२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’माथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत आफूले भोगेको घटनाबारे सार्वजनिक बयान दिँदै लम्सालमाथि जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएकी हुन्।
पीडित युवतीका अनुसार, घटना एक वर्षअघि लम्साल अमेरिका पुगेका बेला भएको हो। सानैदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग संघर्ष गरिरहेकी उनी त्यतिबेला मानसिक रूपमा कमजोर अवस्थामा थिइन्। परिवारकै चिनजानका कारण ‘दाइ’जस्तै विश्वास गरेको व्यक्तिले आफ्नै अपार्टमेन्टमा यौन दुर्व्यवहार गरेको उनले दाबी गरेकी छन्।
उनले आफ्नो बयानमा उल्लेख गरेकी छन् कि, लामो समयदेखि चिनजान भएका व्यक्तिलाई विश्वास गरेर अपार्टमेन्टमा बोलाउँदा स्वास्थ्य अवस्थाबारे खुलेर कुरा गरेकी थिइन्। “मैले आफ्ना सबै पीडा र संघर्ष सुनाएँ, तर जसलाई दाइ मानेकी थिएँ, उसैले अमानवीय व्यवहार गर्यो,” भन्दै उनले आफू बलात्कृत भएको दाबी गरेकी छन्।
घटनापछि गहिरो मानसिक आघातमा परेकी उनले परिवार टुट्ने डरले कसैलाई तत्काल जानकारी दिन नसकेको उल्लेख गरेकी छन्। “भन्न चाहन्थेँ, तर त्यो अवस्थामा परिवार नै टुट्छ कि भन्ने डर लाग्यो,” उनको भनाइ छ।
पीडितले सामाजिक सञ्जालमै लम्साललाई ट्याग गर्दै “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ?” भन्ने प्रश्न समेत उठाएकी छन्।
आरोप लगाउने युवती फिल्मकर्मी परिवारसँग सम्बन्धित र स्वयं कलाकारसमेत रहेको बताइएको छ। उनलाई नजिकबाट चिन्ने एक कलाकारले युवती सरल स्वभावकी भएकाले झूटो आरोप लगाएको जस्तो नलागेको प्रतिक्रिया दिएका छन्।
उक्त घटनाले कलाकार समुदायभित्र गम्भीर प्रश्न उठाएको छ भने आरोपबारे औपचारिक अनुसन्धान आवश्यक रहेको आवाजसमेत उठ्न थालेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij