२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको बेलामा प्रहरीले मंगलवार राती छापा मारेर नियन्त्रणमा लिएको हो । पार्टीमा लागुऔषध प्रयोग र विक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
नियन्त्रणमा लिएकामध्ये ८ जनासँग लागुऔषध फेला परेको छ । एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताए। बाँकी रहेकाहरुको हकमा भने विगतको अपराधिक पृष्ठभुुमी खोजिरहेको र सोहीअनुसार कारवाही प्रक्रिया अगाडी बढाउने उनको भनाई छ ।
प्रहरी उपरीक्षक कार्कीकाअनुसार घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद गरिएको छ । बरामद सामग्रीमा एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’, गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन् । उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij