Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

आज दिनभरको ४० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ४० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 190
    Shares

    आज दिनभरको ४० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र प्रोत्साहन दिनुपर्ने बताउनुभएको छ । तयारी पोशाक निर्यातकर्ता संघ नेपालले आयोजना गरेको ‘एलडिसी ग्रेजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको ७० प्रतिशत उपभोग आयातमा निर्भर रहेको तथ्यलाई चुनौती नभई ठूलो अवसरका रूपमा लिनुपर्ने बताउनु भयो । कुनै समय १ हजार २ सय ५० को हाराहारीमा रहेका गार्मेन्ट उद्योगहरू अहिले घटेर १०० मा खुम्चिएकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले यस क्षेत्रको विकासका लागि एकीकृत सोच आवश्यक रहेको औंल्याउनु भयो । उहाँले ‘फार्म टु फरेन’सम्मको यात्रालाई जोड्न पाँच ‘एफ’ को अवधारणा अघि सार्नुभयो । 

    २. प्रधानमन्त्री साहद्वारा विदेशी राजदुतहरुसँग छलफल

    प्रधानमन्त्री बालेन्द्र साहले विदेशी राजदुतहरुसँग छलफल गर्नुभएको छ । साह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदुतहरुसँग सामुहिक छलफल गर्नुभएको हो । मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदुतहरुसँग प्रधानमन्त्री साहले छलफल गर्नुभयो । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री साहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

    ३. कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा पनि नेपाल अझै रिकभरीको चरणमै रहेको बताउनुभएको छ । उहाँकाअनुसार सन् २०२५ मा विश्व पर्यटन कोभिड अघिको अवस्था भन्दा करिव ४ प्रतिशतले वृद्धि भइसकेको छ । तर नेपाल भने अझै २ प्रतिशतले पछाडि रहेको छ । उहाँले सन् २०२६ मा पनि नेपालले पूर्ण रिकभरी गर्न नसक्ने अवस्थामा आईपुगेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरेको थियो । सोहीअनुसार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर ‘जेन–जी मुभमेण्ट’ र दशैं–तिहारको समयमा भएका प्राकृतिक विपद् (बाढी–पहिरो) र त्यसका कारण सडक अवरोध तथा उडान रद्ध हुँदा पर्यटन क्षेत्रमा असर परेको उहाँले बताउनु भयो । पर्यटन आगमनले कमजोर देखिएपनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उहाँको भनाई छ । विशेषगरी कोभिडपछि होटल तथा रिसोर्ट क्षेत्रमा ठूलो लगानी भित्रिएको छ । उहाँकाअनुसार कोभिडअघि करिव १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन् । साथै अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेग्मेन्टमा समेत विस्तार भएको उहाँले जानकारी दिनुभयो । 

    ४. औषधिको मूल्यवृद्धिमा अर्बौंको घोटालाः सांसद खत्रीद्वारा छानबिनको माग

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनाधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले वर्षेनी अर्बौंको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गर्नुभएको छ । संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताउनुभएको हो । प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०७६÷०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा १ सय ९० वटा ब्राण्डका औषधिमध्ये ८८ वटामा करिव ३४ प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाइएको छ । यसरी बढाइएको मूल्य सम्बन्धित देशले तोकेको मूल्यभन्दा पनि बढी रहेको खत्रीले उल्लेख गर्नुभयो । औषधि ऐन, २०३५ अनुसार कुनैपनि औषधिको मूल्य तोक्न वा वृद्धि गर्न औषधि मूल्य अनुगमन समितिले परामर्श परिषद्लाई सिफारिस गर्नुपर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था छ । 

    ५. एलडीसी स्तरोन्नति दुई वर्ष सार्नुपर्छ, हामी अझै तयार छैनौंः उपाध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अल्पविकसित मुलुक (एलडीसी) बाट हुने स्तरोन्नतिलाई दुई वर्ष पछि सार्नुपर्ने बताउनुभएको छ । राजनीतिक अस्थिरता र आन्तरिक तयारीको अभावका कारण तोकिएको समयमा स्तरोन्नति हुँदा निजी क्षेत्र र समग्र अर्थतन्त्रले ठूलो चुनौती सामना गर्नुपर्ने उहाँले चेतावनी दिनुभएको हो । नेपाल गार्मेन्ट एशोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै ढकालले बंगलादेशले पनि स्तरोन्नति सार्न आवेदन दिएको सन्दर्भ उल्लेख गर्दै नेपालले पनि सोही बाटो पछ्याउनुपर्नेमा जोड दिनुभयो । निर्यात प्रवद्र्धनमा पूर्वाधारको अभाव र महँगो लजिस्टिक लागत सबैभन्दा ठूलो वाधक रहेको ढकालले बताउनु भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा वेयरहाउस र स्क्यानिङ मेसिनको सेवा प्रभावकारी नभएको, प्रदर्शनीका लागि पठाइने सामानको भन्सार प्रक्रिया झन्झटिलो रहेको र यातायात लागत अत्यधिक महँगो भएको उहाँको गुनासो थियो ।

    ६. एलडिसी स्तरोन्नतिका कारण कुनैपनि औद्योगिक क्षेत्र प्रताडित हुन हुँदैनः अध्यक्ष पाण्डे

    नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोशाक उद्योगले गम्भीर चुनौती सामना गर्नुपर्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग संघद्वारा आयोजित ‘एलडिसी ग्राजुएसनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपालको औद्योगिक अवस्था र स्तरोन्नतिपछिको तयारीका विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । अध्यक्ष पाण्डेले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक क्षेत्रको मूल्य अभिवृद्धि (म्यान्युफ्याक्चरिङ भ्यालु एडेड) ५ प्रतिशतभन्दा कम रहेको जानकारी दिनुभयो । उहाँले नेपालको उत्पादन क्षेत्रमा रोजगारीको हिस्सा ७ प्रतिशत मात्र हुनुले औपचारिक रोजगारी सिर्जना निकै कमजोर रहेको संकेत गर्ने बताउनु भयो । लागत प्रतिष्पर्धात्मकताका हिसावले पनि नेपाल निकै पछाडि रहेको उहाँको तर्क थियो । 

    ७. एलडिसी ग्रेजुएशनपछि निर्यात प्रवद्र्धनका लागि साझा प्रयास आवश्यकः सांसद पराजुली

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सन् २०२६ मा नेपाल कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति (ग्रेजुएट) भएपछि सिर्जना हुने चुनौतीलाई सामना गर्न निजी क्षेत्र र सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । ‘एलडिसी ग्राजुएसनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पराजुलीले निर्यात व्यापारलाई टिकाइराख्न द्विपक्षीय वार्ता र स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा जोड दिनुपर्ने बताउनुभएको हो । पराजुलीले संसदीय समितिहरू गठन हुनेबित्तिकै निजी क्षेत्रका समस्याहरूलाई पहिलो प्राथमिकतामा राखेर छलफल गरिने प्रतिवद्धता जनाउनु भयो । नेपाली उत्पादनको ब्राण्डिङ र मार्केटिङका लागि छरिएर गरिने प्रयासभन्दा एकीकृत प्रयास प्रभावकारी हुने उहाँको तर्क थियो । सांसद पराजुलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), हस्तकला महासंघ लगायतका संस्थाहरूलाई अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न आग्रह गर्नुभयो । सांसद पराजुलीले सुशासनको जगमा उभिएको वर्तमान सरकारले जनताका साना–साना समस्या समाधानमा ध्यान दिइरहेको दाबी गर्नुभयो । 

    ८. एलडिसी ग्रेजुएशनपछि तयारी पोशाक क्षेत्रका १ लाख ३२ हजार रोजगारी गुम्ने खतराः अध्यक्ष पाण्डे

    नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोशाक क्षेत्रले ठूलो संकट व्यहोर्नुपर्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग संघद्वारा आयोजित ‘एलडिसी ग्रेजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले यसबाट झन्डै १ लाख ३२ हजार जनाको रोजगारी गुम्न सक्ने चेतावनी दिनुभयो । अध्यक्ष पाण्डेले एक तथ्याङ्क प्रश्तुत गर्दै आगामी ५ वर्षभित्र विशेषगरी कम आय भएका र शिक्षाको पहुँच कम भएका श्रमिकहरूले यो अवसर गुमाउने बताउनु भयो । अध्यक्ष पाण्डेले तयारी पोशाक क्षेत्रको दिगो विकासका लागि सरकारसँग वर्षौँदेखि ‘ग्रीन गार्मेन्ट भिलेज’ र ‘टेक्सटाइल तथा तयारी पोशाक काउन्सिल’ गठनको माग गरिए पनि त्यो अझै पूरा हुन नसकेको गुनासो गर्नुभयो । 

    ९.इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित गर्न अमेरिका सहमत

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार आफू दुई हप्ताको अवधिका लागि इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्न सहमत भएको बताउनुभएको छ। । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो यो निर्णय इरानले हर्मुजको जलडमरूमध्य पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुनुपर्ने शर्तमा आधारित रहेको बताउनुभएको छ । यसो गर्नुको कारण अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको र अझ त्योभन्दा बढी हासिल गरेको बताउनु भयो । अमेरिका इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिको सम्बन्धमा एक निश्चित सम्झौताको धेरै नजिक पुगेको बताउनु भयो । 

    १०. इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मंगलवार अमेरिकाले इरानविरुद्धका आफ्ना सैन्य उद्देश्यहरू धेरै हदसम्म प्राप्त गरिसकेको बताउनुभएको छ । साथै उहाँले तेहरानलाई वार्तामा आउन वा थप आर्थिक संकटको सामना गर्न तयार रहन चेतावनी दिँदै वार्ताका लागि समय घर्किँदै गएको उल्लेख गर्नुभयो । बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भान्सले इरानको हतियार उत्पादन क्षमतालाई नियन्त्रण गर्ने प्रयास वासिङ्टनले जारी राख्ने बताउनु भयो । भान्सले अमेरिकी सेनाले इरानको खार्ग टापुस्थित सैन्य लक्ष्यहरूमा आक्रमण गरेको पुष्टि गर्नुभयो । यद्यपि पहिले नै तय गरिएको समयसीमा अनुरूप ऊर्जा पूर्वाधारहरूलाई भने लक्षित नगरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले अमेरिकाले तेहरानलाई वार्ताका लागि जवाफ दिन अमेरिकी पूर्वी समय अनुसार राती ८ बजेसम्मको समयसीमा तोकेको जानकारी दिनुभयो । जसले इरानलाई प्रतिक्रिया दिन करिब १२ घण्टाको समय दिन्छ । 

    ११. इस्तानबुलस्थित इजरायली महावाणिज्य दुतावास नजिक आक्रमणः १ आक्रमणकारीको मृत्यु

    टर्कीको इस्तानबुलस्थित बेसिकटास जिल्लामा रहेको इजरायली महावाणिज्य दुतावास नजिकै मंगलवार भएको आक्रमणमा एक आक्रमणकारीको मृत्यु भएको छ भने दुई प्रहरी अधिकारी र दुई आक्रमणकारीसहित अन्य चार जना घाइते भएका छन् । इस्तानबुलका गभर्नर दाभुत गुलले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आक्रमणकारीहरूले सो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका प्रहरी अधिकारीहरूलाई लक्षित गरेको बताउनु भयो । उहाँकाअनुसार गोलीबारीका क्रममा प्रहरी अधिकारीहरू सामान्य घाइते भएका छन् । गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यो घटना स्थानीय समय नुसार दिउँसो करिब १२ः१५ बजे शुरु भएको थियो । घाइते भएका दुई आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले यस घटनाको बारेमा बहुआयामिक अनुसन्धान शुरु गरिएको बताउनुभएको छ ।

    १२. तेहरानमा मिनाब विद्यालय बमबारीका पीडितहरूको सम्झनामा शोक सभा

    दक्षिणी इरानको मिनाब प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली बमबारीका पीडितहरूको सम्मानमा सोमवार एक स्मृति समारोह आयोजना गरिएको छ । फेब्रुअरी २८ मा विद्यालयमा भएको आक्रमणमा १७५ भन्दा बढी व्यक्तिको ज्यान गएको थियो, जसमा अधिकांश बालबालिका थिए । अधिकारीहरू, कलाकारहरू र नागरिकहरू तेहरानको सिटी थिएटरमा अन्तर्राष्ट्रिय जवाफदेहिताको माग गर्न र शैक्षिक संस्थाहरूलाई लक्षित गर्ने कार्यको निन्दा गर्न भेला भए । 

    ३. भ्यान्सद्वारा बुडापेस्ट ¥यालीमा ओर्बानको समर्थन, ईयू कर्मचारीतन्त्रको आलोचना

    अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले मंगलवार दिउँसो हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगै बुडापेस्टमा आयोजित चुनावी ¥यालीमा सहभागी भई युरोपेली संघ (ईयू) का नीतिहरूको आलोचना गर्दै आगामी निर्वाचनका लागि ओर्बानलाई समर्थन व्यक्त गर्नुभएको छ । एमटीके स्पोट्र्सपार्कमा आयोजित हंगेरी–अमेरिकी मित्रताको दिन नामक कार्यक्रममा बोल्दै भ्यान्सले हंगेरीवासीहरूलाई राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न आह्वान गर्नुभयो । युरोपेली कर्मचारीतन्त्र भनी वर्णन गरेको कुराको प्रतिरोध गर्न आग्रह गर्नुभयो । ¥यालीका क्रममा भ्यान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो । छोटो समयका लागि भीडलाई सम्बोधन गर्दै हंगेरीको प्रशंसा गर्नुभयो । 

    १४. मंगोलियामा विदेशी पर्यटकको आगमन पहिलो त्रैमासिकमा ३९ प्रतिशतले बढ्यो

    मंगोलियाको संस्कृति, खेलकुद, पर्यटन तथा युवा मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो त्रैमासिकमा विदेशी पर्यटकको आगमनमा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मार्च महिनाको बीचमा कुल १ लाख ४३ हजार ४ सय ३१ विदेशी पर्यटकले मंगोलियाको भ्रमण गरेका छन् । मंगोलियाको अर्थतन्त्र लामो समयदेखि निर्यातमुखी खानी उद्योगमा निर्भर रहँदै आएको छ । सरकारले अहिले अर्थतन्त्रलाई विविधीकरण गर्न पर्यटन क्षेत्रलाई एक महत्वपूर्ण आधारका रूपमा हेरेको छ । यद्यपि लामो र कठोर जाडो तथा छोटो गर्मी हुने विशेष प्रकारको महाद्वीपीय जलवायुका कारण मंगोलियाले परम्परागत रूपमा पर्यटनमा मौसमी चुनौतीहरूको सामना गर्दै आएको छ । यो चुनौतीलाई सम्बोधन गर्न सरकारले वर्षभरि नै हुने पर्यटन विकासलाई प्रवद्र्धन गरिरहेको छ । 

    १५. हिमपातका कारण अफगान राजधानीलाई उत्तरी क्षेत्रसँग जोड्ने राजमार्ग बन्द

    अफगान राजधानी काबुललाई देशको उत्तरी क्षेत्र र मध्य एशियाली राष्ट्रहरूसँग जोड्ने मुख्य राजमार्ग पहाडी सालाङ भञ्ज्याङमा भएको भारी हिमपातका कारण बन्द भएको छ । आधिकारिक समाचार एजेन्सी बाख्तरले मंगलवार यसबारे जानकारी दिएको हो । सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हकशिनासलाई उद्धृत गर्दै आधिकारिक सञ्चारमाध्यमले जनाएअनुसार, भारी हिमपात, हावाहुरी र कुहिरोका कारण गए रातिदेखि सालाङ राजमार्ग यातायातका लागि बन्द गरिएको छ । अर्को सूचना नभएसम्म चालकहरूलाई सालाङ मार्गबाट यात्रा नगर्न आग्रह गरिएको छ । हिन्दु कुश पर्वतमालामा समुन्द्र सतहदेखि ३ हजार मिटरको उचाईमा रहेको सालाङ सुरुङले काबुललाई नौवटा उत्तरी प्रान्त र मध्य एसियासँग जोड्छ। 

    १६. ईन्धन आयातमा लगाईने अप्रत्यक्ष करलाई स्थायी रुपमा घटाइयोस्ः काँग्रेस सांसद थापा

    नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ईन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । सरकारले गरेको ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उहाँले यसलाई दीर्घकालिन रुपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिनुभयो । उहाँले ईन्धनको मुल्य सुपथ बनाउँदा समगै अर्थतन्त्र नै चलायमान हुने उल्लेख गर्नुभयो । उहाँले हाल मध्येपुर्वमा भईरहेको युद्धका कारण ईन्धन आपुर्तीमा समस्या देखिएको बताउनुहुँदै भारत सरकारसंग सहकार्य गरेर निरन्तर आपुर्तीको सुनिश्चितता गर्न सरकारसंग आग्रह गर्नुभयो । 

    १७. एउटा ग्यास कम्पनीको सिलिण्डर अर्कोसंग साट्दा ५ सय तिर्नुपर्छ, यसलाई हटाईयोस्ः एमाले सांसद देवकोटा

    नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले बजारमा धेरै ग्यास कम्पनीहरु भएपनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले ग्यास पाएपनि कम्पनीहरुले अर्को कम्पनीको सिलिण्डर साटासाट गर्न नमानेको बताउनु भयो । केही साटेपनि अतिरिक्त पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उहाँको भनाई छ । ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिण्डर साट्न पाउने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभयो । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्युन तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उहाँको भनाई छ ।

    १८. नेकपाकी सांसद राई भन्छिन्, ‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’

    नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले सरकारले निजी सञ्चारमाध्यामहरुमाथी सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताउनुभएको हो । सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरु गर्दै गएको उहाँको भनाई छ । उहाँले निजी सञ्चारमाध्यामहरुलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गर्नुभयो । उहाँले ठुलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभएपनि एकपछि अर्को विवादीत काम गरेपनि नबोली बस्न नसकेको उल्लेख गर्नुभयो ।

    १९. मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सांसदहरुको माग

    राष्ट्रिय सभाका सदस्यहरुले मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शुन्य समयमा उहाँहरुले उपभोक्ताहरुको माग सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराउनुभएको हो । राष्ट्रिय सभा सदस्य गीता देवकोटाले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मुलुकमा बढ्दो मूल्यवृद्धिले आम जनताको जीवनयापन अत्यन्तै कष्टकर बन्दै गएको बताउनु भयो । उहाँले मूल्यवृद्धि नियत्रण गर्न सरकासंग माग गर्नुभयो । उहाँले किसानलाई प्रोत्साहन गर्ने स्पष्ट नीति अवलम्वन गर्न पनि सरकारसँग माग गर्नुभयो । नेपालमा तरकारी, खाद्यान्न, फलफूल, मह तथा माछामासु उत्पादन गर्ने किसानलाई दीर्घकालीन रूपमा व्यवसायिक बनाउन आवश्यक रहेको उहाँको भनाई छ । आगामी बजेटमार्फत सरकारले अल्पकालीन तथा दीर्घकालीन ठोस कार्यक्रम ल्याई उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनलाई सुदृढ गर्नुपर्ने उहाले बताउनु भयो । 

    २०. राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरुले लिए शपथ

    राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बुधवार संघीय संसद सचिवालयले आयोजना गरेको शपथ समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उहाँहरुले शपथ लिनुभएको हो । राष्ट्रिय सभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित हुनुभएको थियो । मंगलवार बसेको सम्बन्धित समितिको बैठकले उहाँहरुलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो ।

    २१. राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

    राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । बुधवार बसेको बैठकमा उक्त वार्षिक प्रतिवेदन पेश गरिएको हो । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट संघिय मामिला तथा समान्य प्रशासन, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले संसदमा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत २७ गते शुक्रवार अपरान्ह सवा ४ बजे बस्नेगरी स्थगित भएको छ ।

    २२. वैशाख २ गतेदेखि देशभर करिव ५ हजार कर्मचारी आर्थिक गणनाको लागि परिचालन हुँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु गर्ने भएको छ । निजी र सरकारी सहकार्यको मोडेलमा सञ्चालन हुन लागेको यस गणनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा विभिन्न क्षेत्रको योगदानको यथार्थ चित्र प्रश्तुत गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग रहेको जनाएको छ । बुधवार राष्ट्रिय आर्थिक गणनाको लागि नेपाल पत्रकार महासंघसंगको सहकार्य सम्बन्धी छलफलमा कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग गरेको बताउनु भयो । उहाँकाअनुसार यसपटकको आर्थिक गणनालाई निजी–सरकारी सहकार्य मोडेलमा अघि बढाइएको छ । उहाँले आर्थिक गणनालाई प्रभावकारी बनाउन विभिन्न निजी क्षेत्रका संस्थासँग सहकार्य गरिएको जानकारी दिनुभयो ।

    २३. ‘एक घर एक धारा’ कार्यक्रम कार्यान्वयन गर्न श्रम संस्कृति पार्टीको माग, सरकारको डिजिटल ट्रान्सफर्मेशन योजनाप्रति आपत्ति

    श्रम संस्कृति पार्टीका सांसद पूर्ण लिम्बूले सरकारले नागरिकका आधारभूत आवश्यकतालाई नजरअन्दा गर्दै डिजिटल ट्रान्सफर्मेशनजस्ता महंगो र महत्वकांक्षी योजना अघि सारेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । सरकारले दुरदराजका नागरिकको स्वच्छ पानी पिउन पाउने तथा आधारभुत स्वास्थ्य पाउनुपर्ने संवैधानिक हकलाई समेत बेवास्ता गरेको उहाँको आरोप छ । उहाँले संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै व्यवहारमा भने त्यसको कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले ‘एक घर एक धारा’ कार्यक्रम, स्वास्थ्यचौकीसम्म पुग्ने सडक निर्माण र आधारभुत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्न सरकारसँग माग समेत गर्नुभयो । 

    २४. ‘सुदूरपश्चिमका १ हजार ५ सय मुुक्त कमैया र कमलरीले कहिले पाउँछन् परिचयपत्र ?’

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने मुक्त कमैया र कमलरीको पुनस्र्थापनाको माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेको लामो समय भइसकेको उल्लेख गर्दै उनीहरुले परिचयपत्र कहिले पाउँछन् ? भन्दै प्रश्न गर्नुभयो । उहाँले एक हजार ५ सय मुक्त कमैया र कमलरी परिवारसँग परिचयपत्र नभएको तथा कयौँसँग भूमि समेत नभएको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 
    २५. किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्ः सांसद पाठक

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभयो । किसान मुलुकमा अन्नदाता भएको भन्दै उहाँले खेतीको समयमा भन्दै विगतमा जस्तै मलको लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘किसान हाम्रा अन्नदाता हुन् । विगतमा झै खेतीको समयमा किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस् । यस वर्ष सरकारले के तयारी गरेको छ ? सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।   ’

    २६. निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन बन्देज गर्ने सरकारको निर्णय उदार अर्थतन्त्रको नीति विपरितः काँग्रेस

    नेपाली काँग्रेसले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई दिन नपाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद नरेन्द्रकुमार केरुङले विरोध जनाउनुभएको हो । उहाँले निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय उदार अर्थतन्त्रको नीतिविपरित रहेको टिप्पणी गर्नुभयो । उहाँले निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस खोस्न नपाइने भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ सरकार आउने बित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने निर्णय गर्यो । सरकारको यो कदम उदार अर्थतन्त्रको नीति विपरित छ । म जोड दिएर मा गर्छु सरकार निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस खोस्न पाइँदैन ।’

    २७. संसदको अघिल्लो ‘रो’ खालीः रास्वपा सांसद बास्कोटाले भनिन्– ‘लोकतन्त्रमाथि प्रहार हुन लागेको हो कि जस्तो लागेको छ’

    सरकार र सत्तारुढ दलका शिर्ष नेताहरु नै सदनमा सहभागि नहुँदा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । सभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले संसदको पहिलो ‘रो’मा रहेका खाली कुर्सी देख्दा लोकतन्त्रमाथि प्रहार भइरहेको अनुभूति भइरहेको भन्दै टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन राज्यका संस्थाहरुलाई कमजोर बनाउने इतिहासदेखिको परिपार्टी दोहोरिन थालेको आशंका समेत व्यक्त गर्नुभयो । उहाँले संसदमा सरकारको कमजोर उपस्थितिले कतै हामी लोकतन्त्रलाई गिज्याइरहेका त छैनौँ ? प्रश्न गर्नुभयो । जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र साहलगायत मन्त्रीको न्युन उपस्थिति छ । प्रतिपक्षी बेन्चको अघिल्लो ‘रो’ समेत खाली छ ।

    २८. सरकार र दलहरुलाई सांसद महावीर पुनको आग्रह–नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्

    सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दे उहाँले यस्तो आग्रह गर्नुभएको हो । सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गर्नुभयो ।  फरक प्रसंगमा बोल्दै उहाँले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । 

    २९. सरोकारवाला भन्छन्–गैरसरकारी संस्थाकोे दिगोपनाका लागि अन्तरपुस्तागत सहकार्य जरुरी

    सामाजिक न्यायका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू (एनजीओ÷आईएनजीओ)ले विगतको जस्तै कार्यशैली गैरसरकारी संस्थाहरु अब अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो कार्यशैली र पारदर्शितामा सुधारको आवश्यकता रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘सामाजिक न्यायका लागि गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता’ विषयक अन्तरक्रिया बोल्दै गैरसरकारी संस्थाका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् । एनजीओ क्षेत्रप्रति जनविश्वास घट्दै गएको उनीहरुको स्वीकारोक्ति छ । केही संस्था र व्यक्तिको कार्यशैलीका कारण समग्र क्षेत्र बदनाम भन्दै उनीहरुले सामाजिक न्याय र मुलुकको बृहत्तर हितका सवालमा अझै सशक्त हुन आवश्यक रहेको उनीहरुको भनाइ छ । लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष डिल्लीराम गिरीले विगतको शैलीमा एनजीओ सञ्चालन गरेर जनतामाझ प्रभावकारी उपस्थिति जनाउन नसकिने धारणा राख्नुभयो । उहाँले विगतमा सामाजिक न्यायको क्षेत्रमा एनजीओहरुले महत्वपूर्ण योगदान गरेको भएपनि सरकारको तर्फबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि जनाउनु भयो । 

    ३०. देउवा दम्पती पक्राउ पूर्जीबारे सांसद सुनारको टिप्पणीः जनादेश कार्यान्वयन गरियो

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सरकारले जनादेशअनुसार काम गरिरहेको बताउनुभएको छ । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी गरिएको बारे जिज्ञासा राखेपछि उहाँले सो प्रतिक्रिया दिनुभएको हो । सांसद सुनारले जेन–जी आन्दोलन दवाउने, भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्ने वाचालाई जनताले अनुमोदन गरेकाले सरकारले सोही अनुसार काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले सरकार जनताको बीचमा गरिएको प्रतिवद्धताअनुसार काम गर्न मजबुत रहेको समेत बताउनु भयो ।

    ३१. प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

    प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । बुधबार सिंहदरवारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो । १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल रहनुभएको छ ।

    ३२. प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत्र २७ गत हुने

    यही चैत्र २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोक्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उहाँले बताउनु भयो । संघीय संसद सचिवालयले आजै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । सभामुख अर्यालले सो निर्वाचनको कार्यतालिकाको सूचना  प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिनुभयो ।

    ३३. प्रधानमन्त्रीलाई एमाले सांसद हमालको प्रश्नः समानुपातिक सांसदहरुमाथि किन विभेद ?

    प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद टुकाभद्र हमाल प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदहरुलाई भेट नदिएकोमा आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री साहले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसदहरुसँगको भेटलाई तिब्रता दिइरहेका बेला उहाँले समानुपातिक सांसदहरुलाई भने किन सो अवसरबाट वञ्चित गराएको ? भनि प्रश्न समेत गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हमालले विकास, निर्माणको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने अवसर नदिएर प्रधानमन्त्री शाहले सांसदहरुबीचमा नै विभेद गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुमाथि किन विभेद ? सम्माननीय प्रधानमन्त्रीज्युबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय सदस्यज्यूहरुलाई भेट दिई विकास, निर्माणको विषयमा कुरा राख्ने अवसर दिनु भएको भन्ने कुरा सुन्नमा आएको छ । तर समानुपातिकि निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्युहरु उक्त अवसरबाट किन वञ्चित ?’

    ३४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रश्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले पेश गर्नुभएको हो । त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेश गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र २७ गते शुक्रवार अपरान्ह ४ बजे बोलाइएको छ ।

    ३५. विद्यालय तहमा नै सरकारले सडक सुरक्षा सम्बन्धि अनिवार्य सचेतना अभियान सञ्चालन गर्नुपर्छः समिना मियाँ

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले विद्यालय तहमा नै सडक सुरक्षा सम्बन्धि अनिवार्य सचेतना अभियान सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद मियाँले सडक दुर्घटना भएलगत्तै आवश्यक उपचारको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडक दुर्घटना हुन नदिनका लागि ट्राफिक नियमको पालनामा कडाई गर्न पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘युवा तथा विद्यार्थी सचेतना कार्यक्रम गरियोस् । विद्यालय स्तरमा नै सडक सुरक्षा सम्बन्धि अनिवार्य सचेतना अभियान सञ्चालन गरियोस । दुर्घटना भएलगत्तै उद्धार र उपचारका लागि एम्बुलेन्स, ट्रमा सेन्टर तथा छिटो स्वास्थ्य सेवा सुनिश्चित गरियोस् ।’
    सांसद मियाँले सरकारले सडक सुधार गरेर सडक दुर्घटना हुन नदिने गरी काम गर्नुपर्ने पनि बताउनु भयो ।

    ३६. सरकारलाई एमालेको दबाबः ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गरियोस्

    प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद नीता घतानीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारलाई दबाब दिनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । प्रतिशोध साँधेर सरकारले संविधान र कानूनको मर्म विपरित अध्यक्ष ओलीमाथि मुद्दा लगाइएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने सांसद घतानीको तर्क थियो ।
    उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा केपी शर्मा ओलीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधको आधारमा यस्ता मुद्दाहरु लगाएर राजनीतिक मर्यादाको संविधानको मर्मलाई गम्भिर रुपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानूनको मर्म अनुसार यो मुद्दा तत्काल फिर्ता गरियोस् ।’

    ३७. सरकारलाई काँग्रेसले भन्योः मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिइयोस्

    नेपाली काँग्रेसले इन्धनको मूल्यवृद्धि, खाद्यन्नको अभाव, बजार मूल्य वृद्धि लगायतका समस्या समाधानका लागि तत्काल आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीका सांसद प्रकाशसिंह कार्की भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले ती समस्या समाधानका लागि अल्पकालिन र दीर्घकालिन खालको योजना बनाएर काम गर्न ढिलाई गर्न नहुने बताउनु भयो । सांसद कार्कीले नेपाल बाह्य मुलुकको चलखेल गर्ने अखडा बन्ने खतरा रहेकाले सरकारले त्यस सम्बन्धमा विचार गरेर अघि बढन आवश्यक रहेको समेत बताउनु भयो । 

    ३८. सरकारले डोल्पास्थित मसिनेचौर विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छः धनबहादुर बुढा

    प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद धनबहादुर बुढाले डोल्पास्थित मसिनेचौर विमानस्थल तत्काल संचालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । सो विमानस्थल बनेको ४ वर्ष पूरा भईसकेको उल्लेख गर्दै उहाँले त्यसको सञ्चालन गर्न सरकारलाई दबाब दिनुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बुढाले आफूले जनताले दिएको मतलाई सम्मान गर्दै अघि बढने बताउनु भयो । डोल्पाली जनताले आफूलाई पटक पटक सांसदको जिम्मेवारी दिएकाले उल्लेख गर्दै सांसद बुढाले उनीहरुको भावना अनुसार काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘मैले डोल्पाली जनताको शीर निहुँरिने काम हिजो पनि गरेको छैन, आज पनि गर्ने छैन र भोली पनि । डोल्पा जिल्लाको मसिनेचौर एयरपोर्ट सम्पन्न भएको चार वर्ष पूरा भयो । यस एयरपोर्टलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनका लागि म सरकारसँग जोडदार माग गर्दछु ।’

    ३९. सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास नगरोस्ः महेन्द्रबहादुर शाही

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिनुभयो । सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताउनु भयो । 

    ४०. प्रधानमन्त्री कपमा मधेस र वागमती विजयी

    लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा वागमती प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । जनकपुरमा बुधवार भएको खेलमा कप्तान सन्दीपको पाँच विकेट प्रेरणामा वागमतीले कोशी प्रदेशमाथि सात विकेटको जितसँगै जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो । लेग स्पिनर सन्दीप म्यान अफ दी म्याच भए । सातौं खेलमा वागमतीको तेस्रो जित हो । रामजानकी क्रिकेट मैदानमा कोशीले एक सय रनको झिनो लक्ष्य दियो । जबाफी ब्याटिङ गरेको बागमतीले ९ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । विवेक मगरले अविजित ६१ रन बनाए । आक्रामक ब्याटिङ गर्दै विवेकले २८ बलमा १० चौका र दुई छक्का प्रहार गरे । प्रतिश जिसी ५ बलमा १७ रनमा अविजित रहे । सुरुमा दुई विकेट पतनपछि बागमतीको सुरुआत राम्रो हुन सकेन । शुभ कंसकार १ रन र ईशान पाण्डे १ रनमा नै आउट भए ।–न्युज एजेन्सी नेपाल

     

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - २०:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij