ मा लागेको ठूलो डढेलोले बजारको ठूला खण्डहरूलाई खरानी बनायो, सयौं पसलहरू ध्वस्त बनायो र शताब्दीयौं पुराना संरचनाहरू भत्कायो ।
१४. युद्धविराम विस्तारको बारेमा टर्कीका विदेशमन्त्री हकान फिदान आशावादी
टर्कीका विदेशमन्त्री हकान फिदानले आईतवार अमेरिका र इरानले आफ्नो वर्तमान युद्धविराम विस्तार गर्नेमा आफू आशावादी रहेको बताएका छन् । प्रारम्भिक वार्तामा कुनै सम्झौता हुन नसके पनि क्षेत्रीय कुटनीतिक प्रयासहरू जारी रहेकाले उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । दक्षिणी टर्कीमा आयोजित पाँचौं अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा बोल्दै फिदानले अंकाराले वार्तालाई नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले इस्लामावादमा भएको पहिलो चरणको वार्ता बिना सम्झौता सकिए पनि वासिङ्टन र तेहरान दुवै गम्भीर वार्ताका लागि इच्छुक देखिएको बताउनु भयो ।
१५. सिरिया र इराकले झन्डै १३ वर्षपछि रबिया सीमा नाका पुनः सञ्चालनमा ल्याए
इराक र सिरियाले सोमवार रबिया सीमा नाका पुनः सञ्चालनमा ल्याएका छन् । जसले द्वन्द्व र आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) को उदयका कारण झन्डै १३ वर्षदेखि बन्द रहेको प्रमुख जमिन मार्गलाई पुनः स्थापना गरेको छ । सिरियातर्फ अल–यारुबिया भनिने यो नाका सिरियाको हसाका प्रान्तमा दुवै देशका अधिकारीहरूको उपस्थितिमा आयोजित एक समारोहपछि सञ्चालनमा आएको हो । सिरियाको भन्सार प्राधिकरणले यो नाका पारवहन, व्यापार, आयात, निर्यात र यात्रु आवतजावतका लागि खुला गरिएको बताएको छ । दुवै पक्षका अधिकारीहरूले सीमा प्रक्रियालाई व्यवस्थित बनाउने, समन्वय सुधार गर्ने र द्विपक्षीय व्यापार विस्तार गर्ने कदमहरूबारे छलफल गरेको बताएका छन् ।
१६. हंगेरीका म्याग्यारद्वारा ईयूसँग छिटो सम्झौताको प्रयास, रोक्का कोष निकासा गर्ने लक्ष्य
हंगेरीको टिस्जा पार्टीका नेता पिटर म्याग्यारकाअनुसार उनीहरूको नयाँ सरकारले रोक्का भएको युरोपेली संघ (ईयू) कोष निकासा गर्न छिटो काम गरिरहेको छ । अप्रिल १२ को संसदीय निर्वाचनमा टिस्जा पार्टीले १९९ सदस्यीय नेसनल एसेम्बलीमा १४१ सिट जितेर ठूलो विजय हासिल ग¥यो । जसले म्याग्यारको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खोल्यो । बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै म्याग्यारले उनको टोलीले तीन महिनाभित्र ईयूका प्रमुख आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको बताउनु भयो । भ्रष्टाचार विरोधी उपायहरू, मिडिया स्वतन्त्रता र न्यायिक स्वतन्त्रता जस्ता क्षेत्रमा युरोपेली आयोगको अपेक्षा अनुसार हंगेरी अघि बढ्ने म्याग्यारले बताउनु भयो । म्याग्यारले थपे कि उनले मे १५ देखि मे २० को बीचमा युरोपेली आयोगसँग राजनीतिक सम्झौता निष्कर्षमा पुर्याउने योजना बनाउनुभएको छ ।
१७. प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । नियमावली मस्यौदामा विपक्षी दलहरुले फरक मत राखेका छन् । विपक्षी दलहरुले नियमावलीको प्रश्तावनामा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थालाई हटाउनुपर्ने, संसदीय समितिको सभापतिमा एक तिहाई महिला सभापति हुनुपर्ने, विपक्षी दललाई बोल्न दिने समय कम भएकोले बढाउनुपर्ने लगायतका माग राखेर फरक मत राखेका हुन् । नेकपा एमालेका सांसद ऐन महरले संसद नियमावलीका केही प्रावधानप्रति फरक मत राख्दै प्रतिपक्षको भुमिका सुदृढ गर्न ‘अपोजिसन डे’ व्यवस्था गर्न पुरक प्रश्ताव समेत गर्नुभएको छ । उहाँले नियमावलीका धेरै विषय सर्वसम्मत रूपमा पारित भएपनि केही बुँदामा सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले हाल निर्धारण गरिएको समयले प्रतिपक्षको आवाज पूर्ण रूपमा सुनिश्चित गर्न नसक्ने भएकाले हरेक एक वा दुई हप्तामा ‘अपोजिसन डे’ राखेर सो दिनको कार्यसूची प्रतिपक्षले तय गर्ने र प्रतिपक्षकै मात्र बोल्ने व्यवस्था हुनुपर्ने प्रश्ताव गर्नुभयो ।
१८. विद्यार्थी नेताहरु भन्छन्, ‘जनताको आवाज थुन्न विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाइयो’
विश्वविद्यालयमा सरकारले लगाउन खोजेको विद्यार्थी संगठनमाथिको प्रतिवन्ध संविधान विपरित भएको विद्यार्थी नेताहरुले बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सरकार दिनप्रतिदिन असंवैधानिक बाटोमा हिँडिरहेको आरोप लगाएका हुन् । सरकारले विद्यार्थी संगठनलाई प्रतिवन्ध लगाएर निरंकुशताको बाटोमा हिँड्न लागेको उनीहरुको आरोप छ । उनीहरुले जनताको आवाज थुन्नको लागि सरकारले विद्यार्थी संगठनमाथी प्रतिवन्ध लगाउने कार्य गरेको आरोप लगाए । अनेरास्ववियु (क्रान्तिकारी) का नेता महेश श्रेष्ठले विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने प्रयास लोकतान्त्रिक गणतन्त्रको मूल भावना विपरित भएको बताउनुभ यो । लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विद्यार्थी संगठनहरूले खेलेको ऐतिहासिक भुमिकालाई नजरअन्दाज गर्दै प्रतिवन्ध लगाउने प्रयास भएको उहाँको आरोप छ । उहाँले विद्यार्थी संगठनमामाथीको प्रतिवन्ध तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
१९. भवन निर्माण विभागको स्पष्टिकरण– नयाँ संघीय भवन निर्माणमा ढिलाइको मुख्य दोषी ठेकेदार
शहरी विकास तथा भवन निर्माण विभागले निर्माण व्यवसायीको कमजोरीको कारण सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको निर्माणमा ढिलाइ भएको स्पष्टिकरण दिएको छ । मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बौल्दै विभागका महानिर्देशक रविन्द्र बोहराले यस्तो स्पष्टिकरण दिनुभएको हो । उहाँले नयाँ संसद भवन निर्माण कार्यमा ढिलाई हुनुमा विभागको पनि आंशिक कमजोरी रहेको स्वीकार गर्नुभयो । सरकारको डिजाइन र ठेक्का प्रणालीमा भएको कमजोरीको कारण पनि पनि विकास निर्माणका काम प्रभावित हुने गरेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘संघीय संसद भवन निर्माणमा ढिलाई हुनुको मुख्य कारण चाँही निर्माण व्यवसायीको कमजोरीको हो । सेयरको समस्यादेखि कामदार व्यवस्थापन लगायत कुरा गर्दा काममा ढिलाई हुनुको मेजर समस्या रहेको छ । त्यसमा समग्रमा हेर्दाखेरी ३० प्रतिशत हामी जिम्मेवार छौँ ।
२०. रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ हुने
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पाको थवाङ गाउँपालिकामा आगामी वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ । रोल...
प्रतिष्ठानले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रोल्पा कला साहित्य प्रतिष्ठानसँगको सहकार्यमा प्रगतिशील सङ्गीत उत्सव–२०८३ आयोजना गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानकी सदस्य सचिव एवं कार्यक्रम संयोजक कुश्मा महराले गीत सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक एकता सुदृढीकरण तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यसहित उत्सव आयोजना गर्न लागिएको बताउनु भयो । प्रगतिशील सङ्गीत उत्सव सांस्कृतिक दृष्टिले महत्वपूर्ण राष्ट्रिय कार्यक्रम रहेको पनि उहाँको भनाइ छ । दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन उद्घाटनसँगै प्रगतिशील कलाकारहरूको सांगीतिक प्रश्तुति रहनेछ भने दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला र प्यानल छलफल आयोजना गरिने महराले बताउनु भयो ।
२१. सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा तिब्रता दिन सांसदहरुको सुझाव
राष्ट्रिय सभाका सांसदहरूले सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा भएको ढिलाईप्रति सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागको ध्यानाकर्षण गराउनुभएको हो । भवनहरूमा अपाङ्गमैत्री तथा महिलामैत्री सुविधाको व्यवस्था सुनिश्चितता गर्न समेत उनीहरुको सुझाव छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदम परियारले भवन निर्माण विभागलाई हतारमा काम सक्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिनुभयो । उहाँले धरहराजस्तै उद्घाटन गर्न हतारो गर्नको लागि नभई प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभयो । विभाग आफैं जिम्मेवार निकाय भएको उल्लेख गर्दै सांसद परियारले प्रभावकारी व्यवस्थापनमार्फत काम छिटो सम्पन्न गर्ने उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।
२२. किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
किसानले आफूहरुले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् । बजारमा केराको मूल्य आकाशिएको बेला नेपाल केरा उत्पादक महासंघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुले केराको मूल्य बढाउन काम नगरेको स्पष्टिकरण दिएका हुन् । महासंघका अध्यक्ष विष्णहरि पन्तले विचौलियाहरुले केराको मूल्य वृद्धि गरेको भन्दै तत्काल अनुगमन गर्न सरकारसँग माग समेत गर्नुभयो । उहाँले बजारमा केराको अभाव भने रहेको स्विकार गर्नु भयो । तर किसानले भने त्यसको मूल्य नबढाएको महासंघले जनाएको छ ।
२३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यसैगरी सदस्यहरुमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन पनि गरेको छ । सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो,‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, श्री भूवनकुमार दाहाल काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने । नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन र्ग बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
२४. सरकारले नागरिकलाई धरपकड गर्न हुँदैनः हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नागरिकलाई धरपकड गरेकोमा आपत्ति जनाउनुभएको छ । सरकारले गरिखाने नागरिकलाई विकल्प नदिई घाँटीमा न्याँक्ने, घोक्रयाँई मुन्ट्याँई गर्ने गरेको देखिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले नागरिकको गाँस, बास र कपासजस्तो आधारभुत आवश्यकता पूर्ति हुनेगरी सडकमा गरेको व्यवसायलाई विकल्प नदिई हटाउने कुरा उचित नभएको बताउनु भयो । सरकारले गाँसका लागि सडकमा व्यवसाय गरिरहेकाहरुलाई धरपक्कड गर्ने कुराले मुलुकमा चोरी, लुटपाट र ठगी लगायतका अपराधका घटनाहरुलाई बढावा दिने अध्यक्ष राईको भनाई थियो ।
२५. गृहमन्त्रीबारे हर्कराज राईको प्रतिक्रियाः मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ । विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो । गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरु सुनिने गरेकाले उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाई थियो । उहाँले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताउनु भयो ।
अध्यक्ष राईले भन्नुभयो,‘त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला । उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अव हप्तामा दुई तिन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’
२६. बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ
नेपाली बजारमा केराको हाहाकार देखिएको छ । खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरुले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएकाले बजारमा केराको अभाव भएको व्यापारीहरुको भनाइ छ । नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताउनु भयो । उहाँकाअनुसार केही महिनाअघि सम्म भारतबाट अवैध रूपमा ठूलो मात्रामा केरा भित्रिँदा बजारमा अभाव देखिएको थिएन तर संघकै पहलमा त्यस्ता अवैध केराको विक्री वितरणमा रोक लगाएपछि बजारमा एकाएक आपूर्ति घटेको हो । नेपालको उत्पादन अत्यन्तै कम छ, अवैध रूपमा आएको केरा रोकेपछि बजार खाली भएर त्यसैले मूल्य बढेको उहाँले बताउनु भयो ।
२७. बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि संशोधन
सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरेको छ । विकास बजेट खर्च हुन नसकिरहेको बेला सरकारले सोसम्बन्धि नीतिहरुलाई संशोधन गरेको हो । अर्थ मन्त्रालयकाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ लाई संशोधन गर्दै “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३” जारी गरिएको छ । संशोधित नियमावलीअनुसार अर्थ मन्त्रालयको अधिकार प्रत्यायोजन गरिएको छ । संशोधित व्यवस्था अनुसार, नियमावलीको नियम १३१ मा परिवर्तन गरिएको छ । उपनियम (१) पछि उपनियम (१ क) र (१ ख) थपिएका छन् ।
उपनियम (१ क) अनुसार, अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० को उपदफा (३) बमोजिमको पूँजीगत रकम रकमान्तर गर्ने अधिकार सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतलाई प्रत्यायोजन गर्नसक्ने व्यवस्था गरिएको छ ।
२८. विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
विद्युतीय गाडीको आयात घटेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा झन्डै १० प्रतिशतले गिरावट आएको हो । गत वर्ष ९ महिनामा ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ । चालु आवमा कुल १६ अर्ब ६६ करोड बरारबरको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व पाएको छ । चालु आ.व.मा ५० किलोवाटसम्मका २५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ७४ र २०१ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् । चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ ।
२९. पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ । विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् । सरकारले विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप गरेको उनीहरुको आरोप छ । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइदैन लगायतका प्लेकार्ड बोकेका थिए ।
३०. नेपालद्वारा युएई आठ विकेटले पराजित
ओपनर कुशल भुर्तेलको अर्धशतकीय योगदानमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो टी ट्वान्टी खेलमा जित निकाल्दै श्रृंखलामा बराबरी गरेको छ ।
कीर्तिपुरमा मंगलवार भएको खेलमा बलिङ र ब्याटिङ दुवैमा साथ पाएपछि नेपालले पाहुना टोली युएईमाथि आठ विकेटको जित निकाल्दै श्रृंखला बराबरी गरेको हो । पहिलो खेलमा नेपालले सोमवार युएईसँग ६ विकेटले पराजित भएको थियो । दुई खेलको श्रृंखलामा बुधवार जितसँगै नेपालले १–१ को बराबरी गरेको हो । नेपालको जितमा लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेटसँगै किफायती बलिङ र ओपनर कुशललले अर्धशतकीय इनिङ खेले । त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा युएईले एक सय २९ रनको सामान्य लक्ष्य दियो । तर ओपनर कुशल चम्किएपछि नेपालले १५.५ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा ग¥यो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij