२०८२ चैत्र २ गते सोमवार
काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाका क्रममा जेठ १४ गतेदेखि अनुमति नलिइकन सवारी चलाएमा कोभिड १९ संक्रमणका सम्बन्धमा हालै जारी भएको अध्यादेशमा भएको व्यवस्था अनुसार २ पाङग्रे सवारीसाधनलाई २ हजार रुपैयाँ र चार पाङग्रे सवारी साधनलाई ५ हजार जरिवाना हुने भएको छ।
साथै संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाखसम्म जरिवाना गर्ने र ६ महिनासम्म सेवा बन्द गर्न सकिने पनि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
सर्वसाधरण नागरिकको आवतजावतमा अत्यावश्यक सेवा बाहेक अन्य कामका लागि पूर्ण रुपमा रोक लगाइएको छ। मर्निङ वाक र इभिनिङ वाकलाई पनि बन्द गरिएको छ। त्यसैगरी अत्यावश्यक सामान किन्दा भौतिक दूरी कायम गरी मास्क लगाउनुपर्ने र सो नभए जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको छ। पहिलो पटक मास्क नलगाउनेलाई एक सय र अर्को पटक पनि नलगाएको पाईए पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना गरिने भएको छ।
सञ्चारकर्मीको हकमा सुचना विभागद्वारा जारी गरेको प्रेस पास र सो नभएको अवस्थामा सम्बन्धित मिडिया हाउसको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिएको पत्रको आधारमा सूचना संकलन र सम्प्रेषण गर्न दिइने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायबाट जारी गरिएका पुराना पासहरुलाई रद्द गरिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा थप कडाइका साथ आगामी २० गते सम्म निषेधाज्ञा थपिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij