२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउत ६५ वर्षे उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेका हुन् ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुने र भोलिबाट अनिवार्य अवकाशमा जान लाग्नु भएको बताए । उनको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् । कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुन् ।
वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए ।
न्यायपालिकाभित्रको विकृति, विसङ्गतिबारे अध्ययन गर्न सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको समितिमा रहेर कार्य गरेका थिए । सर्वोच्च अदालतकै तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित न्यायपालिकाको विकृति विसङ्गतिबारे अध्ययन गर्न गठित समितिमा पनि उनी सदस्य थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij