२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुबीकुमारीलाई समर्थन गर्ने जानकारी गराएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रमेश मल्लले उपसभामुख पनि सर्वसम्मत रूपमा निर्वाचित गर्न सकेको भए राम्रो सन्देश जाने बताए।
उनले भने, ‘हाम्रो दलको तर्फबाट हामीले यो विचार अगाडि सारेका थियौँ। तर यो सम्भव भएन। राजनीतिमा मूल्यका प्रश्नहरू उठेका छन्। यी विषयवस्तुहरूमा सम्भवतः सम्बन्धित माननीयज्यूहरूले नै आफ्नो ठाउँमा गम्भीरतापूर्वक लिनुहुनेछ किरु पक्कै पनि राजनीतिमा मूल्यको धेरै ठूलो महत्त्व हुन्छ। इमानको धेरै ठुलो महत्त्व हुन्छ।’
उनले मधेशको छोरी, एउटा नवयुवा, जेनजी समूहभित्रकी रुबीकुमारी उपसभामुख बन्दा लोकतन्त्रको सर्भिसिङ हुने उनले बताए।
उनले थपे, ‘हाम्रो दलको तर्फबाट उहाँलाई समर्थन गर्ने हाम्रो निर्णय भएको छ। हामी संसदमा प्रतिपक्षको बेन्चमा छौँ। पक्कै पनि हामीले भन्ने गरेका छौँ, सरकारले यदि पछिल्ला आन्दोलनका भावनाहरु अनुसार नै आफूलाई अगाडि लिएर बढ्यो र साँच्चै लोकतन्त्रको सर्भिसिङ गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने दिशामा आफूलाई खरो रूपमा उभिँदै अगाडि बढ्यो भने हाम्रो तर्फबाट समर्थन रचनात्मक ढङ्गले रहनेछ।’
लोकतन्त्रका मूल्य कतै अंकुश लगाउने कोसिस भए दृढतापूर्वक त्यसका विरुद्धमा उभिने बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij