Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

पत्रकारलाई पारिश्रमिक दिन जीबी राईसहित गोर्खा मिडिया सञ्चालकलाई अदालतको आदेश

पत्रकारलाई पारिश्रमिक दिन जीबी राईसहित गोर्खा मिडिया सञ्चालकलाई अदालतको आदेश


  • 372
    Shares

    पत्रकारलाई पारिश्रमिक दिन जीबी राईसहित गोर्खा मिडिया सञ्चालकलाई अदालतको आदेश

    काठमाडौं । श्रम अदालतले श्रमजीवी पत्रकारलाई कानुनले तोकेको पारिश्रमिकसहितको बक्यौता असुल गराउन गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन अध्यक्ष जीबी राईसहित सञ्चालकका नाममा आदेश दिएको छ । 

    श्रम कार्यालयले गरेको निर्णयलाई सदर गर्दै श्रम अदालतबाट ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेललगायत नाममा आदेश जारी भएको हो ।

    श्रम अदालतमा फिरादपत्र दायर गर्ने अधिवक्तासमेत रहेका पत्रकार वासु खड्काले गत चैत १६ मा यस्तो फैसला भएको जानकारी बाह्रखरीलाई दिए ।

    श्रम अदालतका अध्यक्ष जनक पाण्डे र सदस्य शैलेन्द्रकुमार चौरसियाको इजलासले श्रम कार्यालयले गोर्खा मिडियाबाट श्रमजीवी पत्रकारको पारिश्रमिक असुल गराउन दिएको निर्णय सदर गरेको छ ।

    पत्रकार खड्काले ग्यालेक्सी फोरके टेलिभिजनका पीडित पत्रकारका लागि न्यायको ढोका खुलेको बताए । पत्रकारहरूले ०८० जेठदेखि टेलिभिजन बन्द हुने बेलासम्म एक वर्षभन्दा बढी समयको पारिश्रमिक नपाएको दाबी अदालतमा गरेका थिए । 

    कानुनबमोजिमको सेवासुविधाको रकम, पारिश्रमिक, उपचार खर्च तथा सामाजिक सुरक्षा कोषको रकम दिलाइपाऊँ भनी आफूसहित ९४ जना श्रमजिवी पत्रकार सुरुमा श्रम कार्यालय र त्यसपछि अदालत गएको खड्काको भनाइ छ । 

    “हामीले गोर्खा मिडियाअन्तर्गत ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जिबी राई, सञ्चालक कुमार रम्तेललगायत सञ्चालकबाट लामो समयदेखि नपाएको तलब, सुविधाबापतको बक्यौता असुल गर्ने निर्णय अदालतबाट भएको छ,” उनले सुनाए । 

    श्रम तथा रोजगार कार्यालयले बक्यौता हिसाब गणना गरेर श्रमजीवी पत्रकारलाई भराउन भनेको थियो । तर, सञ्चालकबाट क्षतिपूर्तिसहितको हर्जाना, साँवा र ब्याजसमेत भराई पाउने मागबारे फैसलाको पूर्णपाठमा बोलिने विषय भएको हुनाले त्यो प्राप्त हुन बाँकी रहेको खड्काले बताए । 

    पीडित पत्रकारहरू ०८२ असार १०    गते श्रम अदालत पुगेका थिए । खड्कासँगै पत्रकार रवि श्रेष्ठ, प्रमेन्द्रकुमार श्रेष्ठ, राम तामाङ, धनकृष्ण बाडे, विनय बन्जारा, दीपेन्द्र थापामगर, शिखा श्रेष्ठ, शरद लुइँटेल, अंगराज न्यौपाने, पवन पौडेल, समीर तिमल्सिना, नवराज पाण्डेसहित ९४ जना पत्रकारले अदालत गुहारेका थिए । 

    ग्यालेक्सी टेलिभिजनको दुःख पोख्दै पत्रकारले याचनापत्रमा लेखेका थिए, “मानसिक स्वास्थ्य अवस्थाको कुनै लेखाजोखा भएको छैन । खाली पेट काम गर्नुपर्दाको पीडा कुनै शब्दमा वर्णन गर्न नसकिने हुँदो रहेछ ।”

    रोजगारदाता कार्यालय गोर्खा मिडिया हाल सञ्चालनमा छैन । संस्थाका सञ्चालकमध्येका अध्यक्ष जीबी भनिने गीतेन्द्रबाबु राई सहकारी ठगी प्रकरणमा फरार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रहेका रवि लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए ।

    पीडित पत्रकारले जीबी राईबाट असुलउपर हुन नसके संस्थाका उपाध्यक्ष कुमार रम्तेललगायतको जायजेथाबाट भए पनि आफ्नो पारिश्रमिक र सेवासुविधाबापतको रकम भराउन माग गरेका थिए । 

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - १२:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij