Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

बुटवलमा असुरक्षित गर्भपतन गराउँदा गर्भवतीको मृत्यु, ३ जना पक्राउ

बुटवलमा असुरक्षित गर्भपतन गराउँदा गर्भवतीको मृत्यु, ३ जना पक्राउ


  • 169
    Shares

    बुटवलमा असुरक्षित गर्भपतन गराउँदा गर्भवतीको मृत्यु, ३ जना पक्राउ

    काठमाडौं । बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा चरम लापरबाही हुँदा एक गर्भवती महिलाको ज्यान गएको भन्दै जाहेरी परेको छ। 

    पाल्पाको बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेको गर्भपतन गराउने प्रक्रियामा स्वास्थ्य बिग्रिएर मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। 

    आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गराएका छन्। रेडक्रस सोसाइटीकी कर्मचारी समेत रहेकी ३१ वर्षीया पाण्डे करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि श्रीमान्सहित उपचारका लागि बुटवल आएकी थिइन्। 

    चैत २७ गते प्रारम्भिक जाँच गराएकी उनी वैशाख ५ गते फलोअपका लागि बुटवलस्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँका चिकित्सकले गर्भपतन गर्नुपर्ने तर आफ्नोमा सम्भव नभएको भन्दै अन्यत्र जान सल्लाह दिएपछि उनीहरू हस्पिटल लाइनस्थित जोनल फार्मेसी क्लिनिक पुगेका थिए। 

    त्यहाँ पनि चिकित्सक नभएको भन्दै नजिकैको इन्दुलेखा क्लिनिकमा पठाइएको र सोही क्लिनिकमा औषधि प्रयोग गरेपछि पाण्डेको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको थियो।

    अवस्था नियन्त्रण बाहिर गएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

    पीडित परिवारले एक क्लिनिकबाट अर्कोमा पठाउने र असुरक्षित तरिकाले औषधिको प्रयोग गर्ने स्वास्थ्यकर्मी र क्लिनिक सञ्चालकको लापरबाहीले मृत्यु भएको दाबी गरेका छन्। मृतकका श्रीमान् सरकारी अधिकृत हुन् भने उनीहरूको पाँच वर्षको एक सन्तान समेत रहेका छन्।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ। 

    प्रहरीले जाहेरी परेका अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनुमति विना वा लापरबाहीपूर्ण ढंगले उपचार गर्ने क्लिनिकहरूमाथि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

    मृतकका आफन्त गोकुल पाण्डेले नियमित जाँच भइरहेकै ठाउँबाट रिफर गर्ने र क्लिनिकहरूले जिम्मेवारी नलिई असुरक्षित औषधि चलाउँदा अकालमा ज्यान गएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले शवको पोस्टमार्टम र पक्राउ परेकाहरूको बयानका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ। 

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १३:४२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij