Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 750
    Shares

    • images
    • images
    आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास हो– अर्जुन नरसिंह केसी

    नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ । आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनि हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताउनुभएको हो । वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन शुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उहाँको दाबी छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरुले सभापति थापाको ससुराको रुपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरुलाई जवाफ दिइरहनुनपर्ने बताउनु भयो । उहाँले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनीबनाउ षड्यन्त्र भएको बताउनु भयो । 

    २. भूसेवा फर्म आन्दोलनका कारण दुई दिनदेखि सुनसरी मालपोत सेवा ठप्प, दैनिक १ करोड राजस्व प्रभावित ।

    छापामारीको क्रममा पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै व्यवसायीले भू–सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प बनेको छ । दैनिक सरदर १ करोड हाराहारी राजश्व संकलन गर्दै आएको भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी हिजैबाट सुनसान छ । फाट्टफुट्ट आएका सेवाग्राही समेत भू–सेवा नहुँदा मार्कामा परेका छन् । इजाजत पाएका फर्मले सेवा बन्द गरिदिदा कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । आएका सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् । कार्यालय परिषर बाहिर रहेका भू–सेवा केन्द्रले काम रोक्दा मालपोतको सम्पूर्ण सेवा बन्द हुने गरेको छ । जसले गर्दा समेत कार्यालय सुनसान बन्न पुगेको छ । कार्यालयमा भू– सेवा डेस्क नहुनु र आन्दोलन भैगएमा के गर्ने भन्ने पूर्व तयारी समेत नभएकाले मालपोतको कामकाज पूर्ण ठप्प बन्न गएको देखिएको छ । सुनसरी इनरूवा मालपोतबाट भू–सेवा इजाजत लिने फर्मको संख्या ५२ रहेको छ । निरन्तर सेवा संचालनमा रहेका भू–सेवा केन्द्रको संख्या भने दुई दर्जन छ ।

    ३. फेवा ताल किनाराका संरचना हटाउन थालियो; महानगरको सक्रियता, व्यवसायीको विरोध

    पोखरा महानगरपालिकाले फेवा तालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरु गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो । महानगरपालिकाका मेयर धनराज आचार्यकाअनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त सहजीकरणमा फेवा संरक्षणको कामलाई तिब्रता दिइएको हो । मेयर आचार्यले सर्वोच्च अदालतको फैसलालाई पूर्ण रुपमा कार्यान्वयन गर्न महानगर प्रतिबद्ध रहेको बताउनु भयो । मेयर आचार्यले विगत तीन वर्षदेखिको निरन्तर प्रयासपछि गत असार मसान्तमा तालको सीमांकनका लागि पोल गाड्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यसपछिको अर्को महत्वपूर्ण कदमका रुपमा ६५ मिटर मापदण्ड भित्रका संरचना हटाउन लागिएको हो । 

    ४. नेपाली कांँग्रेसको १५ औं महाधिवेशनका लागि केन्द्रिय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम शुरु

    प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ । नेपाली काँग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो । यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भुमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ । अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन् । 

    ५. नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्योः मोहनविक्रम सिंह

    नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गर्नुभएको छ । अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाउनुभएको हो । सिंहकाअनुसार कुनैपनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ । नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पु¥याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने उहाँको विश्लेषण छ । महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताउनु भयो । सिंहले पपुलिजम (लोकप्रियतावाद) लाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने बताउनु भयो । 

    ६. नेपालको राष्ट्रिय स्वाधीनता संकटमा, देशभक्तहरूको मोर्चाबन्दी आवश्यकः लिलामणि पोखरेल

    नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता  संकटपूर्ण स्थितिमा रहेको बताउनुभएको छ । उहाँले यो संकटबाट मुलुकलाई जोगाउनका लागि सबै देशभक्त शक्तिहरू र वामपन्थीहरूको नयाँ ध्रुवीकरण अपरिहार्य भएकोमा जोड दिनुभएको हो । नेता पोखरेलले हालैका राजनीतिक उतारचढाव र ‘जेन–जी’ आन्दोलन स्वस्फूर्त नभई योजनावद्ध भएको दाबी गर्नुभयो । सन् २०११ मा अमेरिकी दुतावासले गठन गरेको ‘युथ काउन्सिल’ मार्फत नेपाली युवाहरूलाई लक्षित गरी प्रभाव विस्तार गरिएको उहाँको आरोप छ । उहाँले अमेरिकी दुतावासले बनाएको युथ काउन्सिल तत्काल खारेज गर्न माग गर्नुभयो । उहाँले युवाहरूलाई विचार र राजनीतिबाट टाढा राखेर ‘हिप्नोटाइज’ गरिएको तर्क समेत गर्नुभयो । पोखरेलले एमसीसी, आईपीएस र एसपीपीलाई अमेरिकी रणनीतिको हिस्सा भएको बताउनु भयो । उहाँकाअनुसार अमेरिकाको उद्देश्य नेपालमा सैनिक ब्यारेक खडा गर्ने (एन्टी–चाइना इनसर्कलमेन्ट), दक्षिण एशिकयामा मोनिटरिङ सेन्टर बनाउने र नेपालमा रहेका बहुमूल्य ‘रेयर अर्थ मेटेरियल’ (दुर्लभ खनिज) माथि आँखा गाड्नु रहेको छ ।

    ७. ढकमक्क फूल र हरियालीले फेर्दैछ वागमतीको साख 

    कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने वागमती नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दो देखिन थालेका छन् । वागमती नदी किनारमा ढकमक्क फुलेका फूलहरू र बाक्लो हरियालीले काठमाडौंको शहरी सौन्दर्यलाई नयाँ उचाई दिएको छ । फूलले सजिएको पदमार्ग र कोरिडोर तस्बिरहरूलाई नियाल्दा वागमती कोरिडोरका विभिन्न खण्डहरूमा विशेषगरी ‘बगनबेली’ फूलहरू गुलाबी, सेतो र पहेंलो रङ्गमा ढकमक्क फुलेका छन् । नदीको किनारै किनार बनाइएका रातो रेलिङ र इँट्टाका पर्खालहरूमा लत्रिएका फूलहरूले बाटो हिँड्ने यात्रुहरूको मन लोभ्याउने गरेको छ । केही वर्ष अघिसम्म झाडी र फोहोरले भरिएका यी किनारहरू अहिले एउटा व्यवस्थित उद्यान जस्तै देखिन्छन् । वागमती नदीको बहाव अहिले शान्त छ र किनारका तटबन्धहरू निकै सफा छन् । ढुङ्गाको कलात्मक पर्खाल र व्यवस्थित फुटपाथले गर्दा नदी क्षेत्र थप सुरक्षित र आकर्षक बनेको छ । यद्यपि, पानीमा दुर्गन्ध कायम छ । जसले नदीको शुद्धीकरणका लागि थप काम गर्न बाँकी छ ।

    ८. काँग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँः डा. शेखर कोईराला

    नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गत निर्वाचनमा काँग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को संज्ञा दिनुभएको छ । शनिवार काठमाडौंमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताउनु भयो । उहाँले संसदमा काँग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ’हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण रहेको स्वीकार गर्नुभयो । अबको लडाइँ वामपन्थीसँग भन्दा पनि ‘लिबरल डेमोक्रेट्स’ हरूसँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिनुभयो । कोईरालाले आफूले शुरुदेखि नै केन्द्रिय समितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण गराउनु भयो । विशेष अधिवेशनबाट गगन थापा सभापति भएको सन्दर्भ जोड्दै उहाँले यस विषयमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको बताउनु भयो । अदालतको प्रक्रिया जे–जस्तो भएपनि पार्टीलाई एकतावद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने उनले प्रतिवद्धता जनाउनु भयो । 

    ९.काँग्रेसको १५ औँ महाधिवेशन तयारीः ७७ वटै जिल्लामा प्रतिनिधि खटिए, वैशाखभित्र सदस्यता अद्यावधिक गर्नैपर्ने

    नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनको औपचारिक तयारी शुरु गरेको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन् । महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताउनु भयो । 

    १०. काँग्रेस २०४८ को ‘प्रश्नपत्र’ बोकेर २०८२ को ‘समाजशास्त्रको परीक्षा दिन गएकोले हारेको हो’ः काँग्रेस नेता महर

    काँग्रेस अहिले गम्भीर बिरामी छ र यसको उपचार केवल शल्यक्रिया हो 
    नेपाली राजनीतिको रङ्गमञ्चमा फागुन २१ गतेको घटना एउटा सामान्य सत्ता समीकरणको फेरबदल मात्र थिएन, यसले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलाई एउटा गम्भीर ऐना देखाएको छ । एकातिर सत्ताबाट बाहिरिएर सदनको ‘कुना’ मा खुम्चिनुपर्ने बाध्यता, अर्कोतिर नयाँ उदीयमान शक्तिहरूको चुनौती र पार्टीभित्रै मौलाएको गुटबन्दीको ऐँजेरु । यही जटिल मोडमा उभिएर नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रभावशाली युवा नेता नैन सिंह महरले हालै न्युज एजेन्सी नेपालसँगको संवादमा पार्टीको भविष्य र वर्तमान संकटबारे निर्मम चिरफार गर्नुभएको छ । डडेलधुराको निर्वाचनमा पार्टीभित्रैको आन्तरिक दाउपेचको मारमा पर्नुभएका महरको शब्दमा अहिले काँग्रेसले आफ्ना सबै पुराना मान्यता र कार्यशैलीलाई ‘डिकन्स्ट्रक्सन’ (विघटन) गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको छ । 

    ११. काँकडभिट्टा–लौकही सडकमा नेपालकै ठूलो एनिमल पास बन्दै

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठूलो एनिमल पास निर्माण भइरहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको झापा चारआली क्षेत्रमा हात्तीका लागि राजमार्गमा छुट्टै ओभरपास निर्माण थालिएको हो । भारतबाट जगंली हात्तीहरु आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिनुभयो । एशियाली मापदण्डको सडक निर्माण थालिएसँगै जंगली जनावरका लागी पनि छुट्टै रुट निर्माण थालिएको हो । बायो डाइभरसिटि अध्यायनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको इ. महत बताउनु हुन्छ । भारतबाट आउने जगंली हात्तीका कारण यो क्षेत्रमा सवारी आवागनलाई अवरोध नहुने गरी रुट निर्माण थालिएको छ ।

    १२. आन्तरिक सामथ्र्य बलियो नभए वाह्य शक्तिले खेल्छन्ः पूर्वपरराष्ट्रमन्त्री साउद

    नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले सो कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति र निर्वाचनको मूल्याङ्कनलाई जोडेर हेर्दा आन्तरिक र वाह्य पक्षको सन्तुलन महत्वपूर्ण हुने बताउनु भयो । नेपालको संविधानले नै असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गरेको स्मरण गराउँदै साउदले व्यावहारिक रूपमा पनि असंलग्न रहनु नै नेपालको हितमा रहेको बताउनु भयो । नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै साउदले परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो । 

    १३. अर्जुनको शतकमा गण्डकी विजयी

    उत्कृष्ट लयमा रहेका अर्जुन कुमालको शतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । वीरगञ्जमा शनिवार भएको खेलमा अर्जुनको शतक प्रेरित गण्डकीले कोशी प्रदेशमाथि ३९ रनको जित निकाल्यो । अर्जुनले एक सय २ रनको शतकीय इनिङ खेले । उनी म्यान अफ दी म्याच पनि भए । उत्कृष्ट लयमा रहेका अर्जुन जारी प्रतियोगितामा सर्वाधिक (३४६ रन) रनकर्ता पनि हुन् । नारायणी क्रिकेट मैदानमा गण्डकीले दुई सय २८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कोशीले पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा १८८ रन मात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याए पनि कोशीले शुरुदेखि संघर्ष ग¥यो । शुरुदेखि सुस्त ब्याटिङ गरेको कोशीले राम्रो साझेदारी बनाउन नै सकेन । १०४ रन जोड्दा नै कोशीका सात ब्याटर पभेलियन फर्किए । तर, आठौं विकेटका लागि दीपेश कँडेल र आशिष मगरबीच ६० रनको साझेदारी बन्यो । विपिन खत्रीले आशिषलाई ३० रनमा विकेटकिपर मुस्कान थापाबाट क्याच गराउँदै साझेदारी तोडे । दीपेशले अविजित ५२ रनको संघर्षपूर्ण इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । दीपेशले ७३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा कोशी लक्ष्यभन्दा टाढा रह्यो । 

    १४. अभिशेक उत्कृष्ट बलिङमा एपिएफको जित

    अभिशेक गौतमको उत्कृष्ट बलिङमा विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेको छ । जनकपुरमा शनिवार भएको खेलमा अभिशेक चम्किएपछि एपिएफले कर्णाली प्रदेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा दोस्रो सफलता आत्मसात गरेको हो । स्पिनर अभिशेकले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि भए । समान छैटौं खेलमा एपिएफको यो दोस्रो जित हो भने कर्णालीको चौथो हार हो । कर्णालीले एक सय ८ रनको झिनो लक्ष्य दियो । जबाफमा एपिएफले त्यो लक्ष्य १२ ओभरमा बिना विकेट पूरा ग¥यो । प्रधानमन्त्री कपमा एपिएफले दोस्रोपल्ट १० विकेटले जित निकाल्यो । सन् २०२२ मा पनि एपिएफले सुदूरपश्चिमलाई १० विकेटले हराएको थियो । यस संस्करणमा खराब प्रदर्शन गरे पनि एपिएफ दोस्रोपल्ट फराकिलो जित निकाल्न सफल भयो । 

    १५. इरानद्वारा दुबईस्थित ओराकलको डाटा सेन्टरमा आक्रमणको दाबी

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बिहीवार संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको अमेरिकी प्रविधि कम्पनी ‘ओराकल’ को डाटा सेन्टरमा आक्रमण गरेको दाबी गरेको छ । दुबई मिडिया अफिसले शुक्रवार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त दाबीलाई अस्वीकार गरेको छ । कार्यालयले दुबईस्थित ओराकलको डाटा सेन्टरमा इरानी आक्रमण भएको भनिएका रिपोर्टहरूलाई ‘भ्रामक र असत्य’ बताएको छ । यसअघि बिहीवार नै आईआरजीसीले इरानी नागरिकहरूको हत्याको बदलामा यस क्षेत्रमा रहेका अमेरिकी र इजरायली जासुसी कम्पनीहरू विरुद्धको पहिलो कारबाही स्वरूप बहराइनमा रहेको अमेजनको क्लाउड कम्प्युटिङ अपरेसन सेन्टरलाई निशाना बनाएर ध्वस्त पारेको बताएको थियो । 

    १६. गाजा युद्धविराम कार्यान्वयनका लागि हमासको प्रतिनिधिमण्डलद्वारा कायरोमा वार्ता

    हमासले बिहीवार भनेको छ कि गाजाका आन्दोलनका नेता खलील अल–हय्याको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले गाजाको युद्धविराम सम्झौताको कार्यान्वयनको अनुगमन गर्न इजिप्टको राजधानी कायरोमा वार्ता गरेको छ । एक प्रेस विज्ञप्तिमा हमासले भनेको छ कि बुधवार साँझ कायरो पुगेको प्रतिनिधिमण्डलले इजिप्ट, कतार र टर्किएका मध्यस्थकर्ताहरूसँग तत्काल बैठकहरू गरेको छ र अन्य प्यालेस्टिनी गुटहरूका नेता र अधिकारीहरूसँग पनि भेट्नेछ । अल–हय्याले विगत दुई दिनमा टर्किएका राजधानी अंकारामा टर्किएका राष्ट्रिय गुप्तचर संगठनका निर्देशक इब्राहिम कालिन र विदेश मन्त्री हाकान फिदानसँग छुट्टाछुट्टै भेटघाट पनि गरेका थिए । उनीहरूले गाजा पट्टी र वेस्ट बैंकको घटनाक्रम, इजरायली युद्धविराम उल्लंघन, जेरुसेलम र अल–अक्सा मस्जिदको स्थिति र प्यालेस्टिनी कैदीहरूलाई मृत्युदण्ड दिन अनुमति दिने नयाँ इजरायली कानुूको बारेमा छलफल गरेका थिए । 

    १७. टर्कीको वार्षिक मुद्रास्फीति मार्चमा ३०.८७ प्रतिशत कायम

    शुक्रवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार टर्कीको वार्षिक मुद्रास्फीति फेब्रुअरीको ३१.५३ प्रतिशतबाट थोरै घटेर मार्चमा ३०.८७ प्रतिशतमा झरेको छ । यो चार वर्षयताकै न्यून बिन्दु भएपनि मुद्रास्फीति अझै पनि निकै उच्च रहेको छ । टर्किस तथ्याङ्क संस्थानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा उपभोक्ता मूल्य २.९६ प्रतिशतले बढेकोमा मार्चमा भने १.९४ प्रतिशतले मात्र वृद्धि भएको छ । मार्चको मूल्य वृद्धिमा मुख्यतया शिक्षा र आवास क्षेत्रको योगदान रहेको छ । प्रमुख तीन खर्च समूहहरूमा देखिएको वार्षिक परिवर्तन यस प्रकार छः खाद्य तथा गैर–अल्कोहलयुक्त पेय पदार्थमा ३२.३६ प्रतिशत, यातायातमा ३४.३५ प्रतिशत र आवास, पानी, बिजुली, ग्यास तथा अन्य इन्धनमा ४२.०६ प्रतिशतले मूल्य वृद्धि भएको छ । टर्की सन् २०१८ को मुद्रा संकटदेखि नै उच्च मुद्रास्फीतिको मारमा परेको छ । निरन्तरको मूल्य वृद्धिले त्यहाँका घरधुरी र व्यवसायीहरूको क्रयशक्तिमा निकै ह्रास ल्याएको छ । सन् २०२२ को अप्रिलमा टर्कीको वार्षिक मुद्रास्फीति झन्डै ७० प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो । 

    १८. महान्यायाधिवक्ता पाम बोन्डीले पद त्याग गर्ने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता पाम बोन्डीले आफ्नो पदबाट राजीनामा दिने र उप–महान्यायाधिवक्ता टोड ब्ल्यान्चले कार्यवाहक महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्ने जानकारी दिनुभएको छ । ट्रम्पको यो पछिल्लो भनाइ अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपतिले बोन्डीलाई बर्खास्त गरेको खबर सार्वजनिक गरेलगत्तै आएको हो । न्यूयोर्क टाइम्सले बुधवार पहिलो पटक रिपोर्ट गरेको थियो कि ट्रम्पले न्याय विभागमा बोन्डीको नेतृत्व र जेफ्री एपस्टीनका फाइलहरू व्यवस्थापन गर्ने तरिकाप्रति असन्तुष्टि जनाउँदै उनलाई बर्खास्त गर्ने विषयमा छलफल गर्नुभएको थियो । बिहीवार सोही पत्रिकाले उक्त निर्णयबारे जानकार एक व्यक्तिलाई उद्धृत गर्दै ट्रम्पले बोन्डीलाई बर्खास्त गरेको उल्लेख गरेको छ । सीएनएनले बिहीबारको एक रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले हालैका दिनहरूमा आफ्ना सहयोगीहरूसँग बोन्डीलाई हटाउने सम्भावनाबारे कुरा गर्नुभएको थियो र बुधवार उहाँले बोन्डीसँग व्यक्तिगत रूपमा नै यस विषयमा छलफल गर्नुभएको थियो । 

    १९. रुसमा यात्रुवाहक रेल दुर्घटनाः २४ जना घाइते

    रुसको उल्यानोव्स्क क्षेत्रमा शुक्रवार एउटा यात्रुवाहक रेलका सातवटा डिब्बा लिकबाट बाहिरिँदा (डिरेल हुँदा) घाइते हुनेको संख्या २४ पुगेको छ । रसियन रेल्वेका अनुसार मस्कोबाट चेल्याबिन्स्क सहरतर्फ गइरहेको उक्त रेल मस्को समयअनुसार बिहान ६ः२६ बजे ब्रायन्डिनो स्टेशन नजिकै दुर्घटनामा परेको हो । प्राप्त जानकारीअनुसार उक्त रेलमा जम्मा आठवटा डिब्बा थिए र त्यसमा ४ सय भन्दा बढी यात्रुहरू सवार थिए । रेल के कारणले लिकबाट बाहिरियो भन्नेबारे तत्काल खुल्न सकेको छैन । चेल्याबिन्स्क क्षेत्रका गभर्नर एलेक्सी टेक्सलरले दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिनुभयो । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त रेलबाट यात्रुहरूको उद्धार कार्य जारी छ र उनीहरूलाई उल्यानोव्स्क स्टेशनतर्फ पठाइँदैछ । 

    २०. संयुक्त राष्ट्र संघका प्रमुखद्वारा अमेरिका र इजरायललाई इरान विरुद्धको युद्ध रोक्न पुनः आह्वान

    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई इरान विरुद्धको युद्ध रोक्न र इरानलाई आफ्ना छिमेकीहरूमाथि आक्रमण गर्न बन्द गर्न पुनः आह्वान गर्नुभएको छ । महासचिव गुटेरेसले मध्य पूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको हो । उहाँले युद्धले निम्त्याउने मानवीय संकट र विश्वव्यापी आर्थिक असरबारे चेतावनी दिनुभयो । उहाँकाअनुसार, द्वन्द्वले पहिले नै विनाशकारी आर्थिक परिणामहरू निम्त्याउन थालिसकेको छ र यसले विश्वभरका मानिसहरूको जीवनलाई प्रभावित गरिरहेको छ । गुटेरेसले थपे कि संवाद नै एक मात्र बाटो हो जसले विनाशलाई रोक्नसक्छ । उहाँले विश्वका नेताहरूलाई जिम्मेवार बन्न र शान्तिका लागि पहल गर्न आह्वान गर्नुभयो । 

    २१. कृषि तथा हल्टिकल्चर प्रवद्र्धनका लागि सरकारले निःशुल्क प्रदर्शनीस्थलको व्यवस्था गर्नुपर्छः व्यवसायी

    कृषि तथा हल्टिकल्चर व्यवसायको प्रवद्र्धनको लागि सरकारले निःशुल्क प्रदर्शनी स्थलको व्यवस्था गर्नुपर्ने व्यवासायीहरुले माग गरेका छन् । भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पोमा सहभागी व्यवसायीहरुले सरकारसँग सो माग गरेका हुन् । नर्सरी व्यवसायी संघ, नेपालका पूर्वअध्यक्ष कुमार कसजूले मेला तथा प्रदर्शनी गर्नको लागि सरकारले आवश्यक भौतिक पूर्वाधारको विकास गरेर कृषि तथा हल्टिकल्चर उत्पादनको प्रदर्शनी निःशुल्क गर्न दिनुपर्ने बताउनु भयो । हाल नेपालमा ठूला मेला गर्नको लागि ठाउँको अभाव रहेको उहाँको भनाई छ । उहाँले हाल दैनिक ७५ हजार रुपैयाँ चौरको मात्रै भाडा बुझाएर मेला आयोजना गरेको जानकारी दिनुभयो । उहाँले मेला महोत्सव आयोजना गर्ने व्यवस्था सरकारले नै गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरुको उत्पादनको बजारीकरण गर्ने काम सरकारको दायित्व भएको उहाँको भनाई छ । उहाँले प्रदर्शनी स्थल निर्माणको लागी सरकारलाई पटकपटक ध्यानकर्ष गराउँदा पनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । नयाँ सरकारले यसतर्फ ध्यान दिने उहाँको विश्वास छ । 

    २२. ट्राफिक लाईट पालना नगर्नेहरु कारबाहीमा 

    ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाईटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाईटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरु ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् । यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरुको भनाई छ ।

    २३. पर्यावरणीय सभ्यता बिना दिगो विकास सम्भव छैनः विज्ञहरु

    पर्यावरणीय सभ्यता बिना दीगो विकास सम्भव नभएको सरोकारवालाहरुले बताउनुभएको छ ।  चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सार्नुभएको पर्यावरणीय सभ्यताको अवधारणासम्बन्धी छलफल कार्यक्रममा विज्ञहरूले प्रकृति केन्द्रित विकास मोडललाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको हो । अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिँड्नुपर्ने बताउनु भयो । निश्चल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको उल्लेख गर्नुहुँदै उहाँले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने बताउनु भयो । कृषि, औद्योगिक विकास, आवास निर्माण र पर्यटन प्रवद्र्धनजस्ता क्षेत्रहरूमा परम्परागत संस्कृतिसँग आधुनिक प्रविधि जोड्न सके मात्र दीगो विकास सम्भव हुने उहाँको भनाई छ । डा अधिकारीले नेपालको शास्त्रीय ज्ञान र परम्परागत अभ्यासहरूमा शहर विकासदेखि प्राकृतिक स्रोत व्यवस्थापनसम्मका स्पष्ट मार्गनिर्देशन रहेको उल्लेख गर्दै ती असल पक्षलाई पुनःअवलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले शास्त्रका ज्ञान, चीन र युरोपबाट सिकाइएका आधुनिक अभ्यासलाई संयोजन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    २४. काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन

    नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताउनुभएको छ । नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उहाँले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिनुभएको हो । शनिवार काठमाडौंमा  आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाउनु भयो । उहाँले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनु भयो । काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोईरालाको भनाई थियो ।

    २५. नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने

    नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने भएको छ । नेपाल दन्त सामग्री वितरकहरुको संघ (नेपडेण्ट)ले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २६ गतेदेखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो । ३ दिनसम्म चल्ने प्रदर्शनीमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुनिल बराईलीले बताउनु भयो । 
    उहाँले भन्नुभयो,‘यो हाम्रो ३ दिनको प्रोग्राम हो । हामीले फाईभ थाउजेन्ड भन्दा बढी डेन्टिष्टहरु भित्रिने अनुमान गरेका छौँ । स्टल १०३ वटा रहनेछ । यो चैत्र २६ देखि २८ गतेसम्म चल्दैछ ।’

    २६. रास्वपा चमत्कारिक रुपमा शक्तिशाली बन्नुको कारण तत्काल खोजी गर्नुपर्ने हुन्छः एमाले सचिव भट्टराई

    नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । परराष्ट्रविद् समेत रहनुभएका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताउनु भयो । उहाँले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरुबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । दलहरुबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई  कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाई थियो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - १९:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij