Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

प्रतिनिधि सभा सदस्यलाई सम्पती विवरण बुझाउन संसद सचिवालयको निर्देशन, विवरण गोप्य राखिने

प्रतिनिधि सभा सदस्यलाई सम्पती विवरण बुझाउन संसद सचिवालयको निर्देशन, विवरण गोप्य राखिने


  • 309
    Shares

    • images
    प्रतिनिधि सभा सदस्यलाई सम्पती विवरण बुझाउन संसद सचिवालयको निर्देशन, विवरण गोप्य राखिने

    काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो सम्पती विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पती विवरण अनिवार्य रुपमा संसद सचिवालयमा बुझाउन निर्देशन दिएको हो । 

    सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्यहरुले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१\०८२ को अद्यावधिक सम्पती विवरण बुझाउनु पर्ने छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिबाट ६० दिनभित्र आफ्नो सम्पती विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानूनी प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

    सोही कानूनी प्रावधानअनुसार सम्पती विवरण पेश गर्न सांसदहरुलाई औपचारिक सूचना जारी गरिएको उनको भनाई छ । प्रतिनिधि सभा सदस्यहरुले चैत १२ गते शपथ लिएपछि सार्वजनिक पद धारण गरेको मानिने भएकाले सो मितिबाट गणना हुनेगरी ६० दिनभित्र सम्पती विवरण बुझाउनुपर्नेछ ।

    सचिवालयमा आफ्नो सम्पती विवरण खामबन्दी गरी गोप्य रुपमा बुझाउनुपर्ने प्रवक्ता गिरीले जानकारी दिए । उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । 

    सचिवालयले प्रतिनिधि सभा सदस्यहरुले बुझाएको सम्पत्ति विवरण पूर्ण रुपमा गोप्य रहने स्पष्ट पारेको छ । कानूनअनुसार अदालतको आदेश आएमा बाहेक अन्य कुनै अवस्थामा उक्त विवरण सार्वजनिक नहुने प्रवक्ता गिरीले जानकारी दिनुभयो । उनकाअनुसार सदस्यहरुले बुझाएको विवरणको दुरुपयोग हुनेछैन । 

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १४:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij