२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । ललितपुर जिल्ला अदालतले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अबदेखि खाजा समयमा पनि नियमित सेवा प्रवाह गर्ने भएको छ।
अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै चैत १७ गतेदेखि लागू हुने गरी खाजा खाने समयमा पनि अदालतको कामकारबाही नरोकिने व्यवस्था मिलाएको जनाएको हो।
यसअघि अदालतमा कार्यरत कर्मचारीहरूको खाजा समयका कारण दिउँसोको समयमा सेवा प्रवाह प्रभावित हुँदै आएको थियो। साविकको व्यवस्था अनुसार प्रत्येक आइतबारदेखि बिहीबारसम्म दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म र शुक्रबारको दिन दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म खाजा समय तोकिएको थियो।
तर, अब नयाँ व्यवस्था लागू भएसँगै सेवाग्राहीले खाजा समय सकिने पर्खाइमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। अदालतले सूचनामार्फत खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको प्रष्ट पारेको छ।
यस कदमबाट अदालतमा विभिन्न सेवा लिन पुग्ने सर्वसाधारणलाई ठूलो राहत पुग्ने, अनावश्यक झन्झट हट्ने र समयको समेत बचत हुने विश्वास गरिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij