२०८३ बैशाख २ गते बुधवार
१. सूर्य नेपाल एनपिजिए म्याच प्ले शुरूः भूवन र निरज क्वाटरफाइनलमा
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ । लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंक बहादुर कार्की क्वाटर फाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लवमा आज दोस्रो सिडेड भूवनले सबैभन्दा सहज जित निकाले। उनले पन्ध्रौँ सिडेड कृष्णमान राजबाहकलाई ७÷६ ले हराए। १२ औं होलमा जित हात पारेका भुवनले क्वाटरफाइनलमा टंकबहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । दशौं सिडेड टंकले सातौं सिडेड धनलाई २÷० ले हराए। यी दुई बीच कडा प्रतिस्पर्धा चल्दा टंकले १८ औं होलमा जित निकाले ।
२. सरकारको साझा प्रतिवद्धता कागजमा मात्र सिमित नहोस्, कार्यान्वयनमा स्रोतको अभाव छः पद्मा अर्याल
नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले सरकारले ल्याएको साझा प्रतिवद्धता पत्र सकारात्मक भएपनि त्यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
सबै राजनीतिक दलका घोषणापत्रलाई समेटेर साझा प्रतिवद्धता ल्याउनु नयाँ अभ्यास भएपनि स्रोतको सुनिश्चितता बिना यो सफल नहुने उहाँको तर्क छ । उहाँले राज्य बलियो हुनुपर्ने कुरामा एमालेको विमति नरहेको तर अहिलेको आर्थिक अवस्था र प्राविधिक समस्याका कारण सरकारले बोलेका कुरा पूरा गर्नेमा शंका रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीसँगको भेटका सन्दर्भमा अर्यालले आफूहरूले समुदायका मुद्दा र विकासका योजनाबारे ध्यानाकर्षण गराएको बताउनु भयो । सञ्चारकर्मीहरूलाई सूचना लिनबाट रोक लगाइएको भन्ने चर्चाप्रति गम्भीर आपत्ति जनाउँदै अर्यालले लोकतन्त्रमा यस्तो कार्य स्वीकार्य नहुने बताउनु भयो ।
३. ललितपुरमा साझा बस निःशुल्क चलाउने मेयर चिरिबाबु महर्जनको प्रश्तावः ‘रातो पुस्तिका’मै बजेट व्यवस्था गर्ने प्रतिवद्धता
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रश्ताव अघि सार्नुभएको छ । साझा यातायातद्वारा सञ्चालित नयाँ रुटको शुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस्तो योजना सुनाउनुभएको हो । मेयर महर्जनले साझा यातायातलाई नेपालकै सबैभन्दा सफल र अनुभवी सार्वजनिक यातायात संस्था भएको बताउनु भयो । उहाँले कुनैपनि योजना शुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने बताउनु भयो । हाल दुईवटा रुटमा शुरु गरिएको सेवाको खर्च शुरुवाती तीन महिना साझा यातायातले नै व्यहोर्ने सहमति भएको छ । त्यसपछि भने सम्बन्धित पालिकाहरूले प्रो–र्याटा (दामासाही) आधारमा खर्च व्यहोर्ने प्रावधान छ । तर मेयर महर्जनले भने तीन महिनापछि सर्वसाधारणबाट शुल्क लिनुको सट्टा महानगरले नै खर्च व्यहोरेर निःशुल्क बनाउनुपर्ने धारणा राख्नुभयो ।
४. राष्ट्रिय आर्थिक गणना शुरुः ७७ वटै जिल्लामा ८४ कार्यालय स्थापना
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज (वैशाख २ गते) देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । आर्थिक क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन र रोजगारी विश्लेषणका लागि महत्वपूर्ण आधार र तथ्याङ्क प्रदान गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले आज एक कार्यक्रमका बीच गणनाको शुभारम्भ गर्दै यसले मुलुकको समग्र आर्थिक निर्णयका लागि ‘मेरुदण्ड’ को रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । डा. पोख्रेलकाअनुसार चैत १ गतेदेखि नै ७७ वटै जिल्लामा आर्थिक गणना कार्यालयहरू स्थापना भइसकेका छन् । काठमाडौँ, मोरङ र रूपन्देही (भैरहवा) जस्ता ठूला जिल्लाहरूमा एकभन्दा बढी कार्यालय गरी देशभर जम्मा ८४ वटा जिल्ला स्तरका गणना कार्यालयहरू सञ्चालनमा छन् । यस गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, सार्वजनिक तथा निजी सबै प्रकारका आर्थिक एकाइहरूलाई समेट्नेछ । विशेष गरी संस्थाहरूको सङ्ख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाह जस्ता विषयहरूमा विस्तृत विवरण सङ्कलन गरिनेछ ।
५. मिथिलाको जुड शीतलः प्रकृति, माटो र सामाजिक सद्भावको अनुपम उत्सव
मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ । मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण पर्व हो । नयाँ वर्षको दोस्रो दिन मनाइने यस पर्वमा उमेरमा सानाहरूलाई ठूला–बडाले टाउकोमा पानी खन्याएर आशीर्वाद दिने र अनुहारमा माटो लगाएर खुशी साटासाट गर्ने परम्परा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाकाअनुसार अनुहारमा लगाइने माटोले कुनै जात, लिङ्ग वा धर्म भन्दैन, यसले केवल सिङ्गो समाजलाई बुझाउँछ । यो पर्वले सामाजिक सद्भाव र समानताको सन्देश दिन्छ । गर्मीयामको शुरुवातसँगै इनार, पोखरी र तलाउहरू सफा गर्ने र जल सञ्चय गर्ने उद्देश्य यस पर्वले बोकेको छ ।
६. भक्तपुरमा सिन्दुरको वर्षा (फोटो फिचर)
नेपाली नयाँ वर्षको आगमनसँगै भक्तपुरमा उत्साहका साथ मनाइने ऐतिहासिक बिस्का जात्राको एउटा मुख्य आकर्षण ‘सिन्दुर जात्रा’ हो । विशेषगरी मध्यपुर थिमिमा मनाइने यो जात्राले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र एकताको समेत सन्देश दिन्छ । ३२ वटा देवीदेवताका खतहरूलाई नगर परिक्रमा गराउँदै सिन्दुरको वर्षा गरेर मनाइने यो जात्रा नेवार समुदायको जीवन्त संस्कृतिको एक उत्कृष्ट उदाहरण हो । सम्पूर्ण वातावरण नारंगी रंगको सिन्दुरले ढाकिएको छ । स्थानीय बासिन्दाहरू परम्परागत पोशाकमा सजिएर, अनुहारभरि सिन्दुर दलेर धिमे र भुष्या जस्ता मौलिक बाजाको तालमा नाचिरहेका छन् । कतै भक्तजनहरूले देवताका खतहरू (पालकी) लाई काँधमा बोकेर गल्ली–गल्ली घुमाइरहेका छन् भने कतै हातमा मशाल र ध्वजापताका लिएर जात्राको रौनकता बढाइरहेका छन् । बालबालिकाको उत्साह र वृद्धहरूको भक्तिभावले यो जात्रा सबै पुस्ताका लागि कति महत्वपूर्ण छ भन्ने प्रष्ट पार्छ ।
७. बोडेमा जिब्रो छेड्ने जात्रा (तस्बिरहरु)
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ उत्साहका साथ मनाइएको छ । यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुख्र्यौली परम्परालाई निरन्तरता दिएका छन् । चैत मसान्तमा शुरु हुने बिस्केट जात्राको विशेष आकर्षणको रूपमा रहेको यो जात्रा हेर्न हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ । जात्राको क्रममा सुजनले करिव १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए । जिब्रो छेड्नु अघि उनले स्थानीय देवीदेवताको पूजा अर्चना गरेका थिए । जिब्रो छेडिसकेपछि उनले काँधमा ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । यो जात्राको आफ्नै ऐतिहासिक र धार्मिक महत्व रहेको छ।
८. नेपाली काँग्रेसद्वारा १५ औँ महाधिवेशनका लागि विभिन्न समिति गठन, गगनलाई असन्तुष्ट पक्षसँग संवादको जिम्मेवारी
नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेकाअनुसार बुधवार बसेको केन्द्रिय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो । पार्टीको १५ औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न र पार्टीभित्र देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । उहाँहरूले पार्टीका पुराना नेताहरू, पूर्व पदाधिकारीहरू सँग संवाद गरी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रवक्ता चालिसेले बताउनु भयो । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठान उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा गठन गर्ने निर्णय गरेको छ । यसले कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने र नेतृत्व विकासका तालिमहरू सञ्चालन गर्नेछ ।
९.नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताउनु भयो । उनीहरू विलासिता मात्र नभइ, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताउनु भयो ।
१०. नेपाल ध्यानको उद्गम बिन्दुः मन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल ध्यानको उद्गम बिन्दु भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा काठमाडौंमा अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पशुपतिनाथ, लुम्बिनी, जनकपुर धामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक सम्पदा, बहुधार्मिक, बहुसांस्कृतिक परम्परा, भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य नै जीवित सभ्यताका सशक्त सेतुहरू भएको मन्त्री पौडेलले बताउनु भयो । मन्त्री पौडेलले नेपाललाई विश्व आरोग्य पर्यटनको केन्द्र बनाउने सरकारको नीतिगत प्राथमिकता रहेको जानकारी दिनुभयो । सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस ईयर’ (आरोग्य वर्ष) को रुपमा मनाउने घोषणा गरेको र यसलाई आर्थिक रुपान्तरणको एजेण्डाको रुपमा अघि बढाइने बताउनु भयो । उहाँले आरोग्यलाई जीवनशैली र संस्कारकै रुपमा विकास गरिने लक्ष्य राखिएको पनि बताउनु भयो । आरोग्य पर्यटनलाई सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, संचार क्षेत्र र विश्व समुदायलाई सामूहिक प्रयासका लागि अपिल गर्नुभयो ।
११. धेरै पक्षमा सुधार आएको छः नेपाली महिला क्रिकेट टोली
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले रुवाण्डमा हुने आइसिसी महिला च्यालेन्ज ट्रफीका जितसहित फर्कने आशा व्यक्त गरेकी छन् । आगामी अप्रिल १३ देखि रुवान्डामा आइसिसी महिला च्यालेन्ज ट्रफीको आयोजना हुँदैछ । उक्त च्यालेन्ज ट्रफीमा नेपालसहित आयोजक रुवाण्डा, इटाली, अमेरिका र भानुआटु गरी पाँच राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार गरेको बिदाइ कार्यक्रमको अवसरमा कप्तान इन्दुले पछिल्लो तयारीमा फिल्डिङ सुधार भएको उल्लेख गर्दै जितसहित फर्कने आशा व्यक्त गरेकी छन् । विपक्षीको खेल रणनीतिबारे नियालेको र त्यहाँको अवस्थामा बारे पनि बुझ्न एकदिन अगाडि जानुले फाइदा हुने उनको विश्वास छ । भारतीय प्रशिक्षक हर्षल पाठकको आगामनपछि नेपाली टोलीमा धेरै आएको कप्तान इन्दुको भनाइ छ । पछिल्ला समय राम्रो राष्ट्रसँग शृंखला खेल्न पाउनु पनि सकरात्मक पक्ष रहेको उनी बताउँछिन् ।
१२. जय ट्रफी खेल्ने ६ टोलीकै टुङ्गो, शुक्रवार उपाधि प्रतिष्पर्धा
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शिर्ष ६ टोलीको टुङ्गो लागेसँगै आगामी सिजन जय ट्रफी (दुई दिवसीय) मेन्स इलाइट कप खेल्ने सबै टोलीको छनोट भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि प्रधानमन्त्री कपका शिर्ष ६ टोलीले आगामी संस्करणदेखि जय ट्रफी खेल्ने घोषणा गरेको थियो । बुधवार लिग चरणको खेल सकिएसँगै आगामी जय ट्रफी खेल्ने ६ वटै टोलीको टुङ्गो लागेको हो । बुधवार भएको लिगको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई एक विकेटले र मधेस प्रदेशले नेपाल पुलिस क्लवलाई चार विकेटले हराए । आर्मीसँगको साँघुरो हारपछि लुम्बिनी प्रदेश छैटौं स्थानमा रहँदै जय ट्रफीमा स्थान बनाउन सफल भयो । समान ९ खेलबाट सामान ९ अंक भएपनि गण्डकी प्रदेशलाई नेट रनरेटमा पछि पार्दै लुम्बिनी जय ट्रफीमा छनोट भएको हो ।
१३. काठमाडौंमा रात्रिकालीन बस सेवा शुरुः विद्यार्थी र श्रमीकका लागि बिहान ४ बजेदेखि बस सेवा सञ्चालनको तयारी
काठमाडौंमा नयाँ वर्षको अवसर पारेर उपत्यकामा रात्रिकालीन बस सेवाको शुभारम्भ भएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो सेवाको शुरुवात गर्दै यसलाई निरन्तरता र विस्तार गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । हाललाई दुईवटा रुटबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य रुटहरूमा पनि विस्तार गरिने डंगोलले बताउनु भयो । रिङरोड र अन्य क्षेत्रमा पनि रात्री सेवाको माग भइरहेको उहाँको भनाइ थियो । रात्री सेवा मात्र नभई बिहान सबेरै काममा जाने श्रमिक र बिहान ६ बजे कलेज जाने विद्यार्थीका लागि साढे ४ देखि ५ बजे नै बस सेवा शुरु गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो । यसका लागि बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिकाले चार्जिङ स्टेशनका लागि ठाउँ उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् ।
१४. काँग्रेसलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्छौं, पुराना अभिलेख हटाइँदैनः महामन्त्री पौडेल
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेवारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्नेकुरामा पार्टी अब प्रविधिमार्फत जानकार रहने उल्लेख गर्नुभयो । सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाउन लागिएको भन्नेकुरा सत्य नरहेको बताउनु भयो । पार्टीभित्रको एकता र अनुशासनका विषयमा चर्चा गर्दै पौडेलले निर्वाचनपछि जनमतको हिसावले पार्टी केही कमजोर देखिएकाले यतिबेला एकताको झन् बढी आवश्यकता रहेको बताउनु भयो ।
१५. ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा काठमाडौंमा बुधवार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जोशीले कम्तीमा १५ लाख नेपालीलाई जहाँ भएपनि कम्तीमा १५ मिनेट आरोग्यका कुनै न कुनै गतिविधिमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले यस अभियानलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यापक बनाउन समेत आग्रह गर्नुभयो । पर्यटन बोर्डले ‘नेपाल वेलनेस इयर २०२७’ का लागि विशेष क्यालेन्डर निर्माण गरिरहेको जानकारी पनि जोशीले दिनुभयो । उहाँले आरोग्य, वेलनेस, स्पा र मेडिटेसन सम्बन्धी काम गरिरहेका व्यक्तित्व तथा संस्थाहरूलाई आफ्ना महत्वपूर्ण कार्यक्रमहरू सो क्यालेण्डरमा समावेश गर्न आग्रह गर्नुभयो ।
१६. अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण झन्डै दुई सय जनाको मृत्यु
अफगानिस्तानमा विगत १८ दिनमा आएको वर्षा र बाढीका कारण झन्डै २०० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले जानकारी दिनुभएको छ । विगत १८ दिनमा भारी वर्षा, हावाहुरी र विनाशकारी बाढीले १ सय ८९ जनाको ज्यान लिएको छ । ९ जना बेपत्ता छन् र अन्य २५३ जना घाइते भएका छन् । आधिकारिक रेडियो र टेलिभिजन अफगानिस्तानले हाफिज मोहम्मद युसुफ हम्मादलाई उद्धृत गर्दै यसबारे जानकारी दिनुभएको हो । अधिकारीकाअनुसार वर्षा र बाढीका कारण कुल १ हजार ३०३ घर ध्वस्त भएका छन् र ५ हजार ८ सय भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । अफगानिस्तानका मुख्य भागहरूमा मार्च २५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी देखिएको छ र मौसम विभागले मंगलबार देशका ३४ मध्ये १४ प्रान्तमा थप वर्षा हुने पूर्वानुमान गरेको छ ।
१७. अमेरिका र इरानबीचको अर्को चरणको वार्ताका लागि आधिकारिक जानकारी छैनः इरानी दुतावास
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि हुने शान्ति वार्ताको आगामी चरण जुनसुकै बेला र जहाँसुकै हुनसक्छ । तर हालसम्म आधिकारिक रूपमा केही तय नभएको पाकिस्तानको इस्लामावादस्थित इरानी दूतावासको स्रोतले जनाएको छ । दूतावासको प्रेस शाखाका प्रमुख हादी गोलरिजले बताएअनुसार वार्ताको अर्को चरणको बारेमा केही सञ्चारमाध्यममा आएका रिपोर्टहरू निराधार छन् । यसअघि मंगलवार रोयटर्सले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी र इरानी वार्ता टोलीहरू यसै हप्ताको अन्त्यमा थप वार्ताका लागि पाकिस्तानी राजधानी फर्कन सक्ने बताएको थियो । दुई पक्षबीचको पछिल्लो चरणको वार्ता कुनै ठोस निष्कर्षविना टुङ्गिएको थियो । इरानको आणविक कार्यक्रमलाई लिएर विवाद कायमै छ ।
१८. अमेरिका र इरानबीचको युद्धविराममा पाकिस्तानले शान्ति प्रयास जारी राख्छः प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको युद्धविराम यथावत रहेको बताउनुभएको छ । साथै उहाँले यस क्षेत्रमा संवाद सहज बनाउन र स्थायी शान्ति प्रवद्र्धन गर्न पाकिस्तानले आफ्ना प्रयासहरू जारी राख्ने समेत उल्लेख गर्नुभयो । संघीय मन्त्रिपरिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै शरीफले आजका दिनमा पनि युद्धविराम कायम रहेको र बाँकी रहेका विवादित विषयहरू समाधानका लागि प्रयासहरू भइरहेका बताउनु भयो । उहाँले हालै सम्पन्न इस्लामावाद वार्तालाई एक ऐतिहासिक क्षणका रूपमा चित्रण गर्दै यसले मडारिरहेको युद्धको बादललाई स्थायी शान्तिमा बदल्ने अवसर प्रदान गरेको बताउनु भयो ।
१९. अमेरिका–इरान वार्ता पुनः शुरु हुने सम्भावनाः राष्ट्रसंघ प्रमुख
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार वासिङ्टन र तेहरानबीचको वार्ता पुनः शुरु हुने उच्च सम्भावना रहेको बताउनुभएको छ । यस संकटको कुनै सैन्य समाधान नभएको पनि बताउनु भयो । शान्ति सम्झौताका लागि निरन्तर संलग्नता र राजनीतिक इच्छाशक्तिको आवश्यकता पर्ने बताउनु भयो । गुटेरेसले मंगलवार नै पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डारसँग भेटवार्ता गरेको उल्लेख गर्नुभयो । यद्यपि भेटको थप विवरण भने उहाँले खुलाउनुभएन । पाकिस्तानले गत सप्ताहान्तमा इस्लामाबादमा अमेरिका र इरानबीचको पछिल्लो चरणको वार्ताको आयोजना गरेको थियो, तर उक्त वार्तामा पक्षहरू कुनै सम्झौतामा पुग्न भने सकेनन् ।
२०. टर्किएमा विद्यालयभित्र गोली चल्दा कम्तीमा १६ घाइते, आक्रमणकारीद्वारा आत्महत्या
स्थानीय सञ्चारमाध्यमकाअनुसार दक्षिण–पूर्वी टर्कीको एक विद्यालयमा मङ्गलवार भएको गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । एक पूर्व विद्यार्थीले शटगनसहित विद्यालय प्रवेश गरी अन्धाधुन्ध गोली चलाएपछि आत्महत्या गरेको बताइएको छ । घाइते हुनेहरूमा अधिकांश विद्यार्थी रहेका छन् । यो घटना दक्षिण–पूर्वी प्रान्त सानलिउर्फाको सिभेरेक जिल्लास्थित अहमद कोयुन्कु भोकेसनल एण्ड टेक्निकल एनाटोलियन हाई स्कूलमा बिहानको समयमा भएको हो । सानलिउर्फाका गभर्नर हसन सिल्डाकका अनुसार सन् २००७ मा जन्मिएका ती बन्दुकधारी पहिले सोही विद्यालयमा अध्ययनरत थिए र पछि खुल्ला उच्च माध्यमिक कार्यक्रममा स्थानान्तरण भएका थिए । उनको कुनै आपराधिक पृष्ठभूमि नरहेको र उनले विद्यालयको करिडोरमा पम्प–एक्शन शटगनबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।
२१. ट्रम्पको दाबीः इरान ‘सम्झौता गर्न निकै उत्सुक छ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई इरानबाट फोन आएको र तेहरान सम्झौता गर्न निकै आतुर रहेको दाबी गर्नुभएको छ । उहाँले द्वन्द्व अन्त्यका लागि वासिङ्टन पनि सम्झौता गर्न उत्सुक रहेको संकेत दिनुभयो । अप्रिल २१ मा युद्धविराम समाप्त हुनुअघि वार्ताका लागि वासिङ्टन सहमत भएको छ कि छैन भन्नेबारे ट्रम्पले खुलासा नगरे पनि अमेरिकी अधिकारी र क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले दुवै पक्षले थप वार्ताका लागि ठाउँ बाँकी राखेको जनाउनु भयो । पाकिस्तान, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरू वार्तालाई पुनर्जीवित गर्न सक्रिय छन् । स्थानीय विश्लेषकहरूका अनुसार वासिङ्टनले इरानलाई युरेनियम संवद्र्धन रोक्न दबाब दिएको छ भने इरानले रोक्का गरिएको कोष फुकुवा र प्रतिबन्धहरूमा व्यापक छुट खोजिरहेको छ ।
२२. बङ्गलादेशमा हर्षोल्लास र परम्पराका साथ बङ्गाली नयाँ वर्ष मनाइयो
बङ्गलादेशले मंगलवार राजधानी ढाका र देशभरका विभिन्न स्थानहरूमा ¥याली, परम्परागत खानपिन र सांस्कृतिक कार्यक्रमहरूका साथ बङ्गाली नयाँ वर्ष १४३३ मनाएको छ । सांस्कृतिक संस्था ‘छायानट’ को साङ्गीतिक प्रश्तुतिसँगै उत्सवको शुरुवात हुँदा सूर्योदयको समयमा ढाका विश्वविद्यालय वरपरको प्रमुख स्थलमा परम्परागत नयाँ पहिरनमा सजिएका हजारौँ मानिसहरू भेला भएका थिए। । यसका अतिरिक्त, समाजका सबै क्षेत्रका मानिसहरू, विशेष गरी कलेज र विश्वविद्यालयका विद्यार्थीहरू सम्मिलित एक जीवन्त जुलुस निकालिएको थियो, जहाँ चरा र जनावरका ठूला बाँसका आकृतिहरू प्रदर्शन गरिएको थियो । बङ्गाली नयाँ वर्षको पहिलो दिन, जसलाई ‘पोहेला वैशाख’ भनिन्छ, बङ्गलादेशमा राष्ट्रिय बिदाको दिन हो । धेरै बङ्गालीहरूले यस दिनको सुरुवात ’पान्ता–भात’ (पानीमा भिजाएको अघिल्लो दिनको भात) र तारेको हिल्सा माछाको परम्परागत खाजाबाट गर्छन् । ढाकाका फेसन हाउस र बुटिकहरूमा परम्परागत लुगाहरूको उत्साहजनक बिक्री देखिएको छ । मानिसहरूले यी लुगाहरू आफ्नो परिवारका लागि मात्र नभई आफन्त र साथीभाइका लागि पनि उपहारस्वरूप किन्ने गर्छन् ।
२३. गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरः नवनियुक्त मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा एमालेका चार÷चार जना मन्त्री छन् । काँग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बन्नुभएको छ । यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री बन्नुभएको छ ।
२४. गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बाध्यकारी होइनः संयोजक खनाल
नेपाली काँग्रेसले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता यदुनाथ खनालले आयोगको प्रतिवेदन बाध्यकारी नभएको बताउनुभएको छ । समितिले तयार पारेको प्रतिवेदन बुधवार काँग्रेसलाई बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयोगका प्रतिवेदन बाध्यकारी नभई कार्यकारी प्रकृतिको हुने र प्रतिवेदनको आधारमा स्वतः मुद्दा चलाउने अधिकार नहुने बताउनु भयो । उहाँले आयोगसम्बन्धी विषयमा सर्वोच्च अदालतबाट यसअघि २०५२, २०६२, २०६४ र २०८२ मा भएका चार वटा फैसलाहरू भएको बताउनु भयो । ती फैसलाअनुसार यस्ता आयोगका प्रतिवेदन बाध्यकारी नभई कार्यकारी प्रकृतिका हुने र तिनले स्वतः मुद्दा चलाउने अधिकार नहुने कुरा समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको बताउनु भयो । समितिले सर्वोच्चका फैसला र नजीरहरूलाई आधार बनाएर टिपोटसहित विस्तृत अध्ययन प्रतिवेदन पार्टीलाई बुझाएको उहाँले जानकारी दिनुभयो ।
२५. प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठक सिंहदबारमा जारी
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठक सिंहदबारमा शुरु भएको छ । प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्नका लागि बुधवार बैठक बसेको हो । प्रतिनिधि सभा सदस्य गणेश पराजुलीको संयोजकत्वमा १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । समितिले कानूनविद्, संविधानविद् र संसदीय अभ्यासकर्ताहरुसँग छलफल गरी नयाँ नियमावाली बनाउनेछ । यसअघि समितिको सोमवार बसेको बैठकमा महाअभियोग सम्बन्धि प्रावधान तथा प्रतिनिधि सभा समितिहरु गठन गर्ने प्रक्रियाहरुको विषयमा छलफल भएको थियो । तर टुंगोमा पुग्न सकेको थिएन । समितिले कार्य प्रारम्भ भएको १५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिनिधि सभाको गत चैत्र २३ गते बसेको बैठकले नयाँ नियमावली तर्जुमा गर्नका लागि पराजुली संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो ।
२६. प्रतिनिधि सभा नियमावलीमा समिति गठन प्रक्रिया र कार्यक्षेत्रका विषय टुंग्याइयो
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका समिति गठन प्रक्रिया र त्यसको कार्यक्षेत्रका विषयलाई टुंगोमा पु¥याएको छ । बुधवार सिंहदरबारमा बसेको बैठकले समितिहरू गठन प्रक्रिया र कार्यक्षेत्र सम्बन्धी विषयलाई टुंगोमा पु¥याएको समितिका संयोजक गणेश पराजुलीले जानकारी दिनुभएको हो । उहाँकाअनुसार समितिको बैठकमा नियमावलीको परिच्छेद २१ अन्तर्गत प्रतिनिधि सभाका विभिन्न समितिहरूको गठन विधि, अधिकार क्षेत्र तथा जिम्मेवारीबारे व्यापक छलफल भएको थियो । बैठकमा व्यवस्थापिका र कार्यपालिकाबीचको भुमिकालाई स्पष्ट बनाउने, पारस्परिक उत्तरदायित्व सुदृढ गर्ने तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । अधिकांश विषयमा सहमति नजिक पुगेको उहाँले बताउनु भयो ।
२७. सानेपामा काँग्रेस कार्यसम्पादन समिति बैठक जारी, यि हुन् बैठकका एजेण्डा
नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठकमा ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा बुधवार बसेको बैठकमा समसामयिक राजनीतिक मुद्दादेखि संगठनात्मक पुनर्संरचनासम्मका विषयमा छलफल भइरहेको छ । बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन पेश गर्नुभएको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । काँग्रेसले खनालको संयोकत्वमा चैत १९ गते कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन अध्ययन समिति गठन गरेको थियो । जेन–जी आन्दोलनका घटनाका जाँचबुझ गर्न तत्कालिन सरकारले कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगले तयार पारेको प्रतिवेदन अपुरो र एकतर्फी रहेको भन्दै आलोचना भइरहेको छ ।
२८. काँग्रेस केन्द्रिय अनुशासन समिति बैठक शुरु
नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिको बैठक शुरु भएको छ । निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएपछि स्पष्टिकरण लिने योजनासहित सो बैठक बोलाइएको हो । पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा तत्कालिन कार्यवाहक सभापति समेत रहनुभएका खड्कालाई स्पष्टिकरण सोध्ने विषयमा छलफल हुने बताइएको छ । नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो । खड्काले गत सोमवार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाउनुभएको थियो ।
२९. पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने काँग्रेसको निर्णय
नेपाली काँग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बुधवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले पार्टीको विधान विपरित प्रेस विज्ञप्ती जारी गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । चैत्र १४ गते जारी गरिएको अनधिकृत प्रेस विज्ञप्तीबारे सचेत गराउँदा गराउँदै फेरि चैत्र ३० गते पनि अर्को अनधिकृत प्रेस विज्ञप्ती जारी गरेकाले नेता खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो ।
३०. प्रधानमन्त्री साहद्वारा सामानुपातिक सांसदहरुसँग सामूहिक भेट
प्रधानमन्त्री बालेन्द्र साहले संघीय संसदमा समानुपातिक सांसदहरुसँग सामूहिक भेट गर्नुभएको छ । प्रतिनिधि सभाका प्रत्यक्षतर्फका सांसदहरुलाई मात्रै भेट दिएपछि आफ्नो आलोचना भइरहेका बेला बुधवार उहाँले समानुपातिकतर्फका सांसदहरुसँग पनि भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्री साहले मुलुकमा विद्यमान समस्या र त्यसका निकासका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा उहाँले आफूहरुसँग जिज्ञासा राख्नुभएको भेटमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले जानकारी दिनुभयो । भेटमा उहाँले जनताको आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, क्यान्सर रोग पीडितका लागि विशेष व्यवस्था गर्नुपर्नेलगायका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो ।
३१. निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि अख्तियार प्रवेश गर्दै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानविन गर्ने तयारी गरेको छ । निजी क्षेत्रका हरेक क्रियाकलापहरुमा सुशासन प्रत्याभुती गराउने उद्देश्यले अख्तियारले व्यवसायीक कारोबारमाथि समेत छानविन गर्ने तयारी गरेको हो । अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२÷८३ – २०८७÷८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्शानी भएको वा अनुचित लाभ लिए दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्चाउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्थामा सुधार गरिनेछ । त्यसका लागि सहकारी क्षेत्र र पब्लिक वा प्राइभेट कम्पनी वा अन्य कुनै निजी सङ्घ, संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ ।
३२. राष्ट्रिय आर्थिक गणनाका लागि देशभर ४ हजार गणक परिचालन
बुधवारदेखि शुरु भएको राष्ट्रिय आर्थिक गणनाका लागि देशभर ४ हजार गणक परिचालन गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले करिब ४ हजार गणकहरूलाई कार्यक्षेत्रमा परिचालन गरिएको र यो गणना आगामी दुई महिना सात दिनसम्म निरन्तर चल्ने बताउनु भयो । उहाँकाअनुसार नेपालको भूगोलभित्र रहेका वस्तु तथा सेवा उत्पादन गर्ने, वितरण गर्ने र आर्थिक कारोबार गर्ने सबै प्रकारका स्थायी प्रतिष्ठानहरू गणनामा समेटिनेछन् । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नाराका साथ सुरु गरिएको यस गणनाले संघीय, प्रादेशिक र स्थानीय तहसम्मको अर्थतन्त्रको आकार पत्ता लगाउन मद्दत गर्ने प्रवक्ता लामिछानेले बताउनु भयो । उहाँकाअनुसार राज्यले लिने नीति योजनालाई साकार बनाउन यो सर्वेक्षण थालिएको हो । यो गणना लगानीका क्षेत्रहरु पहिचान गर्न पनि महत्वपूर्ण हुनेछ ।
३३. २०६२/६३ देखिका उच्च राजनीतिक पदधारीको सम्पती छानबिन गरिने, सरकारद्वारा समिति गठनको तयारी
सरकारले वि.सं. २०६२÷६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । मन्त्री पोखरेलले हालै सार्वजनिक भएको मन्त्रिपरिषद् सदस्यहरूको सम्पती विवरणका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै सम्पतीको स्रोतका बारेमा धेरैले विवरणमै उल्लेख गरिसकेको स्पष्ट पार्नुभयो । सरकारले यस प्रक्रियालाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री पोखरेलले यो चरण सकिएपछि वि.सं. २०४६ सालदेखिकै सम्पती छानबिन गर्ने लक्ष्य रहेको समेत बताउनु भयो । समितिको कार्यविधि र समयावधिका बारेमा थप जानकारी छिट्टै सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
३४. पूर्वन्यायाधीश भण्डाीको संयोजकत्वमा सम्पती जाँचबुझ छानबिन आयोग गठन
सरकारले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पती विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पती जाँचबुझ छानबिन आयोग गठन गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनुभएको हो । उहाँकाअनुसार सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको विक्रम संवत २०६२,६३ देखि हाल २०८२,८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पती विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij