२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन भएपछि अब उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया शुरु हुने भएको छ ।
निश्चित राजनीतिक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्थे । तर, प्रतिनिधिसभामा दुई तिहाइ नजिकको संख्यामा रास्वपा उपस्थित भएका कारण राष्ट्रपति सरकार गठनका लागि आह्वान गर्नु नपरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
अब रास्वपाले संसदीय दलको नेता चयन भएको विषय लिखित रूपमा राष्ट्रपति कार्यालयमा जानकारी गराएपछि उक्त दलको नेता स्वतः प्रधानमन्त्री नियुक्त हुने पोखरेलले बताए । ‘उहाँहरूले अहिले, राति वा बिहान कहिले पत्र ल्याउनुहुन्छ, त्यो उहाँहरूको कुरा भयो, यहाँ पत्र आएपछि त्यसअनुसार प्रधानमन्त्री नियुक्त हुने हो’, उनले भने ।
रास्वपाले राष्ट्रपति कार्यालयलाई पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने ब्यहोरा खुलाउनुपर्छ । त्यस्तो पत्र प्राप्त हुनासाथ राष्ट्रपतिले उक्त दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन् ।
यसअघि नै भोलि १३ गते शुक्रवार दिउँसो १२ बजेपछि नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी शुरु भइसकेको थियो ।
निम्तालुहरूलाई १२ बजे अगावै उपस्थितिका लागि राष्ट्रपति कार्यालयले खबर गरिसकेको कार्यालय स्रोतले जनाएको छ । शपथ ग्रहण समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका विशिष्ट र प्रथम श्रेणीका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलन छ ।
त्यसबाहेक नवनियुक्त प्रधानमन्त्री र मन्त्रीका निश्चित संख्यामा आफन्त वा शुभचिन्तकलाई पनि शपथ समारोहमा उपस्थित हुने सुविधा दिइएको राष्ट्रपति कार्यालयले बतायो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij