२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अबहेलना मुद्दा दर्ता भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका हुन् । उक्त निवेदनको पेसी चैत १८ गतेका लागि तोकिएको छ ।
निवेदनमा उच्च अदालतले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानुनी सिद्धान्तको पालना नगरी निर्णय गरेको आरोप लगाइएको छ । चौधरीले आफ्नो रिट निवेदनमा सर्वोच्च अदालतका विभिन्न निर्णयबाट स्थापित कानुनी सिद्धान्तहरू स्पष्ट रूपमा उल्लेख गरेको भए पनि ती सिद्धान्तलाई बेवास्ता गरी फैसला गरिएको दाबी गरेका छन् ।
निवेदन अनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानूनी आधारविना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनका आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij