२०८२ चैत्र २९ गते आइतवार
१. होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित
होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सिँगो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिष्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताउनु भयो ।
२. सुदूरपश्चिमको फाइनलमा सम्भावना बलियो
शिर्ष दुई स्थानमा रहन जित्नैपर्ने खेलमा सुदूरपश्चिम प्रदेशले सफलता निकाल्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जनकपुरमा आईतवार भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५६ रनको जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नारायण जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम लिगको अन्तिम खेलमा जितसँगै लिगको दोस्रो स्थानमा उक्लियो । सुदूरपश्चिमले पुलिसलाई हराएसँगै शीर्ष स्थानको आर्मी दुई खेलअगावै फाइनलमा पुगेको छ । यो हारसँगै शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने पुलिसको सम्भावना एक खेलअगावै समाप्त भएको छ । पुलिसले लिगको अन्तिम खेलमा मधेस प्रदेशसँग खेल्नेछ । यो खेलमा जितले पनि पुलिसलाई शिर्ष दुई स्थानमा पुग्न पर्याप्त हुने छैन । सात खेलबाट आर्मीको १३ अंकसहित शीर्ष स्थानमा छ ।
३. रग्बी सेभेन्समा एपिएफ पुरुषमा र आर्मी महिलामा च्याम्पियन
अपराजित रहँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लव र त्रिभूवन आर्मी क्लव पुरुष तथा महिला राष्ट्रिय रग्बी सेभेन्समा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा एपिएफ पुरुषमा र आर्मी महिलामा अपराजित रहँदै च्याम्पियन भएका हुन् । महिलातर्पm भएको फाइनलमा आर्मीले एपिएफलाई २२–१२ अंकले हरायो । यी दुई बीच लिगचरणमा पनि भेट भएको थियो । उक्त भेटमा पनि आर्मीले एपिएफलाई १४–५ अंकले हराएको थियो । जुन लय फाइनलमा पनि जारी राख्दा आर्मी अपराजित रहँदै च्याम्पियन भयो । पुरुषतर्पm एपिएफ विभागीय प्रतिद्वन्द्वी आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
४. प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आईतवार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रश्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् । बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ । यो समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तिब्र रूपमा अगाडि बढेको छ ।
५. चिकित्सकलाई पनि हप्तामा दुई दिन बिदा चाहिन्छ, सरकारको ‘पेल्ने’ नीति मान्दैनौँः डा. बद्री रिजाल
नेपाल चिकित्सक संघले सरकारले गरेको हप्तामा दुई दिन बिदा दिने निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता अर्थोपेडिक सर्जन प्राध्यापक डा. बद्री रिजालले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्य र ‘बर्नआउट’ को समस्यालाई मध्यनजर गर्दै दुई दिने बिदा अनिवार्य रहेको बताउनुभएको हो । सरकारले इन्धनको खपत घटाउन शनिवार र आईतवार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई पत्र लेख्दै आईतवार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारको निर्णय सबै कर्मचारीका लागि समान हुनुपर्ने बताउनु भयो । अस्पतालै पिच्छे बिदा र समयको फरक–फरक नियम हुँदा अन्योल बढेको भन्दै डा. रिजालले सरकारलाई तत्काल सरोकारवालासँग वार्ता गर्न आग्रह गर्नुभयो ।
६. ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार
अत्याधुनिक प्रदर्शनी केन्द्रदेखि ‘उज्यालो पोखरा’ सम्मः पोखरा अब आधुनिक र सुरक्षित शहर
पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताउनु भयो । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो । यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने मेयर आचार्यको भनाइ छ । जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्नेछ । यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उहाँले बताउनु भयो । त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ । लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ । पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताउनु भयो ।
७. अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताउनुभएको छ । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्नुभयो । इरानलाई जसरी पनि जित्ने उहाँको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेका बताउनु भयो । सायद पानीमा केही माइनहरू बाँकी रहेको उहाँको भनाइ छ । अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको बताउनु भयो ।
८. इरान वार्ताप्रति जिम्मेवार दृष्टिकोण अपनाउन रुसको आग्रह
रुसी विदेश मन्त्रालयले शुक्रवार अमेरिका र इरानबीचको वार्ताका सहभागीहरूलाई जिम्मेवार दृष्टिकोण अपनाउन र शान्तिको सम्भावनालाई कमजोर पार्ने खालका गतिविधिहरू नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फारसको खाडीमा व्याप्त तनाव समाधान गर्ने अवसर सिर्जना भएको उल्लेख गरेको छ । धेरैजसो देशहरूले यस प्रक्रियालाई समर्थन गरेको र इस्लामावाद वार्ता सफल हुने अपेक्षा गरेको पनि विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले शान्ति प्रक्रियामा अवरोध पु¥याउने र बाधा खडा गर्ने शक्तिहरूप्रति चेतावनी दिएको छ । यसमा इरानविरुद्ध आक्रामकता फैलाउने र पछि हर्मुज जलसन्धिमार्फत हुने जहाज ढुवानीमा अवरोध आएको भन्दै तेहरानलाई दोष लगाउने पक्षहरू सामेल रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
९.इस्लामावाद वार्तामा कुनै सहमति भएनः भेन्स
इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ । सघन संलग्नताका बाबजुद कुनै ठोस उपलब्धि बिना नै वार्ता टुङ्गिएको हो । भेन्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेश गरेको बताउनु भयो । छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रश्तावले अझै स्वीकृति पाउन नसकेको उहाँको भनाइ छ ।
१०. क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन
शनिवार इटालीको राजधानी रोममा सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् । क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा छ । प्रदर्शनकारीहरूले ऐतिहासिक कोलोसियमबाट पियाजाले ओस्टिएन्सेसम्म मार्च गरेका थिए । उनीहरूले ‘क्युवा एक्लो छैन’ र ‘क्युवा विरुद्धको अमेरिकी नाकाबन्दी बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । मार्चका क्रममा क्युवाली झण्डाहरू फहराउँदै अमेरिकी नीतिको कडा निन्दा गरिएको थियो ।
११. नासाको आर्टेमिस आइआइ दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण
चन्द्रमाको वरिपरि १० दिने मिसन पूरा गरी चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । अमेरिकी राष्ट्रिय एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले जनाएको छ । ओरियन क्याप्सुल स्थानीय समयअनुसार १७ः०७ (शनिवार) मा क्यालिफोर्नियाको स्यान डिएगो तटबाट करिव ९६ किलोमिटर टाढा प्रशान्त महासागरमा अवतरण भयो । यो १९७२ मा एपोलो १७ पछिको पहिलो मानवसहितको चन्द्र अभियान थियो । अवतरण पछि आर्टेमिस आइआइ कमाण्डर रीड वाइजम्यानले सबै चार चालक दलका सदस्यहरू राम्रो अवस्थामा रहेको बताउनु भयो ।
१३. मध्य गाजाको सुरक्षा चेकपोस्टमा इजरायली हवाई आक्रमण, ६ प्यालेस्टिनीको मृत्यु
प्यालेस्टिनी स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार शनिवार मध्य गाजाको बुरीज शरणार्थी शिविरमा रहेको प्यालेस्टिनी प्रहरी चेकपोस्टलाई निशाना बनाएर गरिएको इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ । दिर अल–बलाहस्थित अल–अक्सा अस्पतालका प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जानकारी दिएअनुसार एम्बुलेन्सहरूले आक्रमणमा मारिएका कम्तीमा ६ जनाको शव र केही घाइतेहरूलाई अस्पताल पु¥याएका छन् । यस घटनाबारे इजरायली सेना वा हमासबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । गाजामा हमासद्वारा सञ्चालित गृह प्रशासनले पछिल्ला महिनाहरूमा चेकपोस्टहरू स्थापना गरेर र आफ्ना केही सुरक्षा मुख्यालयहरूको मर्मत गरी यस क्षेत्रमा आफ्ना गतिविधिहरू बिस्तारै पुनः सुरु गरिरहेको छ ।
१४. लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या मार्च २ देखि १ हजार ९ सय ५३ पुग्यो
लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेदेखि लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९ सय ५३ पुगेको छ । ६ हजार ३ सय ३ जना घाइते भएका छन् । मन्त्रालयकाअनुसार गत बुधवार मात्रै लेबनानमा भएको इजरायली आक्रमणमा ३५७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय २३ जना घाइते भएका छन् । जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै उद्धार टोलीले भग्नावशेष हटाउने र मानव अवशेषहरू संकलन गर्ने कार्य जारी राखेकाले यो तथ्याङ्क प्रारम्भिक रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ कि ठूलो संख्यामा पहिचान नभएका शरीरका अंगहरूको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्न समय लाग्ने भएकाले अन्तिम संख्या निर्धारण गर्न केही समय लाग्नेछ । स्थानीय सञ्चारमाध्यम र घटनास्थलका फुटेजहरूका अनुसार इजरायलले बिहीवार दक्षिण लेबनानका विभिन्न स्थानमा थप भारी हवाई आक्रमण गरेको छ ।
१५. लेबनानमा इजरायली हवाई आक्रमणमा १२ सुरक्षाकर्मीसहित १९ जनाको मृत्यु
दक्षिणी र पूर्वी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणको श्रृंखलामा १२ लेबनानी राज्य सुरक्षा सदस्यसहित १९ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् । आधिकारिक स्रोतहरूकाअनुसार लेबनानको नेशनल न्युज एजेन्सीले नबातियह शहरमा वर्तमान युद्ध शुरु भएदेखि यताकै सबैभन्दा तिब्र आक्रमण भएको रिपोर्ट गरेको छ । इजरायली युद्धविमानहरूले धेरै टोल र सडकहरूलाई निशाना बनाएर भारी बमबारी गर्दा व्यापक भौतिक क्षति पुगेको छ । सरकारी भवन नजिकै भएको आक्रमणले भवनहरू ध्वस्त पारेको छ र मानवीय क्षति निम्त्याएको छ । लेबनानी राष्ट्रपति कार्यालयका अनुसार प्रारम्भिक गणनामा आक्रमणका क्रममा १२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ । उद्धार टोलीहरूले घाइतेहरूलाई अस्पताल पु¥याएका छन् र भग्नावशेषमुनि खोजी कार्य जारी राखेका छन् ।
१६. नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल घटाउन आवश्यकः स्वास्थ्य सचिव देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको बताउनु भयो । तथ्यमा आधारित निर्णय प्रक्रियाले मात्र स्वास्थ्य सेवामा सुधार सम्भव हुने उहाँको भनाइ छ । उहाँले सुशासनसँग जोडिएर निति नियम निर्माण गर्ने र त्यसको कार्यन्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
१७. नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना छः मन्त्री चौधरी
वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ । वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताउनु भयो । उहाँले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो । उहाँकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईककमा पु¥याउन सहयोग पुग्नेछ । उहाँले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताउनु भयो ।
१८. प्रतिनिधि सभा नियमावली मस्यौदा समितिः महाअिभयोग प्रक्रियालाई थप स्पष्ट बनाइँदै, कानून निर्माण प्रक्रियामा समय सीमा
प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिले विधेयक दर्ता तथा सभामा विधेयकमाथि छलफलको समय निर्धारण, महाअभियोग प्रश्ताव तथा संविधान संशोधनसम्बन्धी प्रावधानहरूमा पुनरावलोकन शुरु गरेको छ । आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा यी विषयमा छलफल भएको मस्यौदा समितिका सदस्यहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नियमावली मस्यौदा समितिकी सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले विधेयक दर्ताअघि र पछि कति समय दिने ? सरकारी तथा गैरसरकारी विधेयकसम्बन्धीको व्यवस्थाका विषयमा छलफल भएको बताउनु भयो । विधेयक दर्ता र छलफलसम्बन्धी प्रावधान प्रतिनिधि सभा नियमावली, २०७९को १५ देखि १८ परिच्छेदमा रहेको छ । उहाँले महाअभियोग प्रश्ताव र संविधान संशोधन प्रक्रियालाई थप स्पष्ट र छरितो बनाउने गरी बैठकमा छलफल भएको बताउनु भयो ।
१९. बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने सरकारको तयारी
सरकारले बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने प्रश्ताव गरेको छ । आईतवार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धि ऐन, २०७५ तथा नियमावली, २०७८ संशोधन सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सो जानकारी दिनुभएको हो । उच्च अदालतमा पुनरावेदनमा जान सक्ने गरी सो सम्बन्धि मुद्दा बाल अदालतमा नै हेर्ने व्यवस्था गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी सो सम्बन्धि संशोधन प्रश्तावमा कुनै व्यक्ति वा संस्थाले झुटो विवरण पेश गरी बालबालिकालाई बाल गृहमा राखेको पाइएमा प्रतिबालिबालिका ५० हजार जरिवाना गर्ने व्यवस्था पनि गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाले सो सम्बन्धि प्रस्तावमा आफ्नो राय, सुझाव दिनका लागि विज्ञहरुलाई आग्रह समेत गर्र्नुभयो ।
२०. अप्रत्याशित मूल्यवृद्धि र सामग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्थामाः अध्यक्ष पाण्डे
नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित रूपमा भइरहेको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढाउन नसकिने स्थिति आएको बताएको छ । महासंघका अध्यक्ष निकोलस पाण्डेले वर्तमान परिस्थितिमा काम जारी राख्नु ‘अप्ठ्यारो मात्र नभई असम्भव’ जस्तै भएको बताउनुभएको हो । अध्यक्ष पाण्डेकाअनुसार सडक निर्माणका आयोजनाहरूमा पेट्रोलियमजन्य पदार्थ (बिटुमिन, केरोसिन, र डिजेल) को मात्रै ४० प्रतिशत ‘वेटेज’ रहने गर्दछ । तर, हाल डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको र त्यो पनि बजारमा सर्वसुलभ उपलब्ध हुन नसक्दा निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको बताउनु भयो । उहाँकाअनुसार एकातिर अहिले इन्धनसहित निर्माणजन्य वस्तु पाउन समेत कठिन भइरहेको छ ।
२१. गृहहमन्त्री गुरुङसँग व्यवसायीले मागे निर्माण आयोजनाको सुरक्षा, अस्वभाविक धम्कीले आयोजना प्रभावित हुने गरेको गुनासो
निर्माणाधिन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्कनुभएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरुले सुरक्षा माग गरेका छन् । ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले मन्त्रीसँग देशैभरका आयोजनामा सुरक्षा माग गर्नुभएको हो । उपाध्यक्ष खड्काले निर्माणाधिन नागढुंगा–नौबिसे सडकखण्डमा ठेक्का लिएर काम गर्दै आइरहनुभएको छ । आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारवाही गर्न माग गर्नुभयो । निर्माणाधिन नागढुंगा–मुग्लिङसडकमा काम गरिरहनुभएका खड्काले निर्माण सम्पन्न भएर हस्तान्तरण भएको ५ वर्षसम्म मर्मतको जिम्मेवारी निर्माण कम्पनीको रहने जानकारी गराउनु भयो । सडक निर्माणमा गुणस्तरीयता कायम गर्न फास्टट्रयाकबाट निर्माण सामाग्री ल्याएर काम गर्नुपरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij