२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । सिरहा कारागारभित्रको आन्तरिक प्रशासनलाई जबर्जस्ती आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा प्रहरीले २३ जना कैदीबन्दीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयास गरेका थिए । उक्त घटनापछि थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने अनुमान गर्दै २३ जना कैदीहरुलाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायको निर्देशनअनुसार अघि बढाइनेछ ।
सिरहा कारागारमा यसअघि पनि पटक-पटक गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना हुँदै आएका छन् । व्यवस्थापनमा कमजोरी र सुरक्षाकर्मीको मिलेमतोका आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ ।
यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो । उक्त हतियार आन्तरिक प्रभाव जमाएका कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीले जनाएको थियो । सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा सारिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij