२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका युवाहरूले पार्टीको हरेक समितिमा ६० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा युवाहरूले प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जेनजी आन्दोलनको भावना अनुसार निर्वाचनको बेला प्रत्यक्ष र समानुपातिक बन्द सूचीमा युवाहरूलाई बेवास्ता गरिएकोमा पनि उनीहरूले असन्तुष्टि पोखेका छन् ।
ज्ञापन पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्रमा जेनजी उम्मेदवारहरू सिफारिस गर्ने परिपत्र जारी भए तापनि, एक जना पनि जेनजी उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गर्न नसक्नु दुःखद र चिन्ताजनक विषय हो । त्यसैगरी, समानुपातिक बन्द सूचीमा समेत ४० वर्ष मुनिका एक जना युवा समेत समावेश नगरिनु पार्टीको युवाप्रति असंवेदनशीलताको स्पष्ट सङ्केत हो। यस्ता विडम्बनापूर्ण अवस्थाबिच पनि हाम्रो पार्टी निर्वाचनमा सहभागी भएको यथार्थ दिनको घाम जत्तिकै छर्लङ्ग छ’।
मागको बेवास्ता गरिएमा देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले वहन गर्नुपर्नेछ अगुवा भुवन सिंह विष्टले बताएका छन् । विष्ट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य हुन् । ज्ञापन पत्रमा ५० जना जतिको हस्ताक्षर भएको उनले दाबी गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij