२०८२ चैत्र १९ गते बिहिवार
१. सरकारको १०० दिने योजनामा जनसरोकारका मुद्दा छुटेकोमा नेतृ साहको आपत्ति
नेपाल कम्युनिष्ट पार्टीकी नेतृ मदनकुमारी साहले सरकारले घोषणा गरेको ‘१०० दिनका १०० काम’ मा शिक्षा, वैदेशिक रोजगारी र कृषिका गम्भीर समस्याहरू नसमेटिएको भन्दै आपत्ति जनाउनुभएको छ । राष्ट्रिय सभाको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारलाई बदलाको भावना त्यागेर विधिको शासन र जनचाहना अनुरूप काम गर्न आग्रह गर्नुभएको हो । नेतृ साहले सरकारको १०० दिने कार्ययोजनाको स्वागत गरे पनि त्यसमा शिक्षा क्षेत्रको बेथिति, वैदेशिक रोजगारीका समस्या र युद्धका कारण जोखिममा परेका युवाहरूको व्यवस्थापनबारे कुनै ठोस योजना नभएको बताउनु भयो । कृषि क्षेत्रमा प्रयोग भइरहेका विषादी र पुनः उत्पादन नहुने बीउका कारण खाद्य सुरक्षामा खतरा बढिरहेको भन्दै उहाँले सरकारलाई समयमै सचेत हुन आग्रह गर्नुभयो । सीमा समस्या र कूटनीतिक बेथितिलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । लोकतन्त्रमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै साहले कुनैपनि बदलाको भावनाबाट कार्य नगर्न सरकारलाई चेतावनी दिनुभयो ।
२. संविधान संशोधनको आवश्यकता र औचित्य छः खम्मबहादुर खाती
नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता र औचित्यता रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खातीले संविधान संशोधनका लागि गठबन्धन सरकारले यसअघि पनि पहल गरेको स्मरण गराउनुभएको हो । उहाँले वर्तमान संवैधानिक व्यवस्था खर्चिलो भएको र यसमा परिमार्जन आवश्यक रहेको औंल्याउनु भयो । खातीले न्यायपालिकाको सुधारका विषयमा पनि जोड दिनुभयो । संशोधन प्रक्रियाका बारेमा स्पष्ट पार्दै उहाँले कुनै छुट्टै आयोग वा कमिटी गठन गरेर मात्र यो सम्भव नहुने बताउनु भयो । उहाँकाअनुसार संविधान संशोधनको प्रक्रिया सार्वभौम संसदबाटै अघि बढ्नुपर्नेछ ।
३. शुरु भयो माध्यमिक शिक्षा परीक्षा
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकसाथ शुरु भएको छ । जनकपुरधाममा पनि बिहान ८ बजेदेखि परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार यस वर्ष देशभर ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी एसईईमा सहभागी छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न सबै तयारी पूरा गरेको जनाएको छ । परीक्षा केन्द्रमा मोबाइल फोन, घडी लगायतका सामग्री प्रतिबन्ध गरिएको छ भने कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
४. राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा निर्वाचनको मिति तोक्नुभएको हो । अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गर्नुभएको जानकारी दिनुभयो । उहाँले सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन समेत दिनुभएको छ । यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मङ्गलवारको मिति तोकिएको छ । नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत्र २२ गते आईतवार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
५. राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी
मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण बैठक शुरु भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ । बिहान ११ बजेदेखि शुरु भएको बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूको सहभागिता छ । यस्तै, राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भुमिकालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।
६. महिलाहरू आफैँमा सशक्त छन्, अब सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि नेतृत्व चाहिन्छः राजेशकाजी श्रेष्ठ
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली महिलाहरू आफैँमा सक्षम र सशक्त रहेको बताउनुभएको छ । नेपाल महिला चेम्बरद्वारा आयोजित ‘हीरक जयन्ती’ तथा ७५ अग्रणी महिला सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले महिला सशक्तिकरणको चर्चा गरिरहँदा महिलाहरूले प्राप्त गरेको सफलताले उनीहरू आफैँमा पूर्ण सक्षम रहेको प्रमाणित गरिसकेको उल्लेख गर्नुभएको हो । पूर्वअध्यक्ष श्रेष्ठले ७५ वर्षको इतिहास बोकेको चेम्बरले विभिन्न क्षेत्रमा ‘रेकर्ड ब्रेक’ गर्ने र अग्रणी भुमिका खेल्ने ७५ जना महिलाहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनु भयो । आफ्नो कार्यकालमा भएका सुधारका कामहरूको चर्चा गर्दै श्रेष्ठले पहिले ‘महिला समिति’का रूपमा रहेको संरचनालाई परिमार्जन गरी ‘नेपाल महिला चेम्बर’ नामकरण गरिएको र यसलाई विधानमै व्यवस्था गरेर स्वायत्त बनाइएको जानकारी दिनुभयो ।
७. महिला सशक्तिकरण अब सामाजिक आवश्यकता मात्र होइन, राष्ट्रिय प्राथमिकता होः कमलेश अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले महिला सशक्तिकरण अब केवल सामाजिक आवश्यकता मात्र नभई राष्ट्रिय प्राथमिकताको विषय भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वर्ष (हीरक जयन्ती) को उपलक्ष्यमा नेपाल महिला चेम्बरद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो धारणा राख्नुभएको हो । उहाँले नेपालको आर्थिक समृद्धि, सुशासन र दिगो विकासको यात्रामा महिलाको सक्रिय सहभागिता बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य अधुरो रहने स्पष्ट पार्नुभयो । अध्यक्ष अग्रवालले २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सको ७५ वर्षको गौरवशाली इतिहास स्मरण गर्दै निजी क्षेत्रको क्षमता अभिवृद्धि र राष्ट्रिय अर्थतन्त्रमा यसको भुमिकालाई सबल बनाउन चेम्बरले निरन्तर काम गर्दै आएको बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकारबीच लगानीमैत्री वातावरण निर्माणका लागि चेम्बरले पुलको काम गरिरहेको उल्लेख गर्नुभयो ।
८. बालाजु बाइसधारामा श्रद्धाको सागर (फोटो फिचर)
बालाजुको बाइसधारामा यतिबेला भक्तजनहरूको ठूलो घुइँचो छ । विशेषगरी ‘ल्हुति पुन्हि’ का अवसरमा लाग्ने यस मेलामा बाइस वटा ढुङ्गेधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिर परिसरलाई रङ्गीचङ्गी ध्वजापताकाले सजाएर पवित्र बनाइएको छ । भक्तजनहरू एकाबिहानैदेखि लामवद्ध भई प्रत्येक धाराबाट झर्ने जलले स्नान गरिरहेका छन् । साधु–सन्तहरूबाट आशीर्वाद लिने र धार्मिक विधिअनुसार पूजा–अर्चना गर्नेहरूको उत्साहले यस क्षेत्रको वातावरण अत्यन्तै आध्यात्मिक र शान्त तुल्याएको छ । यो केवल एउटा मेला मात्र नभएर नेपाली जनजीवनमा रहेको अटुट धार्मिक आस्थाको जीवन्त प्रदर्शन पनि हो । बालाजुको बाइसधारा केवल एउटा ऐतिहासिक संरचना मात्र होइन, यो त प्रकृति र मानवीय भावनाको एउटा सुन्दर महाकाव्य हो । ढुङ्गाका कलात्मक धाराबाट अविरल झरिरहेका पानीका थोपाहरूले इतिहासका अनेकन सुस्केराहरूलाई पछ्याइरहेका जस्तो लाग्छ । चाउरिएका अनुहारका श्रद्धा र बालबालिकाका कौतुहलताले मानिस र प्रकृतिको गहिरो सम्बन्धलाई उजागर गर्दछन् ।
९.बालाजु बाइसधारा मेलाः हजारौं भक्तजनको घुइँचो
काठमाडौंको ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा चैत शुक्ल पूर्णिमाका अवसरमा लाग्ने परम्परागत मेला शुरु भएको छ । बिहानैदेखि हजारौंको संख्यामा भक्तजनहरू बाइसधारामा स्नान गर्न पुगेका छन् । धार्मिक मान्यताअनुसार आजको दिन बाइसधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ । विशेषगरी छाला सम्बन्धी रोग निको हुने जनविश्वासका कारण पनि यहाँ स्नान गर्नेहरूको ठूलो भीड लाग्ने गर्दछ । मेला व्यवस्थापन समितिकाअनुसार यस वर्ष भक्तजनको सुरक्षा र सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको छ । सुरक्षाकर्मी र स्वयंसेवकहरूको बाक्लो उपस्थिति रहेको छ भने ट्राफिक व्यवस्थापनलाई पनि चुस्त बनाइएको छ । बालाजु उद्यान भित्र रहेको बाइसधाराको आफ्नै ऐतिहासिक महत्व छ । मल्लकालीन समयमा निर्माण गरिएका यी धाराहरू काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् ।
१०. प्रधानमन्त्री कपमा आर्मी र सुदूरपश्चिमको चौथो जित
बसिर अहमदको अलराउण्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । जनकपुरमा बिहीवार भएको लिगको आफ्नो पाँचौं खेलमा आर्मीले मधेश प्रदेशमाथि ६ विकेटको जित निकाल्दा बसिरले अलराउण्ड प्रदर्शन गरे । बसिरले ४१ रनको अविजित र तीन विकेट लिए । पाँचौं खेलमा आर्मीको चौथो जित हो । रामजानकी बहुउद्देश्यीय क्रिकेट मैदानमा मधेशले एक सय ८५ रनको लक्ष्य दियो । जवाफमा आर्मीले २९.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । ओपनरद्वय तृतराज दास र विनोद भण्डारीले ६७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । तृतराजले ६९ र कप्तान विनोदले ३२ रनको योगदान दिए । तृतराजले ७२ बलमा सात चौका र तीन छक्का प्रहार गरे । २९ बल खेलेका विनोदको इनिङमा ६ चौका रह्यो ।
११. प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्ः कृष्णप्रसाद सिटौला
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) पालना गर्न सुझाव दिनुभएको हो । नयाँ सरकार गठनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सिटौलाले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जनताको आकांक्षा पूरा गर्न सरकारले संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिटौलाले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको कतिपय निर्णयप्रति आपत्ति जनाउनु भयो । कुनै आयोगको प्रतिवेदन सार्वजनिक नगरी वा संसद्मा पेश नगरी हतारोमा पक्राउ गर्ने र कार्यान्वयन गर्ने शैलीले कानूनी राज्यको उपहास गरेको उहाँको तर्क छ । काँग्रेसको इतिहास स्मरण गर्दै सिटौलाले आफूहरू बदलाको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्नुभयो ।
१२. निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न, केही समयपछि गणना हुने
नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि बिहीवार भएको मतदान कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ । महासङ्घको चैत १७ गतेदेखि शुरु भएको अधिवेशन अन्तर्गत बिहीवार दिउँसो ४ः१० बजे मतदान सकिएको हो । कुल ९ सय ६१ मतदाता रहेकोमा ९ सय ४२ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान कार्य सम्पन्न भएसँगै अहिले मतपेटिका सङ्कलन गरी मतगणना शुरु गर्ने तयारी भइरहेको छ । यस पटकको निर्वाचनमा दुई प्यानलबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । वर्तमान नेतृत्वको प्यानलबाट एडि लामाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने परिवर्तनको उद्घोषसहित निकोलस पाण्डे पनि अध्यक्षको प्रतिष्पर्धामा हुनुहुन्छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि महासचिव रोशन दाहाल र एसोसिएट उपाध्यक्ष रामजी पन्त मुकेशबीच चुनावी प्रतिष्पर्धा भइरहेको छ । एसोसिएट उपाध्यक्ष पदमै एन सि शेर्पा र नरहरि थपलिया तथा महासचिव पदमा शिवहरि घिमिरे र बलिभद्र राना चुनावी मैदानमा हुनुहुन्छ ।
१३. नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा छः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले २० औँ अधिवेशनको शुभारम्भ गर्दै नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको र त्यसलाई सम्बोधन गर्नु संसदको साझा दायित्व भएको बताउनुभएको छ । २०७४ साल फागुन २१ गतेदेखि शुरु भएको राष्ट्रिय सभाले ८ वर्षको अवधिमा १९ वटा अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले यस अवधिमा सभाले एक परिपक्व, सुझबुझयुक्त र स्थायी सदनको परिचय दिन सफल भएकोमा गर्व व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थामा जनताको जनादेश सर्वोपरी हुने उल्लेख गर्दै सरकारलाई नीति, कानून र निगरानीका माध्यमबाट उचित दिशानिर्देश गर्नु संसदको दायित्व भएको बताउनु भयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको सहकार्य लोकतान्त्रिक संसदीय अभ्यासको आधार भएकोमा जोड दिनुभयो । बानेश्वरस्थित संघीय संसद भवनमा भएको क्षति र सिंहदरबारस्थित नयाँ भवन सम्पन्न नभइसकेको कारण चुनौतीपूर्ण परिस्थितिमा सभा सञ्चालन गर्नुपरेको बताउनु भयो ।
१४. नयाँ सरकारका नीति र कार्यक्रम अधुरा छन्, दलित अधिकारका लागि बजेट र कानून चाहियोः सांसद तुलप्रसाद विश्वकर्मा
राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले वर्तमान सरकारले अघि सारेका कार्ययोजना र नीति कार्यक्रमहरू अधुरो रहेको टिप्पणी गर्नुभएको छ । २० औँ अधिवेशनको प्रथम बैठकमा बोल्दै सांसद विश्वकर्माले देश र जनताको आवश्यकता अनुसारका कार्यक्रमहरू आउन नसकेको बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिय सार्वभौमिकताको रक्षा नै प्रमुख कुरा भएको उल्लेख गर्दै नयाँ सरकार यी आधारभूत विषयमा अडिग रहनसक्छ कि सक्दैन भन्ने प्रश्न उठाउनु भयो । उहाँले विगतमा सदनभित्रै उठेका ‘मुनरो डक्ट्रिन’ र नेपाली सेनाको संख्या घटाउने जस्ता प्रस्तावहरूप्रति सरकारको धारणा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । सांसद विश्वकर्माले नेपालको संविधानको धारा ४० ले दलितहरूलाई विशेष अधिकार प्रत्याभुत गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कानून अहिलेसम्म बन्न नसक्नु विडम्बनापूर्ण भएको बताउनु भयो ।
१५. देशभर एसईई परीक्षा आजदेखि शुरु
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीवारदेखि देशभर शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको हो । यस वर्ष कुल ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ वटा तथा जापानमा १ वटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी यस परीक्षामा सामेल छन् । उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीकाअनुसार सबैभन्दा बढी परीक्षार्थी काठमाडौं जिल्लामा छन् । काठमाडौंका १३५ परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिनेछन् । सबैभन्दा कम मनाङ जिल्लामा एउटा परीक्षा केन्द्रबाट मात्र ३७ जना विद्यार्थी सहभागी हुँदैछन् । जापानको परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सामेल छन् ।
१६. ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छः प्रमुख अधिकारी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न समेत नआउने चालकहरूलाई अब नछोडिने स्पष्ट पार्नुभयो । एसएसपी अधिकारीले ट्राफिक प्रहरीको पहिलो मिसन नै व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताउनु भयो । उहाँले प्रहरी पनि समाजकै हिस्सा भएको स्वीकार गर्दै कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले राजश्व खातामा गएको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भन्दै यसमा स्पष्ट हुन आग्रह गर्नुभयो । सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण ९० प्रतिशत राम्रा मजदुरहरू बद्नाम भइरहेको एसएसपी अधिकारीको भनाइ छ ।
१७. जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने काँग्रेसको निर्णय
नेपाली काँग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानून मिचिएमा सचेत गराउने निर्णय गरेको छ । नयाँ निर्वाचित संसदको पहिलो संयुक्त संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले यस्तो जानकारी दिनुभएको हो । सिंहदरबारमा बसेको बैठकमा पार्टीको आगामी भुमिका र संसदमा सांसदहरूको सक्रियताका विषयमा घनिभुत छलफल भएको उहाँले बताउनु भयो । तर सरकारले कतै विधि र कानून मिच्ने ढंगले जनता र देशलाई अहित हुने कुरा ल्याएमा काँग्रेसले कडा रूपमा सचेत गराउने उहाँको भनाइ छ । बैठकमा संसदमा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ ।
१८. एमाले सांसद दंगालद्वारा ओली र लेखकको गिरफ्तारीको भत्र्सना, कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग
नेकपा एमालेका सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाउनुभएको छ । उहाँले फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र साहलाई बधाई दिँदै सरकारको काम गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पार्नुभएको हो । सांसद दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो गरी’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाउनु भयो । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सन्दर्भमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेजीको माग गर्नुभयो । उहाँले आयोगका अध्यक्ष कार्कीले आयोग गठन हुनुपूर्व नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणालाई पुष्टि गर्नेगरी मात्र प्रतिवेदन तयार पारिएको दाबी गर्नुभयो ।
१९. आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै
आज चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । देशका विभिन्न भागमा हनुमान मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौंको प्रसिद्ध हनुमानढोका, साँखु, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रमा बिहानैदेखि पूजा–आराधना, हनुमान चालीसा पाठ र भजनकीर्तनको कार्यक्रम आयोजना गरिएको छ । भक्तहरूले सिन्दुर, लड्डु, फलफूल र माला चढाएर हनुमानजीको दर्शन गरेका छन् । हनुमानलाई बल, बुद्धि, भक्ति र संकटमोचकको प्रतीक मानिन्छ । भगवान रामका परम भक्त हनुमानको जन्म चैत्र महिनाको पूर्णिमा तिथिमा भएको मान्यता छ । यो दिन भक्तहरूले ब्रत–बन्धन गरेर हनुमानको पूजा गर्दा शारीरिक तथा मानसिक शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
२०. ‘सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ’ः अध्यक्ष स्वाँर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताउनुभएको छ । बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष स्वाँरले व्यवसायीहरूलाई मात्रै दोषारोपण गरेर समस्याको समाधान नहुने उल्लेख गर्दै सरकारले आफ्नो काम नगरेका कारण विकृति बढेको आरोप लगाउनुभएको हो । अध्यक्ष स्वाँरले अरूलाई औँला तेस्र्याउँदा बाँकी चारवटा औँला आफैँतिर तेर्सिने यथार्थ बिर्सन नहुने बताउनु भयो । यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालक र परिचालकको भूमिका महत्वपूर्ण हुने भएपनि सरकारले उनीहरूको शिक्षा र प्रशिक्षणका लागि बजेट नछुट्याएकोमा स्वाँरले आपत्ति जनाउनु भयो । उहाँले लाइसेन्स छान्ने जिम्मा निजी क्षेत्रलाई दिए अझ दक्ष चालकहरू छान्न सकिने दाबी समेत गर्नुभयो ।
२१. ‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’ः महन्थ ठाकुर
राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले राष्ट्रिय गानको भावना र देशको यथार्थबीच ठूलो खाडल रहेको औंल्याउनुभएको हो । उहाँले नेपालको सार्वभौमसत्ता बाहिर गएको त छैन ? भन्दै प्रश्न गर्नुभयो । नेपालको राजनीतिक इतिहासको चर्चा गर्दै ठाकुरले वि.सं. १९९७ देखि २००७, २०१७, २०३६, २०४६ हुँदै २०६२÷६३ सम्मका आन्दोलनहरू कसैको वरदान नभई हजारौँको बलिदानको उपज भएको बताउनु भयो । समानता, स्वतन्त्रता र राष्ट्रियताका लागि संघर्ष गरेको भएपनि व्यवहारमा त्यो नदेखिएको ठाकुरको तर्क छ । अधिकार माग्नेहरूलाई ‘अलगाववादी’ भनिएकोमा आपत्ति जनाउँदै उहाँले सत्तामा बस्नेहरूले आफ्नो कुर्सी खतरामा पर्दा मात्र राष्ट्रियताको नारा लगाउने गरेको आरोप लगाउनु भयो ।
२२. ‘नयाँ पुस्ताले केही भएन भन्छन्, तर देशमा ठूलो परिवर्तन भएको छ’ः पूर्वराष्ट्रपति यादव
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य परिवर्तन भएको बताउनुभएको छ । एक सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सात सालदेखि हालसम्मको राजनीतिक उतारचढाव र उपलब्धिहरूको सिंहावलोकन गर्दै नयाँ पुस्ताले सोचेजस्तो ‘केही नभएको’ भन्ने तर्कमा सहमत हुन नसकिने धारणा राख्नुभएको हो । उहाँले आफू कहिले विद्यार्थी, कहिले डाक्टर, किसान र कहिले पार्टीको महामन्त्री हुँदै देशको राष्ट्रपतिसम्म पुग्दा समाजले धेरै फड्को मारिसकेको बताउनु भयो । महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनिय परिवर्तन भएको बताउनु भयो । यद्यपि, शहरको तुलनामा ग्रामीण महिलाहरूको अवस्था अझै सुधारोन्मुख हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
२३. अमेरिकाद्वारा मानवसहितको आर्टेमिस २ चन्द्र मिसन प्रक्षेपण
नासाको आर्टेमिस २ चन्द्र मिसन बुधवार अमेरिकी राज्य फ्लोरिडाबाट प्रक्षेपण गरिएको छ । ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मानवसहितको उडान हो, जसमा चार जना अन्तरिक्ष यात्रीहरू सहभागी छन् । ओरियन स्पेसक्राफ्ट (अन्तरिक्ष यान) जडित ‘स्पेस लन्च सिस्टम’ रकेट पूर्वी समयअनुसार बेलुकी ६ः३५ बजे नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । यो आर्टेमिस कार्यक्रम अन्तर्गत नासाको पहिलो मानवसहितको मिसन हो । चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचका साथै क्यानेडियन स्पेस एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेन रहेका छन् । प्रक्षेपणको उल्टो गणना (काउन्टडाउन) टी–१० मिनेटको समयमा केही बेर रोकिए पनि केही मिनेटपछि पुनः सुरु गरिएको थियो ।
२४. क्यालिफोर्नियामा डिजेलको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
अमेरिका र इजरायलले इरान विरुद्ध शुरु गरेको युद्ध दोस्रो महिनामा प्रवेश गरेसँगै अमेरिकाकै ठूलो राज्य अर्थतन्त्र भएको क्यालिफोर्नियामा डिजेलको औषत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । क्यालिफोर्नियामा डिजेलको औषत मूल्य प्रतिग्यालन ७.४५५ अमेरिकी डलर कायम भएको छ । अमेरिकन अटोमोबाइल एशोसिएशनका अनुसार नयाँ मूल्यले यसअघि सन् २०२२ जुनमा कायम भएको प्रतिग्यालन ७.०१२ डलरको कीर्तिमानलाई उछिनेको छ । गत हप्ता मात्र राज्यभरको औषत मूल्य प्रतिग्यालन ७.०१८ डलर रहेको थियो । अमेरिकाभरिको राष्ट्रिय औषत खुद्रा डिजेल मूल्य भने प्रतिग्यालन ५.४५४ डलर रहेको छ । क्यालिफोर्निया ऊर्जा आयोगको तथ्याङ्कले डिजेललाई राज्यको दोस्रो ठूलो यातायात इन्धनको रूपमा देखाएको छ । कुल इन्धन बिक्रीमा पेट्रोलपछि डिजेलले १७ प्रतिशत हिस्सा ओगटेको छ ।
२५. क्रिमियामा रूसी एन–२६ विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु, फौजदारी मुद्दा दर्ता
क्रिमियामा रूसी एन–२६ सैन्य यातायात विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ र रूसी अनुसन्धान समितिले यस घटनामा फौजदारी मुद्दा दर्ता गरेको छ । समितिले दिएको पछिल्लो जानकारीअनुसार विमानमा सात चालक दलका सदस्य र २३ यात्रु सवार थिए । सैन्य अनुसन्धानकर्ताहरू, फरेन्सिक विशेषज्ञहरू, र रूसी आपतकालीन मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयका कर्मचारीहरू हाल क्रिमियाको बाख्चिसराय जिल्लाको पहाडी र वन क्षेत्रमा खोजी र उद्धार कार्य गरिरहेका छन् । रूसी रक्षा मन्त्रालयले मंगलबार ढिलो गरी एन–२६ क्रिमियन प्रायद्वीपमा निर्धारित उडानको क्रममा सम्पर्क विच्छेद भएको बताएको थियो। मन्त्रालयले यसअघि ६ चालक दलका सदस्य र २३ यात्रुको दुर्घटनामा मृत्यु भएको बताएको थियो । यसअघिका रिपोर्टहरूले खोजी र उद्धार टोलीहरूले दुर्घटना स्थल पत्ता लगाएको बताएका थिए।
२६. जापानमा लामो दूरीका क्षेप्यास्त्र तैनाथ गरेको विरोधमा प्रदर्शन
जापान सरकारले देशमा लामो दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने निर्णय गरेपछि नागरिकहरूले कडा विरोध प्रदर्शन गरेका छन् । जापानी रक्षामन्त्रीले कुमामोटो र सिजुओका प्रान्तहरूमा जवाफी हमला गर्न सक्षम लामो दूरीका क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताएका छन् । यस कदमले आन्तरिक विरोध निम्त्याएको छ । क्योडो न्यूजले यस कदमलाई जापानको युद्ध त्याग्ने संविधान अन्तर्गतको पूर्णतया रक्षा–उन्मुख नीतिबाट विचलन भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार क्याम्प केनगुन र क्याम्प फुजी नजिकका बासिन्दाहरूले पनि क्षेप्यास्त्र तैनाथी फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका छन् ।
२७. टर्किएको दक्षिण–पश्चिमी तटमा डुङ्गा पल्टिँदा १८ जनाको मृत्यु
टर्किएको दक्षिण–पश्चिमी प्रान्त मुग्लाको तटमा बुधवार अवैध आप्रवासी बोकेको एउटा रबरको डुङ्गा डुब्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । अन्य २१ जनाको जीवितै उद्धार गरिएको छ । टर्किए तटरक्षक बलले यस दुर्घटनाको पुष्टि गरेको छ । प्रशारक संस्था एनटिभीकाअनुसार स्थानीय समय अनुसार बिहान करिव ६ बजे बोडरम जिल्लाको लोकप्रिय पर्यटकीय रिसोर्ट नजिकै उक्त डुङ्गा पल्टिएको थियो । संकटको सूचना प्राप्त हुनेबित्तिकै टर्किए तटरक्षकले आपतकालीन उद्धार कार्य शुरु गर्न घटनास्थलमा धेरै डुङ्गा र विमानहरू परिचालन गरेको थियो । तटरक्षक बलकाअनुसार सुरक्षाकर्मीले बारम्बार दृश्य र श्रव्य चेतावनी दिँदा पनि उक्त रबरको डुङ्गा तिब्र गतिमा भागिरह्यो । रोकिने आदेशलाई बेवास्ता गर्दै अघि बढेको सो डुङ्गामा पानी पस्न थालेपछि, खराब समुन्द्री अवस्था र प्रतिकूल मौसमका कारण अन्ततः डुबेको थियो ।
२८. दक्षिण बेरुतमा इजरायली आक्रमणमा ७ जनाको मृत्यु
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार मंगलवार अबेर राति दक्षिण बेरुतमा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । दक्षिण बेरुतको नाह क्षेत्रमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । उक्त आक्रमणले एउटा सवारी लस्करलाई निशाना बनाएको थियो, जसका कारण कारहरूमा आगलागी भएको थियो र राजधानी तथा वरपरका क्षेत्रहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए । खाल्डे राजमार्गमा एउटा कारमा भएको अर्को इजरायली आक्रमणमा भित्र रहेका दुई जनाको मृत्यु भएको छ । निशानामा परेका व्यक्ति कुनै उच्च पदस्थ अधिकारी भएको विश्वास गरिए पनि उनीहरूको पहिचान तत्काल खुल्न सकेको छैन ।
२९. पेन्टागन प्रमुख भन्छन्ः इरानसँगको युद्धका लागि आगामी दिनहरू ‘निर्णायक’ हुनेछन्
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको जारी तनावमा आगामी दिनहरू युद्धको नतिजाका लागि निर्णायक हुने बताउनुभएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका–इजरायल र इरान बीचको युद्धका आगामी दिनहरू ‘निर्णायक हुने बताउनुभएको हो । उहाँले धेरै हप्ताको ठूलो अमेरिकी–इजरायली आक्रमण पछि पनि इरानसँग बदला लिने क्षमता बाँकी रहेको स्वीकार गर्नुभयो । उहाँले इरानसँगको युद्धका बारेमा पेन्टागनको प्रेस ब्रिफिङमा इरानी शासन अपाङ्ग भएको दाबी गर्नुभयो । पेन्टागन प्रमुखले सप्ताहन्तमा मध्य पूर्वमा अमेरिकी सेना र आधारहरूको अघोषित भ्रमण गर्नुभएको थियो ।
३०. बुरुण्डीको बुजुम्बुरामा श्रृंखलावद्ध विष्फोट
बुरुण्डीको आर्थिक राजधानी बुजुम्बुरामा धेरै विष्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाहरूले समाचार बताएका छन् । बुरुण्डीको गृह, सामुदायिक विकास तथा सार्वजनिक सुरक्षा मन्त्रालयले बुजुम्बुरा प्रान्तको एक सैन्य शिविरमा लागेको आगलागीपछि यी विष्फोटहरू भएको जानकारी दिएको छ । बुरुण्डीको राष्ट्रिय रक्षा बलले बुजुम्बुरा सैन्य आधार शिविरस्थित एक गोलाबारूद भण्डारबाट विष्फोट शुरु भएको पुष्टि गरेको छ । जहाँ अचानक आगलागी भएको थियो ।
३१. युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनुपर्ने क्रेमलिनको भनाइ
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबास क्षेत्रबाट आफ्ना सेनाहरू फिर्ता बोलाउनुपर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । प्रवक्ता पेस्कोभले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिले पनि उल्लेख गरेझैं जेलेन्स्कीले जिम्मेवारी बहन गर्दै यो कठिन निर्णय लिनुपर्ने बताउनु भयो । यसो गर्दा ठूलो संख्यामा मानिसहरूको ज्यान जोगाउन सकिने उहाँको भनाइ छ। यद्यपि रुस, संयुक्त राज्य अमेरिका र युक्रेनबीचको त्रिपक्षीय वार्तामा आएको अवरोध डोनबासमा युक्रेनी सशस्त्र बलको मुद्दासँग सम्बन्धित नरहेको पनि पेस्कोभले स्पष्ट पारेका छन् । यसैबीच, रुसी रक्षा मन्त्रालयले लुहान्स्क क्षेत्रमा रुसी सेनाले पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ ।
३२. रुसको तातारस्तानस्थित पेट्रोकेमिकल प्लान्टमा आगलागी, ३ जनाको मृत्यु र ७० भन्दा बढी घाइते
रुसको तातारस्तान गणतन्त्रमा एक पेट्रोकेमिकल प्लान्टमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको छ । यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको रुसी आपतकालीन अवस्था मन्त्रालयले मंगलबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार आगो निभाउने र मानिसहरूको उद्धार गर्ने क्रममा २७ वर्षीय ती अग्निनियन्त्रक अचानक भएको विस्फोटमा परेका थिए र उनलाई घातक चोट लागेको थियो । खोज तथा उद्धारका साथै आगो निभाउने कार्यका क्रममा अन्य तीन जना अग्निनियन्त्रकहरू पनि घाइते भएका छन् । यसअघि, रुसी ग्यास प्रशोधन तथा पेट्रोकेमिकल कम्पनी ‘सिबुर’ले उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको जनाएको थियो । कम्पनीकाअनुसार प्रभावित भएको उक्त प्लान्ट पश्चिम रुसमा यसको सहायक कम्पनी ‘निज्नेकाम्स्कनेफ्टेखिम’ द्वारा सञ्चालित छ ।
३३. लाम्पेडुसा नजिकै आप्रवासी डुङ्गा दुर्घटनाः १८ जनाको मृत्यु
बुधवार इटालीको लाम्पेडुसा टापु नजिकै आप्रवासी बोकेको एउटा डुङ्गा डुब्दा १८ जनाको मृत्यु भएको छ । अन्य पाँच जनाको अवस्था गम्भीर छ । अन्सा समाचार एजेन्सीकाअनुसार इटालीको कोस्ट गार्डका गस्ती जहाजहरूले पेलागी टापुहरू नजिकै संकटमा परेको डुङ्गा फेला पारेका थिए । उनीहरूले उक्त दृश्यलाई विनाशकारी भनेर वर्णन गरेका छन् । स्थानीय दैनिक ला सिसिलियाले रिपोर्ट गरे अनुसार जहाजबाट कुल १८ वटा शवहरू निकालिएको छ । पीडितहरूको मृत्यु हाइपोथर्मिया (अत्यधिक चिसो) का कारण भएको विश्वास गरिएको छ । शवहरूलाई फाभारोलो पियरमा किनारमा ल्याइएको छ । जहाँ अवतरण प्रक्रियाहरू भइरहेका छन् । यसैबीच एक बच्चासहित पाँच जना गम्भीर अवस्थामा फेला परेका थिए । उनीहरूलाई आपतकालीन उपचारका लागि स्थानीय चिकित्सा केन्द्रमा पठाइएको छ ।
३४. संयुक्त राष्ट्र महासभाद्वारा जनादेश सिर्जना र कार्यान्वयन सम्बन्धी प्रश्ताव पारित
संयुक्त राष्ट्र महासभाले मंगलबार जनादेश सिर्जना, कार्यान्वयन र समीक्षा सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । यो विश्व निकायलाई थप कुशल र प्रभावकारी बनाउने सुधार प्रयासको एक हिस्सा हो । प्रश्तावका शर्तहरूअनुसार महासभाले संयुक्त राष्ट्रका सबै जनादेशहरूको सिर्जना, कार्यान्वयन र समीक्षालाई मार्गदर्शन गर्न निश्चित सिद्धान्तहरूमा सहमति जनाएको छ । यसले संस्थाको कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ । यस प्रश्तावले संयुक्त राष्ट्र संघको कार्यप्रणालीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने विश्वास लिइएको छ । महासभाका सदस्यहरूले यसलाई सुधारको दिशामा एक ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन् ।
३५. अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्ः भीष्मराज आङ्देम्बे
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आगामी दिनमा फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिवद्धता गर्न पनि आग्रह गर्नुभयो । राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले फरक–फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताउनु भयो । नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमान्दार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले वितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
३६. चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने
प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोक्नुभएको हो । सदस्य केसीले संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना बिहीवार नै प्रकाशन गर्न पनि निर्देशन दिनुभएको छ । सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार जेष्ठ सदस्य केसीले सभामुख चयनको लागि निर्वाचनको मिति तोक्नुभएको हो ।
३७. जनताले सरकार परिवर्तन मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजेका छन्ः ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जनताले सरकार परिवर्तन मात्र नभई शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजिरहेको बताउनुभएको छ । विहीवार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र प्रतिनिधि सभाप्रति जनताको ठूलो अपेक्षा रहेको बताउनुभएको हो । उहाँले नेपाली जनताको ताजा जनादेशबाट गठित संसदलाई आशा, विश्वास र उत्सुकताका साथ हेरिएको उल्लेख गर्नुभयो । मन्त्रीपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूची स्वागतयोग्य रहेको उल्लेख गर्नुहुँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनका लागि समय, समर्पण र निष्पक्षता आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको संविधानको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावनाप्रति सबै राजनीतिक शक्तिहरू प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
३८. प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने
चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ । दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बैठक बस्न लागेको हो । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।
३९. भदौ २३ र २४ दुबै दिनका घटनालाई एक–एक केलाउन जरुरी छः काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जेन–जी आन्दोलनका क्रममा भएका भदौ २३ र २४ दुवै दिनका घटनालाई एक–एक गरी केलाउन जरुरी रहेको बताएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलनको घटनामा निष्पक्ष छानबिन नभएको बताउनु भयो । उहाँले संसद भवन, सिंहदरबार जलाउनेहरुलाई सरकारले बनाएको जाँचबुझ आयोगले समेत उन्मुक्ति दिएको आरोप लगाउनु भयो । उहाँले भदौ २३ र २४ गते भएका घटनाको समग्र रूपमा छानबिन गर्नुपर्नेमा जोड दिँदै एक पक्षीय दृष्टिकोण गलत भएको बताउनु भयो । कसैले २३ गतेको घटना मात्रै हेर्ने र २४ गतेको नदेख्ने, वा २४ गतेको ध्वंस मात्र देख्ने र २३ गतेको दमन नदेख्ने प्रवृत्ति गलत भएको उहाँको भनाई छ ।
४०. शान्ति र समृद्धिका नायकलाई खलनायक र देश जलाउनेलाई महानायक बनाइयोः एमाले नेता थापा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा हाल शान्ति र समृद्धिका नायकलाई खलनायक र देश जलाउनेलाई महानायक बनाईएको बताउनुभएको छ । बिहीवार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास गर्नेलाई हत्यारा र खलनायकको ट्याग भिराएर संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको बताउनु भयो । उहाँले नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वमा कथित रूपमा रंगक्रान्ति सम्पन्न गरिएको आरोप लगाउनु भयो । भदौ २३ रर २४ को रंगक्रान्तीलाई फागुन २१ गतेको आम निर्वाचनमार्फत निलो क्रान्तिमा वैधानिकता दिइएको दाबी गर्नुभयो ।
४१. संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भुमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताउनुभएको छ । बिहीवार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताउनु भयो । उहाँले सासंदमा आफू अरु सांसद भन्दा फरक रहेको बताउनु भयो । बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको उहाँको भनाई छ । उहाँले आफू कहिल्यै सांसद हुने कल्पना नगरेपनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताउनु भयो ।
४२. सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि माईतीघरमा प्रदर्शन
सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ । सडक संघर्ष समितिले विहीवार माईतिघरमा प्रदर्शन गरेको हो । सामुहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा वि.क. रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतको न्यायको लागि प्रर्दशन गरिएको सडक संघर्ष समितिले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, महिला अधिकारको रक्षा गर, छोरी सुरक्षित भएर मात्रै समाज सुरक्षित हुन्छ, बलात्कारपछिको कुर हत्यारालाई हदैसम्मको सजाय एउटै ‘मृत्युदण्ड’, चुप लाग्नु अपराधलाई साथ दिनु हो, चेतावनीसहित चेतना ‘डर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले मृतकको फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर पनि प्रदर्शन गरेका थिए ।
४३. अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न अध्यक्ष राईको माग
श्रम संस्कृति पार्टी (श्रसपा)का अध्यक्ष हर्कराज राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो माग गर्नुभएको हो । उहाँले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने उहाँको तर्क छ । उहाँले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनु भयो । उहाँले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
४४. ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गर्नुभयो । उहाँले आन्दोलनको क्रममा एमाले सांसदहरु राज्य दमनबाट घाइते भएको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराउनु भयो ।
४५. कामबाटै आफूलाई प्रमाणित गर्छौंः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ । प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो । जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गर्नुभयो । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।
४६. नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीवारबाट शुरू भएको छ । यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको बिहीवार काठमाडौंमा उद्घाटन गरिएको हो । महोत्सको उद्घाटन सत्रमा बलिउड फिम ‘सोले’ का निर्देशक रमेश सिप्पीसहित स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति छ । महोत्सव अवधिभर स्वदेशी तथा विदेशी चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ । महोत्सवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।
४७. प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई स्वस्थ बहसको थलो बनाउनुपर्नेमा जोड दिँदै प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । लोकतन्त्रको रक्षाका लागि प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले प्रतिपक्षीलाई उपेक्षा गर्दा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भन्दै जेन–जी आन्दोलनको समेत स्मरण गराउनु भयो । उहाँले विगतमा प्रतिपक्षी दलका नेताहरुमाथि प्रतिशोध साँध्नकै लागि कानून संशोधन र अध्यादेश नै ल्याइएको भन्दै त्यस्ता कानूनी छिद्रहरु तत्काल सच्याउने वाचा पनि गर्नुभयो । उहाँले प्रतिपक्षी दलहरुमाथि अहंकार र प्रतिशोधको अध्याय दोहोरिन नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद् र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकै भरमा कसैको माइक नकाट्ने पनि उल्लेख गर्नुभयो ।
४८. रास्वपालाई दुई तिहाइ बहुमत जुटाउन सहयोग गर्छौंः राप्रपा सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा संविधान संशोधनमार्फत स्थापित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकता र सुशासनको विषयमा संविधान संशोधन गर्न सरकारलाई दुई तिहाइ बहुमत जुटाउन राप्रपा सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, सामाजिक न्याय र रुपान्तरणका विषयमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताउनु भयो । उहाँले कृषिमा देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै देशका किसान रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्था अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्न समेत सबै दलहरुलाई आह्वान गर्नुभयो ।
४९. रास्वपाले दोहो¥यायो–राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीले स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्नू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सार्वजनिक तथा संवैधानिक निकायहरुमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले नीति, कानून, मापदण्ड र मान्यताका आधारमा पारदर्शी नियुक्ति प्रणाली स्थापना गर्न चाहेको भन्दै राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार नयाँ, नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहान्छ । हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’
५०. रास्वपाले माग्यो दलित समूदायसँग माफी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको उपेक्षामा पर्दै आएको दलित समुदायसँग संसदबाटै माफी माग्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभापति लामिछानेले दलित समुदायसँग माफी माग्नुभएको हो । उहाँले सांसद खगेन्द्र सुनारले निर्वाचनको क्रममा माफी मागेको उल्लेख गर्दै राज्यले कहिल्यै दलित समुदायसँग माफी माग्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले उहाँले भन्नुभयो, ‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ । चुनावी दौडका शिलशिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन, उहाँले गल्ति गर्नुभएको कि भएन । तर उहाँले माफी माग्नुभयो । म आज यो सदनबाट सिंगो देशलाई भन्न चाहान्छु । के हामीले वर्षौँदेखि खगेन्द्र सुनारहरुमाथि अन्याय हुँदा माफी माग्यौँ ? यो देशका दलित समूदायलाई आज मैले सार्वजनिक क्षमायाचनासहित केही भन्नु छ ।
५१. संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैनः नेकपा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश र पार्टीलाई सही दिशामा अघि बढाउन जिम्मेवार ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा नेकपा सधैं सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले विगतमा कम्युनिष्ट पार्टीहरुले प्राप्त जनमतको सदुपयोग गर्न नसकेको स्मरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यसबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभयो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले उल्लेखनीय जनसमर्थन पाएको तथा २०७४ सालमा पार्टी एकतापछि तत्कालीन नेकपाले झण्डै दुई तिहाइ बहुमत पाएपनि त्यसको सदुपयोग गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ ।
५२. संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः ज्येष्ठ सदस्य केसी
‘संसद राष्ट्रिय राजनीतिको ऐना, सभामुख त्यसको संरक्षक’
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भुमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केसीले सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । केसीले बिहीवारको (आजको) बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको विश्वास समेत व्यक्त गर्नुभयो ।
५३. सभापति लामिछानेले दलित समुदायसँग माफी मागेकोबारे सांसद पराजुली– ऐतिहासिक कदम
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दलित समूदायमाथि दलितमाथि भएको विगतमा राज्यले गरेको उत्पीडनका लागि पार्टी सभापतिको क्षमायाचनालाई महत्वपूर्ण र ऐतिहासिक कदम भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले यस्तो बताउनुभएको हो । उहाँले दलित समुदायले भोग्दै आएको विभेद र राज्यस्तरीय उत्पीडनप्रति पार्टीले लामो समयदेखि आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभापति रवि लामिछानेले संसदको रोष्ट्रमबाट माफी माग्नुभएको थियो । सांसद पराजुलीले सुशासन र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार अघि बढिसकेको दाबी पनि गर्नुभयो ।
५४. एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए, युरोप–अमेरिकाबाट आउने पर्यटकको संख्यामा भने कमी
एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् ।
५५. रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पु¥याउने समयसीमा दुई वर्ष थप
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी पु¥याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)’ मार्फत रेमिट्यान्स कम्पनीहरूले २०८७ असार मसान्तभित्र न्युनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याए पुग्ने नयाँ व्यवस्था गरेको हो । यसअघि यस्तो पुँजी २०८५ असार मसान्तभित्रै कायम गर्नुपर्ने प्रावधान थियो । राष्ट्र बैंकले यसअघि चरणवद्ध रूपमा पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । जसअनुसार २०८१ सम्म ३ करोड, २०८२ सम्म ४ करोड, २०८३ सम्म ६ करोड, २०८४ सम्म ८ करोड र २०८५ सम्म १० करोड रुपैयाँ पु¥याउनुपर्ने व्यवस्था थियो । तर, नयाँ संशोधनपछि उक्त लक्ष्य हटाइएको छ र सिधै २०८७ सम्म १० करोड पुँजी पु¥याउनुपर्ने प्रावधान राखिएको छ ।
५६. व्यवसायी प्रवद्र्धनका लागि नीतिगत सुधारमा लागिरहेका छाँैः मन्त्री पौडेल
वागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेलले व्यवसायी प्रवद्र्धनका लागि नीतिगत सुधारमा जोड दिन सरकार तयार रहेको बताउनुभएको छ । नर्सरी व्यवसायी महासंघले राजधानीमा आयोजना गरेको एक्स्पोलाई सम्बोधन गर्दै नर्सरी व्यवसाय प्रवद्र्धनका लागि सरकारले व्यवसायमा देखिएका समस्याहरु सम्बोधन गर्न तयार रहेको बताउनु भयो । मन्त्री पौडेलकाअनुसार व्यवसायीहरुले भोगिरहेको समस्या भनेको आन्तरिक प्रतिष्पर्धा भन्दा पनि विदेशबाट आउने सामानहरुसँग गर्नुपर्ने अवस्था छ । वागमती सरकारले नीतिगत रुपमै प्लास्टिकका फूलहरुलाई निशेषध गरेको बताउनु भयो । अहिले पनि उक्त नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न वागमती सरकार लागेको बताउँदै नीति प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाट अनुगमन हुनुपर्ने समेत उहाँले बताउनु भयो ।
५७. सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी सचिव भुजेल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेको बताउनुभएको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको बताउनु भयो । सहकारीको मूल्यमान्यताअनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij