२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । नेपालका पूर्वमन्त्री तथा माओवादी नेता सुदन किरातीले हालै सार्वजनिक भएको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमाथि व्यङ्ग्य गर्दै "गरिबको भोट, धनीको शासन" भन्ने टिप्पणी गरेका छन्।
किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, गरिबको भोटमाथि धनीको शासन, स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन् त्यसैले होला लाखौं युवाहरु सम्पत्ति कमाउन विदेश गइरहेका छन् । तर, केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणबाट स्पष्ट हुन्छ । एक जना भुक्तभोगीले भन्थे, अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैले गडबडी गरेको हुनुपर्छ ।
किरातीले स्वदेशमा कमाउने अवसर नभएर लाखौँ युवा विदेश पलायन भइरहेको बेला केही व्यक्तिले नेपालमै कसरी यति धेरै सम्पत्ति थुपारे भन्नेमा आश्चर्य प्रकट गरेका छन्। उनले एक भुक्तभोगीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘अत्यधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैँले गडबडी गरेको हुनुपर्छ।’
सम्पत्ति विवरण बुझाउँदा नियमअनुसार स्रोत खुल्नुपर्ने उल्लेख गर्दै उनले ती मन्त्रीहरूले राज्यलाई कर तिरेका छन् कि छैनन् भन्दै प्रश्न गरेका छन्। किरातीले हदबन्दीभन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुनअनुसार कारबाही गर्न बालेन शाह नेतृत्वको सरकारलाई समेत आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij