Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

आज दिनभरको २८ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २८ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 694
    Shares

    • images
    • images
    आज दिनभरको २८ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सर्वोच्च अदालतद्वारा ‘संवैधानिक इजलास पोर्टल’को शुभारम्भः न्याय सम्पादनमा पारदर्शिता र प्रविधिको प्रयोगमा जोड

    सर्वोच्च अदालतले संवैधानिक इजलासका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले ‘संवैधानिक इजलास पोर्टल’को शुभारम्भ गरेको छ । अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले एक कार्यक्रमका बीच उक्त पोर्टलको सार्वजनिक गर्दै न्यायपालिकालाई प्रविधिमैत्री बनाउने दिशामा यो एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । कार्यक्रममा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले संवैधानिक इजलास संविधानको विशिष्ट व्यवस्था भएको र यसको प्रभावकारितासँग नेपालको संवैधानिक विकासक्रम जोडिएको उल्लेख गर्नुभयो । सर्वोच्च अदालतमा मुद्दाको कार्यचाप अत्यन्त उच्च रहेको स्वीकार गर्दै पौडेलले संवैधानिक इजलासमा विचाराधीन करिब २८० थान मुद्दाहरूको शिघ्र फछ्र्यौट हुनुपर्नेमा जोड दिनुभयो । अदालतका कामकारबाही जति बढी सार्वजनिक र पारदर्शी हुन्छन्, न्यायपालिकाप्रतिको जनविश्वास त्यति नै बढ्ने उहाँको तर्क छ । 

    २. सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छुः डोलप्रसाद अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताउनुभएको हो । अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताउनु भयो । उहाँले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पार्नुभयो । 

    ३. संवैधानिक इजलासका ८ वर्ष पुराना मुद्दा ३ महिनाभित्र फछ्र्यौट गर्ने लक्ष्य, नयाँ पोर्टल सार्वजनिक

    कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्नुभएको छ । शुक्रवार नयाँ पोर्टल सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानको रक्षा र न्यायको पारदर्शिताका लागि प्रविधिको प्रयोगलाई जोड दिँदै सर्वोच्च अदालतले संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको उहाँले बतउनु भयो । पोर्टलको उद्घाटन गर्दै का.मु. प्रधानन्यायाधीश मल्लले न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँकाअनुसार संवैधानिक इजलासमा हाल २ सय ८२ वटा मुद्दा विचाराधीन छन् । जसमा २०७४ सालदेखिका ८ वर्ष पुराना मुद्दाहरू समेत बाँकी रहेका छन् । सर्वोच्च अदालतले संवैधानिक इजलासका मुद्दा फछ्र्यौट गर्न निश्चित लक्ष्य निर्धारण गरेको पनि उहाँले बताउनु भयो । निर्वाचन सम्बन्धी विवादहरूलाई दर्ता भएको मितिले ६ महिनाभित्र निरुपण गरिसक्ने अर्को लक्ष्य पनि अदालतले तय गरेको छ । 

    ४. न्यायको पहिलो हक शहीद परिवारलाईः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्नुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरुलाई हुने बताउनु भयो । उहाँले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । 

    ५. निर्माण व्यवसायीको नयाँ नेतृत्वमा निकोलश पाण्डे निर्वाचित

    नेपाल निर्माण व्यवसायि महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ५ सय १४ मत प्राप्त गर्नुभयो भने प्रतिष्पर्धी ए डि लामाले ४ सय १३ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा शिवहरि घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले ५ सय  २७ मत प्राप्त गर्दा प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गर्नुभयो । कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी हुनुभएको छ । नीतिगत उपमहासचिवमा मंगल शाही विजयी हुनुभयो । आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी हुनुभयो । महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी हुनुभएको छ भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी हुनुभएको छ । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी हुनुभयो ।

    ६. तराई मधेसको सिंचाई र ऊर्जा संकट समाधान गर्न मन्त्री श्रेष्ठलाई समिम मियाँ अन्सारीको ध्यानाकर्षण

    राष्ट्र निर्माण दलका अध्यक्ष एवं मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटी तराई मधेसमा व्याप्त पानीको अभाव र विद्युत समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा अन्सारीले नेपालभर नै पानीको अवस्था नाजुक रहेको र विशेषगरी तराई मधेसमा गत वर्ष पानीको अभावले संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको स्मरण गराउनुभएको हो । अन्सारीले तराई मधेसको नाजुक अवस्थालाई सुधार गर्न मन्त्रालयमार्फत ठोस नीति र निर्देशन जारी गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, ‘चुनावका बेला जनतासँग गरेको वाचाअनुसार आउने सरकारले ठोस पहल गर्नेछ भन्ने विश्वास छ। झ्यापझ्याप बत्ती जाने र सिँचाइको समयमा खेतमा पानी नपुग्ने समस्या समाधान गर्न मन्त्रीज्यूको क्षमतामा मलाई विश्वास छ । तराई मधेसको अवस्था अत्यन्तै नाजुक छ। त्यो नाजुक अवस्थालाई ठोस रुपमा मन्त्रालय मार्फत एउटा ठोस नीति र निर्देशन होस् भन्ने मेरो चाहना छ ।’

    ७. जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग

    रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय रहेकाले महत्व बुझेर राष्ट्रिय विदा दिन माग गर्नुभएको हो । अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दु श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक तथा धार्मिक धरोहरलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्ने बताउनु भयो । अध्यक्ष दासले सरकारले दशैँ, तिहार, बुद्ध जयन्ती जस्ता पर्वहरूमा विदा दिँदै आएको सन्दर्भ उल्लेख गर्नुहुँदै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा राख्नुभयो ।  

    ८. केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेन–जी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

    गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बिहीवार राति उहाँले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको हो । घाईतेको पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आउनुभएको छ । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिनुभयो । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल जानुभएको थियो । डा. सुनिल शर्मालाई भेटेर उहाँले घाइतेहरूको अवस्था समेत बुझ्नुभएको थियो । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताउनु भयो । 

    ९.काठमाडौंको दक्षिणी भेगमा ‘मनमैजु जात्रा’ को भव्य रौनक (तस्बिरहरु)

    काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा अवस्थित ऐतिहासिक एवं सांस्कृतिक बस्ती मनमैजु यतिबेला उत्सवमय बनेको छ । यस क्षेत्रको पहिचानका रूपमा रहेको प्रसिद्ध ‘मनमैजु जात्रा’ (इन्द्रायणी जात्रा) परम्परागत विधिअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । लिच्छविकालीन इतिहास बोकेको यो जात्राले स्थानीय नेवार समुदायको मात्र नभई समग्र उपत्यकाकै धार्मिक सहिष्णुता र सांस्कृतिक वैभवलाई झल्काएको छ । ऐतिहासिक र सांस्कृतिक महत्व स्थानीय जनश्रुतिअनुसार मनमैजु देवीलाई इन्द्रायणीको रूपमा पुज्ने गरिन्छ । ‘मनमैजु’ शब्दको अर्थ ‘मनकी आमा’ भन्ने बुझिन्छ । प्राचीन कालदेखि चल्दै आएको यस जात्राको मुख्य उद्देश्य गाउँमा अनिकाल नलागोस्, महामारी नफैलियोस् र सबैको कल्याण होस् भन्ने धार्मिक विश्वास रहेको छ । उज्यालो रात र आस्थाको यो संगमले मनमैजु जात्रालाई यस वर्ष पनि एक अविस्मरणीय पर्वको रूपमा स्थापित गरेको छ ।

    १०. करातेकी एरिका र टेबल टेनिस स्यान्टु एनएनआइपिए स्पोट्र्स अवार्डको सर्वोकृष्ट खेलाडी

    नेपाली करातेकी सफल खेलाडी  एरिका गुरुङ र छनोट पार गरेर ओलम्पिक खेल्ने टेबल टेनिसका स्यान्टु श्रेष्ठ २० औं एनएनआइपिए स्पोट्र्स अवार्ड २०८१ मा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित चन्डेश्वरी मन्दिर परिसरमा शुक्रवार भएको कार्यक्रममा टेबल टेनिसका ओलम्पियन स्यान्टु र कराते वान प्रिमियर लिगमा काँस्य पदक विजेता एरिका एनएनआइपिए स्पोट्र्स अवार्ड २०८१ को सर्वोत्कृष्ट खेलाडी भएका हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा भएको अवार्डमा २६  वटा खेलका खेलाडीबाट सर्वोत्कृष्ट भए । स्यान्टुले दक्षिण एसियाली छनोट चरण पार गर्दै पेरिस ओलम्पिक जितेका थिए । उनी नेपालबाट छनोट चरणपार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन् । 

    ११. उपसभामुख चयनबारे रास्वपाको स्पष्टोक्तिः ‘पहिला सभामुखको टुङ्गो लागोस्, अनि मात्र छलफल’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल शुरु नगरेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताउनुभएको हो । उहाँले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पार्नुभयो । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू र संसदीय अभ्यासलाई सन्तुलित रूपमा लैजानुपर्नेमा जोड दिँदै उहाँले कतिपय अवस्थामा उम्मेदवारी नहुने परिस्थिति पनि आउन सक्ने संकेत गर्नुभयो । लामिछानेले अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको चरणवद्ध विकासले नै आगामी बाटो तय गर्ने विश्वास व्यक्त गर्नुभयो । लामिछानेले भने। उनले सभामुखले प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दाहरूलाई बन्देज लगाउने खालको व्यवहार गर्न नहुनेमा खबरदारी गर्नुभयो । 

    १२. झन्डै ३ वर्षको बन्दपछि संयुक्त राष्ट्रसंघले खार्तूममा कार्यालय पुनः खोल्यो

    संयुक्त राष्ट्रसंघले बिहीवार खार्तूमस्थित आफ्नो मुख्यालय पुनः सञ्चालनमा ल्याएको छ । यसका साथै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको कार्य सञ्चालन पनि सुचारु भएको छ । जसले देशमा द्वन्द्व शसुरु भएपछि झन्डै तीन वर्षदेखि स्थगित भएका गतिविधिहरूलाई बिस्तारै पूर्ववत अवस्थामा फर्काउन बाटो प्रशस्त गरेको छ । सुडानका विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री मोहि एल–दिन सलेम, संयुक्त राष्ट्र संघका अधिकारीहरू र खार्तूम राज्य सरकारका प्रतिनिधिहरू पुनः सञ्चालन समारोहमा सहभागी भएका थिए । सुडानी मन्त्रीले एक विज्ञप्ति जारी गर्दै कार्यालयको पुनरागमनले खार्तूम राज्य सरकार र संयुक्त राष्ट्र संघ बीचको सहयोगको पुनः थालनीलाई झल्काउने बताउनु भयो । उहाँले यस कदमलाई नवीकरण गरिएको अन्तर्राष्ट्रिय साझेदारी र देशको स्थिरताका प्रयासहरूका लागि एउटा ’सकारात्मक सूचक’ को रूपमा प्रशंसा गर्नुभयो । 

    १४. प्रजातान्त्रिक गणतन्त्र कङ्गोद्वारा एमपक्स प्रकोप जनस्वास्थ्य आपतकालको रूपमा अन्त्य भएको घोषणा

    स्वास्थ्य अधिकारीहरूकाअनुसार वर्षौंको प्रतिकार्य प्रयासपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को सरकारले बिहीवार एमपक्स प्रकोप राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकालका रूपमा अन्त्य भएको घोषणा गरेको छ । सरकारी अधिकारी, स्वास्थ्य विज्ञ र अन्तर्राष्ट्रिय साझेदारहरूको उपस्थितिमा आयोजित एक आधिकारिक समारोहमा यो घोषणा गरिएको हो । स्वास्थ्य मन्त्री रोजर काम्बाले महामारीको अन्त्य इबोला लगायतका विगतका स्वास्थ्य संकटहरूबाट सिकिएका पाठहरू र सचेत निर्णयहरूको परिणाम भएको बताउनु भयो । उहाँले देशले एमपक्स, हैजा र इबोला सहित धेरै महामारीहरूको एकैसाथ सामना गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले भाइरस पुनः बल्झिन नदिन निरन्तर निगरानी र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो । 

    १५. भारतको औद्योगिक उत्पादन फेब्रुअरीमा ५.२ प्रतिशतले बढ्यो

    औद्योगिक उत्पादन सूचकाङ्कद्वारा मापन गरिएको भारतको कारखाना गतिविधिमा फेब्रुअरी महिनामा ५.२ प्रतिशतको वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी तथ्याङ्कअनुसार, उत्पादन क्षेत्रमा भएको ६ प्रतिशतको वृद्धिका कारण औद्योगिक उत्पादनमा यो उल्लेख्य वृद्धि देखिएको हो । मन्त्रालयकाअनुसार फेब्रुअरी २०२६ मा खानी, उत्पादन र विद्युत क्षेत्रको वृद्धिदर क्रमशः ३.१ प्रतिशत, ६.० प्रतिशत र २.३ प्रतिशत रहेको छ । 

    १६. भारतमा व्यावसायिक एलपीजीको मूल्य प्रतिसिलिण्डर २ अमेरिकी डलरले बढ्यो

    मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिका कारण भारतमा बुधवारदेखि लागू हुनेगरी १९ केजीको व्यावसायिक खाना पकाउने ग्यास (एलपीजी) को मूल्य १९५.५० भारतीय रुपैयाँ (करिव २.०९ अमेरिकी डलर) ले वृद्धि गरिएको छ । व्यावसायिक एलपीजी होटल र रेस्टुरेण्टहरूमा खाना पकाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । यद्यपि १४.२ केजीको घरेलु एलपीजी सिलिण्डरको मूल्य भने ९ सय १३ भारतीय रुपैयाँ (करिव ९.७७ अमेरिकी डलर) मा यथावत रहेको छ । मूल्य वृद्धिपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा व्यावसायिक एलपीजी सिलिण्डर २ हजार ७८ रुपैयाँ ५० पैसा भारतीय रुपैयाँ (करिव २२.२५ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । 

    १७. म्यानमारमा अप्रिल आज नयाँ राष्ट्रपति चयन गरिने

    म्यानमारको संघीय संसदले आगामी शुक्रवार (अप्रिल ३) मुलुकको नयाँ राष्ट्रपति चयन गर्ने घोषणा गरेको छ । राष्ट्रपतिका लागि प्रश्तावित तीनै जना उपराष्ट्रपतिहरूको योग्यता छानबिन प्रक्रिया पूरा भएपछि संसदले बिहीबार यस्तो जानकारी दिएको हो । राष्ट्रपतिका लागि मिन आङ ह्लाइङ, नान नि नि आये र उ न्यो सा गरी तीन जना उपराष्ट्रपतिहरू प्रतिष्पर्धामा रहेका छन् । यसअघि मंगलवार तल्लो सदन प्युिथु ह्लुट्टाका निर्वाचित प्रतिनिधिहरूले मिन आङ ह्लाइङलाई र माथिल्लो सदन अम्योथा ह्लुट्टाका प्रतिनिधिहरूले नान नि नि आयेलाई उपराष्ट्रपतिका रूपमा चयन गरेका थिए । सोही दिन पछि संघीय संसदका दुवै सदनका सैन्य प्रतिनिधिहरूको समूहले उ न्यो सालाई तेस्रो उपराष्ट्रपतिका रूपमा निर्वाचित गरेको थियो । 

    १८. सिरियामा ५५ लाख विस्थापित, १ करोड ३३ लाख खाद्य असुरक्षामाः संयुक्त राष्ट्र संघ

    सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन् । राष्ट्र संघकाअनुसार हाल सिरियामा करिव ५५ लाख मानिस विस्थापित भएका छन् भने १ करोड ३३ लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेका छन् । खाद्य असुरक्षा खेपिरहेकामध्ये ७२ लाख मानिसले खाद्यान्नको चरम अभाव झेलिरहेका छन् । बिहीवार आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला तथा आपतकालीन राहत संयोजक एवं संयुक्त राष्ट्र संघका उप–महासचिव टम फ्लेचर र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रशासक अलेक्जेन्डर डी क्रुले सिरियाली विदेश मामिला अधिकारी कुतैबा कादिससँगै सिरियाका लागि निरन्तर अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुभएको छ । फ्लेचरले हालैका महिनाहरूमा सिरियामा केही सकारात्मक प्रगति भएको उल्लेख गरे पनि एक दशकभन्दा लामो युद्धका कारण मानवीय अवस्था अझै भयावह रहेको चेतावनी दिनुभएको छ । 

    १९. मध्यपूर्वमा जारी तनावका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाई

    परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाई भएको जनाएको छ । शुक्रवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा ३८ वटा शव नेपाल ल्याउन ढिलाई भएको जानकारी गराउनुभएको हो । उहाँकाअनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शवहरू नेपाल ल्याउन बाँकी छ । विभिन्न समयमा मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताउनु भयो । उहाँले मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु तथा २१ जना घाइते भएको जानकारी पनि दिनुभयो ।  

    २०. मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

    मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सञ्चालन गरेको छ । शुक्रवार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार काठमाडौं–दुबई, शनिवार दुबई–काठमाडौं, आईतवार काठमाडौं–दमाम, आईतवार दमाम–काठमाडौं उडान हुनेछन् । उहाँले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिनुभयो ।

    २१. डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख हुने निश्चित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुख चयन हुने निश्चित भएको छ । शुक्रवार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव संघीय संसद सचिवालयमा दर्ता भएकाले उहाँ सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । सभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रश्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिनुभएको हो । आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रश्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ । 

    २२. युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न भन्दै एमाले नेतृत्वलाई पुष्पगुच्छा उपहार

    नेकपा (एमाले)का युवा÷विद्यार्थीहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेका छन् । शुक्रवार पार्टीको सचिवालय बैठकमा सहभागी हुन पुग्नुभएका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा उपहार स्वरुप पुष्पगुच्छा दिँदै उनीहरुले सो दबाब दिएका हुन् । पार्टी संसदीय दलको नेता चयनमा सांसद सुहाङ नेम्वाङलाई बनाउनुपर्छं भन्ने लविङ गर्दै आएका उनीहरुले अपेक्षाअनुसार परिणाम नआएपछि पार्टी नेतृत्वको आलोचना गर्न शुरु गरेका छन् । विशेष गरी अनेरास्ववियु आवद्ध विद्यार्थी नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नभए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने भन्दै नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दवाव बढाएका हुन् । अहिले च्यासलमा प्रतिनिधि सभाको बिहीवारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले राख्नुभएका धारणाबारे छलफल गर्न बैठक जारी छ ।

    २३. रास्वपा उपसभापति अर्यालले सभामुखका लागि उम्मेदवारी दिए

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सभामुखका लागि उम्मेदवारी दिनुभएको छ । शुक्रवार सिंहदरवारस्थित संघीय संसद सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि मनोनयनपत्र बुझाउनुभएको हो । सो अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरु सहभागी हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा करिव दुई तिहाई मत १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ । यसअघि उहाँले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भुमिका पनि निर्वाह गर्नुभएको थियो ।

    २४. सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ । विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाई थियो । शुक्रवार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पार्नुभयो । 

    २५. सरकारले जन चाहना अनुसार काम गर्छः डा. अमरेशकुमार सिंह

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गर्नुभएको हो । सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताउनु भयो । जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाई थियो । उहाँले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरुलाई .३ महिनासम्म त्यसको सुक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गर्नुभयो । 

    २६. धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब माथि पुग्यो

    धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कुल पुँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण रु.४५४३ अर्ब ८१ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेप्से परिसूचक पनि बढेको छ । २०८१ फागुन मसान्तमा २ हजार ७३६.४९ अंकमा रहेको नेप्से सूचकाङ्क २०८२ फागुन मसान्तमा बढेर २ हजार ८२०.४५ पुगेको छ । यद्यपि बजार पुँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात भने केही घटेको छ । २०८१ फागुनमा बजार पुँजीकरण जीडीपीको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशतमा झरेको छ । यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ । २०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनी २८६ पुगेका छन्, जबकि २०८१ फागुनमा यस्तो संख्या २६८ थियो । सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन् ।

    २७. वैदेशिक रोजगार विभागद्वारा टोकन प्रणाली खारेज, एक दिनमै श्रम स्वीकृति दिन शुरु

    वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरेको छ । विभागकाअनुसार टोकन प्रणाली खारेज गरेर एक दिनमै श्रम स्वीकृति दिने कार्य थालिएको हो । विभागकी महानिर्देशक मिरा आचार्यले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा नेपाली श्रमिकको हकहित संरक्षण गर्नका लागि विभाग अघि बढेको बताउनु भयो । उहाँकाअनुसार  विभागले मिति चैत १५ मा सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्र बिना वैदेशिक रोजगारसम्बन्धी कुनैपनि काम गरेमा कारबाही हुने सुचित गराएको जानकारी दिनुभयो ।
    आचार्यकाअनुसार इजाजतप्राप्त म्यानपावर कम्पनीहरूले अन्तर्वार्ताका क्रममा भराउने फाराम अंग्रेजी भाषामा मात्र भएकोले श्रमिकले नबुझी हस्ताक्षर गर्नुपरेको गुनासो सम्बोधन गर्दै विभागले नेपाली भाषा वा नेपाली र अंग्रेजी दुवै भाषामा फाराम भर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ । सो व्यवस्था नगरे कानुनअनुसार कारबाही हुनेछ । 

    २८. नेकपा (एमाले) सचिवालय बैठकः विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णयको विरोध

    प्रतिपक्ष दल नेकपा एमालेले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गरेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गर्दै एमालेले सो निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी, सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयले स्वतन्त्र प्रेसको भुमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै त्यसको समेत भत्र्सना गरिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  उपमहासचिव लेखराज भट्टले बैठकले हालै सम्पन्न संसदीय दलको नेताको निर्वाचन पूर्णतः लोकतान्त्रिक र विधानसम्मत भएको स्पष्ट पार्दै उपाध्यक्ष रामबहादुर थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - २०:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij