२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँ महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण हुनेछ ।
हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिनेछ । ५ दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिनेछ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाइएको हो ।’
परीक्षणबाट पोजेटिभ देखिएका विरामीलाई थप परीक्षण र आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लगिनेछ ।
नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमणबाट मानिसहरु थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन प्रयास गरिरहेको छ । संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि बैशाख १४ गतेको कार्यपालिकाको निर्णय र बैशाख २३ गते स्वास्थ्य विज्ञहरुसँगको बैठकले गरेका निर्णयका आधारमा वृहत एन्टिजेन परीक्षण गरिने भएको हो ।
परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ्ग (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ । महानगरका कोविड १९ फोकल पर्सन ज्ञानबहादुर ओली भन्नुहुन्छ, ‘आवश्यकताका आधारमा थप जनशक्ति परिचालन गरेर पनि कार्यक्रम गरिनेछ ।’
कोविडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो ।
विभागले परीक्षणको प्रारम्भिक योजना बनाएको छ । जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ । १७ वटा साना हरेक १÷१ वटा केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ । परीक्षणका लागि खटिने जनशक्तिको टोलीले १ दिनमा २ ठाउँमा परीक्षण गर्नेछ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा संकलित नमूना जाँच गर्ने काम गरिनछे । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ ।
यस अघि कालीमाटी तरकारी तथा फलफुल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij