Logo

२०८२ चैत्र २६ गते बिहिवार

२०८२ चैत्र २६ गते बिहिवार

ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ


  • 239
    Shares

    ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन्।

    पक्राउ परेको तेह्रौँ दिन बिहीबार बिहान हाजिरी जमानीमा रिहा भएपछि ओलीले सामाजिक सञ्जालमार्फत आफू छुटेको जानकारी गराएका हुन्।  यस क्रममा ओलीले आफूलाई ‘गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको’ दाबी पनि गरेका छन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।’

    ओलीले आफ्नो पक्राउ गैरकानुनी दाबी गरे सर्वोच्च अदालतले भने उनको हिरासतलाई कानुनसम्मत नै ठहर गरेको छ।

    सर्वोच्चको आदेशमा भनिएको छ, ‘अनुसन्धान तहकिकातको मिसिलबाट देखिएको स्थितिमा फौजदारी कसुरको अनुसन्धान तहकिकातको सिलसिलामा अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानुन प्रतिकूल भन्न नमिल्ने हुँदा निवेदन दाबीअनुसार यी रिट निवेदकहरूको थुना गैरकानुनी देखिन नआएकोले निवेदन मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन।’

    यस्तै ओलीले हिरासमुक्त भए पनि उपचार जारी नै रहेकाले आफू अझै केही दिन त्रिवि शिक्षण अस्पतालमै रहने जानकारी पनि गराएका छन्। 

    गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा ओलीलाई यही चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो। त्यसलगत्तै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओली स्वास्थ्यमा समस्या देखिएपछि त्यही दिनदेखि अस्पतालमै छन्। 

    उनले लेखेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’

    kp_wU9om8IDoX.png

    images
    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - १४:०५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij