२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा बेन्च बस्न नसकेपछि सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटसहित सात वटा पेसी तोकिएको थियो ।
साथै मेघराज पोखरेलको एकल इजलासमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण रिट सहित सात वटा रिट पेसीमा तोकिएको थियो । पोखरेलको एकल इजलासमा परेको रिटमा सुनुवाइ नसकिएपछि संयुक्त इजलास बस्न नसकेको हो ।
न्यायाधीश रेग्मी र पोखरेलको संयक्त इजलासको १२ नम्बर सूचीमा रहेको लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा बेन्च बस्न नसकेका कारण सुनुवाइ हुन नसकेको हो ।
यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij