Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक


  • 680
    Shares

    राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर सो तथ्याङ्क प्रकाशन गरेको जनाएको छ ।

    बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट सङ्कलित तथ्याङ्कका आधारमा घरजग्गा कारोबारसम्बन्धी विवरण अब त्रैमासिक रूपमा सार्वजनिक गरिनेछ ।

    राष्ट्र बैंकले लिखत पारितअन्तर्गत राजीनामा कारोबारका आधारमा प्रवृत्तिको विश्लेषण गरेको छ । कारोबार सङ्ख्या, कारोबार मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन तथा घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जाजस्ता सूचकहरूलाई आधार मानेर विश्लेषण गरिएको बैंकले जनाएको छ ।

    तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ । प्रदेशगत रूपमा हेर्दा कारोबार सङ्ख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार सबैभन्दा कम देखिएको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा सबैभन्दा बढी रहेको छ । जग्गाको प्लट साइजका आधारमा मधेस प्रदेशबाहेक अन्य प्रदेशहरूमा दुई दशमलव पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू बढी किनबेच हुने गरेको पाइएको छ । तर मधेस प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूमा बढी कारोबार हुने देखिएको छ ।

    घोषित मूल्यका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ भने महानगर तथा उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू बढी कारोबार भएको देखिएको छ । बैंकका अनुसार आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको छ ।

    घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढाव देखिएको छ । आव २०७८/७९ को पहिलो त्रैमासमा करिब २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा आठ अर्ब २० करोड रुपैयाँमा झरेको थियो । पछिल्लो अवधिमा भने सुधार हुँदै २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।

    राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रकाशनबाट रियलस्टेट क्षेत्रको गतिविधि आँकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, उक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत भइरहेको जनाएको छ ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १४:५९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij