Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

आज दिनभरको ३२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 260
    Shares

    आज दिनभरको ३२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौंः पशुपति क्षेत्रमा छुट्टै ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने

    काठमाडौं महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहनुभएको हो । महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकताअनुसार वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । पशुपति क्षेत्रमा सडक मानवहरूको संख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा एउटा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ बनाउने सहमति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो । उद्धार गरिएका व्यक्तिहरूमध्ये परिवार भएकाहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ । 

    २. सिंहदरबारमा प्रतिपक्षी तीन दलको बैठक जारीः सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने तयारी

    सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसिरहेको छ । बैठकमा काँग्रेसबाट अर्जुननर सिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरुको सहभागिता रहेको छ । बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । विपक्षी दलहरुबीचको यो सहकार्यले संसदमा सरकारलाई जवाफदेही बनाउन थप बल पुग्ने नेताहरुले बताएका छन् । लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो । 

    ३. संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्छः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको बताउनु भयो । उहाँले विवेकपूर्ण ढङ्गले सदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सभामुखको भुमिका पनि सकारात्मक रहने अपेक्षा राख्नुभयो । यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताउनु भयो । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पती अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पार्नुभयो । 

    ४. संघीय सरकारका परिपत्रले प्रदेश कानून निष्प्रभावी बनाउन मिल्दैनः मुख्यमन्त्री कँडेल

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले जारी गर्ने परिपत्रका आधारमा प्रदेशले बनाएका कानूनहरूलाई निष्प्रभावी बनाउन नमिल्ने बताउनुभएको छ । 
    प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कँडेलले यस्तो धारणा राख्नुभएको हो । बैठकमा कोशी र सुदूरपश्चिम बाहेकका पाँच प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो । बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन, संवैधानिक अधिकारको बाँडफाँट र प्रशासनिक जटिलताका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री कँडेलकाअनुसार संघीय सरकारले पछिल्लो समय जारी गरेका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषय बैठकमा जोडदार रूपमा उठाइएको छ ।

    ५. वैशाख १९ मा ‘एनसेल बिजनेस बाह्रखरी गल्फ’ र आर्थिक परिसंवाद हुने, विजेतालाई सुनको गल्फ बल

    बाह्रखरी मिडियाले ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र ‘इकोनोमिक सिम्पोजियम’ (आर्थिक परिसंवाद) वैशाख १९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गोकर्ण गल्फ कोर्समा हुने यस प्रतियोगितामा कर्पोरेट क्षेत्रका नेतृत्वकर्ता, विभिन्न व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, न्यायाधीश तथा उच्च सरकारी अधिकारीसहित १०० भन्दा बढी गल्फरहरूको सहभागिता रहनेछ । प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइनेछ । यस वर्षको ‘अल–राउण्ड’ विजेताले २४ क्यारेट सुनबाट बनेको गल्फ बल पुरस्कार प्राप्त गर्नेछन् । 

    ६. रास्वपाले सांसदलाई १६ हजार ५ सय र मन्त्रीलाई १८ हजार लेबी तोक्यो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रश्ताव पारित गरेको छ । त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ । बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर पनि तय गरेको छ । निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनुपर्नेछ ।

    ७. रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरसहित)

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा मुख्यतया सार्वजनिक लेखा समितिको सभापतिमा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । संसदीय प्रक्रियामा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेका बेला रास्वपाको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । रास्वपाले समितिको सभापतिमा कसलाई समर्थन गर्छ भन्नेकुराले आगामी संसदीय समीकरणमा समेत प्रभाव पार्नसक्ने विश्लेषण गरिएको छ । रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा भइरहेको यो बैठकमा समसामयिक राजनीतिक विषय र सरकारको कार्यसम्पादनका बारेमा पनि समीक्षा भइरहेको स्रोतले जनाएको छ । 

    ८. प्रदेशलाई ‘तालिम केन्द्र’ नबनाऔँ, प्रशासकीय अधिकृतको कार्यकाल कम्तीमा दुई वर्ष हुनुपर्छः मुख्यमन्त्री बानियाँ

    वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकार र प्रदेश सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । 
    प्रधानमन्त्रीसँगको पहिलो समन्वय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशका समस्या, बजेट कटौती र प्रशासनिक चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । मुख्यमन्त्री बानियाँले केन्द्रबाट पठाइने प्रमुख प्रशासकीय अधिकृतहरूको छोटो समयमै हुने सरुवाप्रति आपत्ति जनाउनु भयो । कर्मचारीको अस्थिरताले कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्दै उहाँले सचिव र प्रशासकीय अधिकृतहरूको कार्यकाल कम्तीमा २ वर्ष सुनिश्चित गर्न माग गर्नुभयो । यस विषयमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिँदै कम्तीमा एक वर्षको कार्यकाल तोक्न सचिवहरूलाई निर्देशन दिएको बानियाँले बताउनु भयो । 

    ९.प्रतिपक्षी दलका नेताहरू र सभामुख अर्यालबीच भेटवार्ता

    समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन् । उनीहरूले आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन पनि सभामुखको ध्यानाकर्षण गराएका छन् । भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भीष्मराज आङदाम्बे, अर्जुननरसिंह केसी, नेकपा एमालेबाट गुरु बराल, पद्या अर्याल, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

    १०. एमाले र नेकपाले पनि गराए समिचि सभापतिमा उम्मेदवारी दर्ता

    संघीय संसदअन्तर्गतको संयुक्त समिति र प्रतिनिधि सभाको विषयगत समितिमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दिएका छन् । बिहीवार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा उनीहरुले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रश्तावकमा नेपाली काँग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहनुभएको छ । संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ । बिहीवार सिंहदरबारमा समितिको सभापतिका लागि नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

    ११. ‘अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श हुन्’ः प्रधानसेनापति सिग्देल

    प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षार्थ अवकाश प्राप्त सैनिकहरूले पु¥याएको योगदान अविष्मरणीय रहेको बताउनुभएको हो । नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गर्नुभयो । नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उहाँले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिनुभयो । 

    १२. अमेरिका–इरान युद्धविराम थपिएको भन्ने खबर सत्य होइनः ह्वाइट हाउस

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधवार अमेरिका र इरानबीचको वर्तमान युद्धविराम थपिएको भन्ने रिपोर्टहरू यस क्षणमा सत्य नभएको बताउनुभएको छ । ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै लेभिटले जारी वार्ताबाट हप्तौंदेखि चल्दै आएको युद्ध अन्त्य गर्ने सम्झौता हुन सक्नेमा ट्रम्प प्रशासन आशावादी रहेको बताउनु भयो । सम्भावित वार्ता कहाँ होला भनी सोधिएको प्रश्नमा लेभिटले ती वार्ताहरू पुनः पाकिस्तानमा हुने प्रबल सम्भावना रहेको बताउनु भयो । पाकिस्तानी राजधानी इस्लामाबादले गत हप्ताको अन्त्यमा रोकिएका वार्ताहरूको आयोजना गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार अमेरिका र इरानबीचको नयाँ वार्ता पाकिस्तानमा आगामी दुई दिनभित्र हुनसक्ने बताउनुभएको थियो । 

    १३. अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा इरानी बन्दरगाहहरूमा शुन्य जहाज आवतजावत भएको अमेरिकाको दाबी

    अमेरिकी सेनाले बुधवार दाबी गरेको छ कि अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहहरूमा प्रवेश गर्न वा बाहिर निस्कन सफल भएका छैनन् । अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिरिने जहाजहरूमाथिको अमेरिकी नाकाबन्दीको पहिलो ४८ घण्टामा कुनैपनि जहाज अमेरिकी सेनालाई छलेर अघि बढ्न नसकेको बताएको हो । ९ वटा जहाजहरूले अमेरिकी सेनाको निर्देशन पालना गर्दै फर्केर इरानी बन्दरगाह वा तटीय क्षेत्रतर्फ गएका कमाण्डले जनाएको छ । कमाण्डका अनुसार नाकाबन्दी जारी रहँदा अमेरिकी नौसेनाका जहाजहरू ओमानको खाडीमा गस्ती गरिरहेका छन् ।

    १४. टर्कीको विद्यालयमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु

    टर्कीका आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्टसीकाअनुसार बुधवार टर्कीको दक्षिणी शहर कहरामनमारसमा भएको विद्यालय गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । सिफ्टसीले मृत्यु हुनेमध्ये आठ जना विद्यार्थी र एक जना शिक्षक रहेको जानकारी दिँदै १३ जना घाइते भएको र तीमध्ये छ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । यसैबीच, टर्कीका शिक्षा मन्त्री युसुफ टेकनले कहरामनमारसमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको जानकारी दिएका छन् । स्थानीय प्रसारक एनटीभीले कहरामनमारसका गभर्नर मुकर्रेम उनलुएरलाई उद्धृत गर्दै जनाए अनुसार, यो घटना स्थानीय समयअनुसार दिउँसो १ः३० बजे (१०ः३० जीएमटी) ओनिकिसुबात जिल्लाको आयसर कालिक मध्य विद्यालयमा भएको हो, जहाँ आक्रमणकारीले दुईवटा कक्षाकोठामा प्रवेश गरी आक्रमण गरेका थिए ।

    १५. तेहरानमा स्थलगत रिपोर्टः अमेरिकी–इजरायली आक्रमणबाट प्रभावित आवासीय क्षेत्र

    तेहरानको दक्षिण–पूर्वी भेगमा रहेको एउटा शान्त आवासीय क्षेत्र अहिले भग्नावशेष र त्रासको छायामा छ । हालैका अमेरिकी र इजरायली हवाई आक्रमणहरूले यहाँका घरहरू र मानिसहरूको जीवनमा गहिरो चोट पु¥याएको छ । स्थानीय बासिन्दाहरू आफ्ना गुमेका प्रियजनहरू र नष्ट भएका सम्पत्तिको शोकमा छन् । उनीहरूले युद्धको विभिषिका वर्णन गर्दै स्थायी शान्तिको कामना गरेका छन् । आक्रमणपछि भत्किएका घरका पर्खालहरू र सडकमा छरिएका सिसाका टुक्राहरूले त्यहाँ भएको विनाशको कथा भनिरहेका छन् ।

    १६. भारतको छत्तीसगढमा पावर प्लान्टको बोइलर विस्फोटः १० को मृत्यु, ४० घाइते

    भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले यो जानकारी दिएका छन् । विस्फोट छत्तीसगढको राजधानी रायपुरबाट करिव २२८ किलोमिटर उत्तरपूर्वमा रहेको शक्ति जिल्लाको सिन्घितराई गाउँमा रहेको वेदान्त पावर प्लान्टमा भएको हो । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ । स्थानीय सरकारी अधिकारीहरूका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर छ । कामदारहरू खाजा खाइरहेको समयमा पावर प्लान्टको बोइलर ट्युबमा विस्फोट भएको थियो । 

    १७. रुसको बाश्कोर्तोस्तानमा कार दुर्घटनामा ४ जनाको मृत्यु

    रुसको बाश्कोर्तोस्तान गणतन्त्रमा भएको कार दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बेलेबेभस्की जिल्लाको राजमार्गमा एउटा यात्रुवाहक कार सडकबाट तल खसेर पल्टिँदा यो दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटनामा एक पुरुष र तीन महिलाको मृत्यु भएको छ भने चालकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । बाश्कोर्तोस्तान अभियोजकको कार्यालयकाअनुसार चालक १६ वर्षीय किशोर थिए, जससँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन । कार्यालयले नाबालिग र सडक सुरक्षा सम्बन्धी कानूनको पालना भए, नभएको र अभिभावकले आफ्नो जिम्मेवारी पूरा गरे नगरेको बारे मूल्याङ्कन गर्ने बताएको छ । 

    १८. सन् २०२६ को पहिलो दुई महिनामा रूसको जीडीपी १.८ प्रतिशतले घट्योः पुटिन

    सन् २०२६ को पहिलो दुई महिनामा रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.८ प्रतिशतले घटेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताउनुभएको छ । पुटिनले आर्थिक मुद्दाहरूमा भएको बैठकमा यसबारे जानकारी दिनुभयो । जनवरी–फेब्रुअरीमा जीडीपी १.८ प्रतिशतले घट्यो । उहाँले क्यालेण्डर र मौसमका कारकहरू जीडीपीमा गिरावट आउनुको कारणहरूमध्ये एक रहेको बताउनु भयो । उत्पादन क्षेत्र, समग्र औद्योगिक उत्पादन र निर्माणको प्रवृत्ति नकारात्मक भएको छ । उहाँले रूसको लागि सन्तुलित बजेट कायम राख्न र वित्तीय स्थिरता सुनिश्चित गर्नमा जोड दिनुभयो । 

    १९. हंगेरीका राष्ट्रपतिद्वारा पिटर म्यागरलाई सरकार गठन गर्न आह्वान

    हंगेरीका राष्ट्रपति तामस सुलयोकले बुधवार बिहान टिसा पार्टीका नेता पिटर म्यागरलाई संसदीय निर्वाचनमा पार्टीको विजयपछि नयाँ सरकार गठन गर्न आग्रह गर्नुभएको छ । स्यान्डोर प्यालेसमा उनीहरूको भेटपछि बोल्दै म्यागरले राष्ट्रपतिले नयाँ संसदको उद्घाटन सत्र मेको शुरुमा हुनसक्ने संकेत गरेको बताउनु भयो । उहाँले मे दिवसको लामो सप्ताहन्त पछि मे ४ सम्ममा सबैभन्दा चाँडो मिति हुनसक्ने भएपनि, यो अधिक यथार्थवादी रूपमा मे ६ वा ७ गते हुने सम्भावना रहेको बताउनु भयो । उहाँले हंगेरीको मौलिक कानूनअनुसार नयाँ संसद निर्वाचनको ३० दिनभित्र बस्नुपर्ने बताउनु भयो । 

    २०. हर्मुज जलडमरूमध्यमा अमेरिकी सेनाद्वारा इरानी जहाज नियन्त्रणमा

    अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको अमेरिकी सेन्ट्रल कमाण्डले बुधवार जनाएको छ । सोमवारदेखि अमेरिकी नाकाबन्दी सुरु भएयता अहिलेसम्म १० वटा जहाजहरूलाई फिर्ता पठाइएको र कुनैपनि जहाजले जलडमरूमध्य पार गर्न नसकेको कमाण्डले जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले मंगलवार राति एक्समा अमेरिकी सेनाले समुद्रमार्फत इरानमा हुने र इरानबाट हुने आर्थिक व्यापार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।

    २१. कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आयातमा कडाई गर्नुपर्छः कृषिमन्त्री पौडेल

    वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलले कृषि तथा पुष्प व्यवसायको प्रवद्र्धन गर्न आयातमा कडाई गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय फलफूल विकास केन्द्रले आयोजना गरेको १६ औँ वागवानी कार्यशाला गोष्ठीमा उहाँले केन्द्रिय सरकारले कृषि तथा पुष्पजन्य वस्तुको आयातमा कडाई गर्ने नीति लिनुपर्ने बताउनुभएको हो । हाल कृषि तथा पुष्प व्यवसाय घट्दो अवस्थामा रहेको भन्दै उहाँले यसलाई पुनर्जीवित गर्न विदेशी वस्तुको आयातमा नियन्त्रण आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि उपज, फलफूल तथा पुष्पजन्य वस्तु बाहिरबाट आउँदा नेपालका किसान समस्यामा परेको बताउनु भयो । आयातमा कडाईको लागि प्रदेश सरकारले संघीय सरकारसंग लविङ गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपाली किसानको संरक्षणका लागि सरकारले कडा नीति लिनुपर्ने उहाँको भनाई छ । 

    २२. संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभाका विषयगत समिति र २ वटा संयुक्त समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बिहीवार संघिय संसद सचिवालयमा उहाँहरुले उम्मेद्वारी दर्ता गराउनुभएको हो । प्रतिनिधि सभाका विषयगत र संयुक्त संसदका २ गरी १२ वटा समितिमध्ये ११ वटा समितिको सभापतिमा रास्वपाले उम्मेद्वारी दिएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेद्वारी दर्ता गराउनुभएको छ । 

    २३. सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

    प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गर्नुभएको छ । बिहीवार संघीय संसद सचिवालयमा उहाँले उम्मेद्वारी दर्ता गराउनुभएको हो । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् । यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि सार्वजानिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । सभापतिमा उम्मेद्वारी दर्ता गरेपछि सांसाद खड्काले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परा रहेको बताउनु भयो ।

    २४. एमाले नेता, कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रहः एकतावद्ध भएर अघि बढ्नुहोस्

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकतावद्ध भएर अघि बढन एमाले नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीवार काठमाडौंमा भूमिगत महिला नामक पुस्तकबारे आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्र र लोकतन्त्रमाथिनै प्रश्न उठने अवस्था आएकाले त्यसलाई जोगाउनका लागि पनि सिंगो एमाले पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको तर्क गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले अनुभव नभएका नयाँ पार्टीहरुको उदयले मुलुकमाथि थुप्रै प्रश्नहरु खडा भएकाले पनि त्यसलाई जोगाउनका लागि एमाले नेता, कार्यकर्ताहरुले सक्रियतापूर्वक देश र जनताको पक्षमा गम्भिरतापूर्वक काम गर्नुपर्ने बेला आएको बताउनु भयो । मुलुकमा  प्राप्त मौलिक हक, स्वतन्त्रता, लोकतन्त्र नै के हुने हो ? भन्ने प्रश्न उठन थालेकाले त्यो संकटबाट देशलाई जोगाउन एमाले पंक्ति सक्रियतापूर्वक अघि बढ्नुपर्ने बेला आएको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो । 

    २५. सरकारलाई चिरिबाबु महर्जनको सुझावः आर्थिक वर्षको समय परिवर्तन गरौँ

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गर्नुभएको छ । बिहीवार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उहाँले संघीय सरकारसँग सो प्रश्ताव गर्नुभएको हो । मनसुनी वर्षा र त्यो भन्दा अघिको समयमा कुनैपनि आयोजनाको डिजाईन, इष्टिमेट र टेन्डर आह्वान गर्ने र त्यस बाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उहाँको तर्क थियो । सरकारले विकास, निर्माणको काममा आमूल परिवर्तन हुनेगरी काम गर्नुपर्ने पनि मेयर महर्जनको भनाई थियो । सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो । 

    २६. सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा स्थानीय तहको कामले गति लिएनः मोहनमाया ढकाल

    वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएका कारण अघि बढन नसकेको बताउनु भएको छ । बिहीवार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उहाँले संघीय सरकारले पर्याप्त बजेट नपठाएका कारण स्थानीय तहमा विभिन्न आयोजनाहरुको काम सम्पन्न गर्न नसकिने अवस्था आएको प्रष्टाउनु भएको हो । मेयर ढकालले पर्याप्त बजेट बिना आयोजनाहरु अघि बढाउने काम स्थानीय सरकारले गर्न नसक्दा बेरुजु हुने अवस्था आएकाले उल्लेख गर्दै त्यस्ता अवस्था आउन नदिन संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले हालै सरकारले विद्यालय भवन निर्माणका लागि भनेर पठाएको बजेट समेत कमी हुने भएकाले ती कामहरु अघि बढाउने अवस्था नरहेकोतर्फ पनि संघीय सरकारलाई सचेत गराउनु भयो । 

    २७. सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शक्तिशाली सो समितिको सभापतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समितिको नेतृत्व दिने निर्णय गरिएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवारी हरि ढकाललाई बनाउने निर्णय गरेको छ । त्यसैगरी अर्थ समितिको सभापतिको उम्मेदवार कृष्णहरी बुढाथोकीलाई बनाउने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा,  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा सभापतिको उम्मेदवार आकृति अवस्थी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा ओजश्वी शेरचन, संसदीय सुनुवाई समिति सभापतिको उम्मेदवार बोधनारायण श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको पनि महामन्त्री बुर्लाकोटीले बताउनु भयो । 

    २८. ‘बलजफ्ती निजी क्षेत्रमाथि अख्तियार लगाए उद्योग व्यवसाय बन्द हुनेछन्’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको दायरा फराकिलो पर्ने उद्देश्यले निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्ने योजना बनाएपछि निजी क्षेत्र तरंगित बनेको छ । 
    अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनाअनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्शानी भएको वा अनुचित लाभ लिए दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्चाउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्थामा सुधार गरिनेछ । त्यसका लागि सहकारी क्षेत्र र पब्लिक वा प्राइभेट कम्पनी वा अन्य कुनै निजी संघ, संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ । यो योजनाले निजी क्षेत्र तरंगित बनेको हो । 

    २९. अर्थमन्त्री समक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग

    नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशिल हुन आग्रह गरेको छ । मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो । महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले वर्तमान व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताउनु भयो । उहाँकाअनुसार अहिले व्यापार व्यवसाय उक्सिने स्थितिमा छैन । यद्यपी नयाँ सरकार बनेपछि व्यवसायीहरूमा एउटा आशाको किरण भने जागेको छ । 

    ३०. संविधानमै संशोधन र जनमत संग्रहको व्यवस्था छ, त्यसमै टेकेर अघि बढ्छौँः स्वर्णिम वाग्ले

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीवार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को वैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाअनुसार नै गरिने स्पष्ट पार्नुभयो । उहाँकाअनुसार बाहिर केही वृत्तमा सरकार प्रचण्ड बहुमतका आधारमा संविधान नै परिवर्तन गर्ने वा हटाउने आशंका व्यक्त भइरहेका छन्, तर त्यो धारणा सही नभएको उहाँले बताउनु भयो ।  
    अर्थमन्त्री वाग्लेले चित्त नबुझेका विषयहरू संविधानभित्रै रहेका प्रावधानअनुसार संशोधन गरिने नीति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान धारा २७४ ले संविधान संशोधनको स्पष्ट विधि तय गरेको र नेपालको संविधान धारा २७५ ले जनमतसंग्रहसम्बन्धी विषयलाई सम्बोधन गरेको बताउनु भयो ।  यी दुवै संवैधानिक खुड्किलामै टेकेर वर्तमान सरकार अघि बढ्ने उहाँको भनाइ छ ।

    ३१. सेवा प्रवाहमा र आर्थिक सुधार सरकारको मुख्य प्राथमिकताः अर्थमन्त्री

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभएको छ । बिहीवार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताउनु भयो । उहाँकाअनुसार सरकार सेवा प्रवाहमा केन्द्रित छ । उक्त सेवा प्रवाह डिजिटल माध्यम र कतिपय अवस्थामा राज्य संयन्त्रलाई नै चलायमान बनाएर गरिने बताउनु भयो । 
    अर्थमन्त्री वाग्लेले सेवामुखी भावनाका साथ शासन प्रणाली (गभर्नेन्स) सुधारतर्फ काम भइरहेको बताउनु भयो । उहाँकाअनुसार म्याक्रो तहका नीतिगत सुधार र माइक्रो तहमा सेवा प्रवाह सुधार दुवैलाई समान रूपमा अघि बढाइएको छ । 

    ३२. सूर्य नेपाल एनपिजिए म्याच प्ले जारीः साविक विजेता निरज र टंक फाइनलमा

    साविक विजेता निरज तामाङ र टंकबहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको  फाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लवमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरियताका सञ्जय लामालाई सहजै ६÷५ ले हराए । नवौं होलको समाप्तीमा निरजसँग दुई होलको अग्रता थियो । यसपछि दशौं, एघारौँ, बार्हौं र तेर्हौं होल लगातार जित्दै निरजले जित सहजै आफ्नो पक्षमा पारे । सेमिफाइनलमा तेर्हौ होलमा जित निकालेका निरजले क्वाटर फाइनलमा नवौं सिडेड रामे मगरलाई २÷१ ले हराएका थिए । अर्को सेमीफाइनल खेलमा छैटौं वरियताका अनुभवी रवि खड्कालाई १० औं वरियताका टंकबहादुर कार्कीले ३÷२ ले माथ दिँदै पहिलो पटक म्याच प्लेको फाइनलमा प्रवेश गरेका छन् । नौ होलको समाप्तीमा टंकले तीन होलको अग्रता बनाइसकेका थिए । तर यसपछि रविले दशौं र एघारौँ होल जित्दै अग्रतालाई एक होलमा घटाए । तर यसपछि पुनः टंक खेलमा हाबी हुँदा १६औं होलमा खेल जिते ।  –न्युज एजेन्सी नेपाल

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - २०:३७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij