२०८२ चैत्र २१ गते शनिवार
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमान सरकारले चालेका भ्रष्टाचार, तस्करी र बिचौलिया विरुद्धका कदमहरूको प्रशंसा गर्दै आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको’ अनुभूति भएको बताएका छन् ।
शनिबार दिउँसो सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै प्रसाईले आफूले विगत चार वर्षदेखि उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अगाडि बढाएकोमा खुसी व्यक्त गरेका हुन् ।
प्रसाईले भिडियोमा भनेका छन्, 'विगत चार वर्षदेखि मैले निरन्तर रुपमा देशका तस्करहरू, भ्रष्टाचारीहरूको विषयमा सडकमा ३०० इन्चका एलइडी लगाएर भिडियो सार्वजनिक गरेँ । जुम्लासम्म पनि १० लाख खर्च गरेर तस्करहरूको फोटो सार्वजनिक गरेँ ।' उनले सोही कार्य गर्दा आफूलाई तत्कालीन सरकारले पटक–पटक थुनेको पनि दाबी गरे ।
उनले देशका १६ मारवाडी परिवार र १० नेपाली बिचौलिया दलाल परिवारले मिलेर बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तदेखि विदेशबाट आउने रेमिटेन्ससम्म कब्जा गरेर देशलाई सखाप पारेको आरोप लगाए ।
हालै गृहमन्त्री र बालेन सरकारले चलाएको 'अपरेसन'ले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । 'मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले जुन तरिकाले अघि बढाउनुभएको छ, पक्रिनुभएको छ, कारबाही गर्नुभएको छ, मलाई खुसी लागेको छ' उनले भने ।
उनले यो अभियानमा सम्पूर्ण नेपालीहरूले सरकारलाई साथ दिनुपर्नेमा जोड दिएका छन् ।
यद्यपि, सरकारका सबै काममा आफ्नो समर्थन नरहेको उनले स्पष्ट पारे । एसपीपी, आईपीएस, तिब्बतीहरूलाई नागरिकता दिने र अमेरिकी सेनालाई नेपालमा प्रवेश गराउने जस्ता विषयमा भने आफ्नो विमति रहेको उनको भनाइ थियो । भिडियोको अन्त्यमा उनले आफूले विगतमा सार्वजनिक गरेका केही व्यवसायी र समूहहरूको तस्बिर तथा विवरणहरू समेत संलग्न गरेका छन्, जसमा पवन गोल्यान, विशाल ग्रुप, शेखर गोल्छा, अरुण सराफ, दीपक भट्ट, लगायतका व्यक्ति तथा समूहहरूको नाम उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij