२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । गाडी भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सहमत भएका छन्। यातायात व्यवस्था विभागले वैज्ञानिक प्रणालीअनुसार, सवारी साधनको भाडा समायोजनका लागि गरेको प्रस्तावमा मन्त्री लम्सालले स्वीकृति प्रदान गरेका हुन्।
यातायातमन्त्रीको सचिवालयले भाडा समायोजन गर्ने विषयमा निर्णय भइसकेको जानकारी दिइएको छ। ‘भाडा समायोजको फाइल मन्त्रालयबाट उठिसकेको छ। निर्णय पनि भइसकेको छ। भोलिबाट कार्यान्वयन हुन्छ’, सचिवालयका ती सदस्यले भने।
भाडा कति प्रतिशतले वृद्धि हुने भने जानकारी नभएको उनको भनाइ छ।
वैज्ञानिक भाडा समायोजनसम्बन्धी कार्यविधिले गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कार, बैंक ब्याज, पार्टपुजा, टायर, लुब्रिकेन्टलगायत १३ सामग्रीमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत योगदान रहने अंकभार तय गर्छ।
यस्तै इन्धनमा ५ प्रतिशतको मूल्य घटी वा बढी हुँदा स्वचालित भाडादर कायम हुने कार्यविधिमा उल्लेख छ। तर पछिल्लो १५ महिनामा स्वचालित व्यवस्था अनुसार भाडादर समायोजन हुनसकेको छैन।
विभागका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र अन्य सूचकका आधारमा भाडा समायोजन गर्दा सवारी साधनमा करिब १६ प्रतिशतको हाराहारीमा मूल्य वृद्धि हुने देखिएको छ।
अन्तिम पटक २०८१ पुस २२ गते भाडादर समायोजन गरिएको थियो। त्यतिबेला पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गरिएको थियो। वैज्ञानिक प्रणाली अनुसार भौतिक पूर्वाधार मन्त्रालयको सहमतिको आधारमा विभागले सवारी साधनको भाडा समायोजन गर्दै आएको छ। स्वचालित प्रणाली अनुसार भने विभाग आफैले भाडा समायोजन गर्न सक्छ।
गत चैत २ गते डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो। त्यसको तीन दिनपछि चैत ५ गते विभागले भाडा समायोजनको प्रस्ताव मन्त्रालय लगेको थियो।
निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री मावप्रसाद चौलागाईंमार्फत नै भाडा समायोजन गर्ने योजनामा विभाग थियो। उक्त प्रस्तावमा यात्रुवाहक तर्फ ११.३३ प्रतिशत, मालवाहक तराई ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत भाडा समायोजन गर्नुपर्ने उल्लेख थियो। पेट्रोलिय पदार्थको मूल्य घट्दा भाडा घटाउन चासो नदिने र वृद्धि हुँदा बढाउन हतार गर्ने भन्दै मन्त्री चौलागाईं भाडा समायोजनसम्बन्धी निर्णय नगरी बाहिरिएका थिए।
त्यसपछि डिलेजको मूल्य दुई पटक गरी ३० रुपैयाँले बढी सकेको छ। चैत ११ र १९ गते प्रति लिटर डिजेलको मूल्य १५÷१५ रुपैयाँले नेपाल आयल निगमले वृद्धि गरेको छ। चैतमा मात्र डिजेलको मूल्य ४० रुपैयाँले वृद्धि भइसकेको छ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र अन्य सूचकका आधारमा भाडा समायोजन गर्न मन्त्री लम्सालले स्वीकृति दिएका हुन्। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि त्यसको प्रतिक्रियास्वरुप इरानले खाडी मुलुकमा जवाफी आक्रमण गर्नुका साथै हर्मुज घाँटी (तेल आपूर्तिको समुद्री मार्ग)मा अवरोध गरिरहेको छ। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक वृद्धि भएको छ। हाल कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij