२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाल बार एशोसियशनले प्रतिनिधिसभा विघटनको निर्णय अविलम्ब खारेज गर्न माग गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले गरेको विघटनको निर्णयलाई असंवैधानिक भन्दै बारले आपत्ति जनाएको हो ।
‘नेपालको संविधानले निर्देशित गरेका प्रक्रिया अवलम्वन गरी संवैधानिक संकटको समाधान तथा निकास दिनु पर्नेमा सो प्रक्रिया नै पूरा नगरी संविधान विपरित प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनको मिति तोक्ने जेठ ८ गते मध्यरातको निर्णय प्रति नेपाल बार एशोसियशन गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्य बोकेका राष्ट्रपतिबाट संसद विघटन गरी यस्तो महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा असंवैधानिक भएको बारको ठहर छ ।
यस किसिमका असंवैधानिक कार्यले संवैधानिक सर्वोच्चता विधिको शासन तथा मानव अधिकारसमेतको हनन भई संविधान नै संकटमा परेको बताएको छ ।
यस्तै बारले प्रधानमन्त्री ओलीले राजीनामा नगरी अर्को सरकार गठनका लागि आह्वान गर्नु नै असंवैधानिक भनेको छ । राष्ट्रपतिले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले गरेको दाबीलाई अनदेखा गरी केपी ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिएर बदनियत गरेको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा छल्नका लागि विघटन गरी अध्यादेशबाट देश चलाउन खोजेको कार्य असंवैधानिक, अलोकतान्त्रिक कार्य हो भनी नेपाल बार एशोसियशन ठहर गर्दछ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij