२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–मण्डिखाटार, हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर रहेका छन्।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन्।
हरि बहादुर थापा मगरले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको र सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षसँग रकम माग गरेका थिए।
उनले आफ्नी श्रीमती मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए।
पक्राउ परेका दुवै जनामाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij