२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक बिहान गएराति २:५० बजे अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएपछि करिब १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।
दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका-३२ निवासी करिब २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ। उनलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
ट्रक चालक सोही स्थानका ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ।
दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट जितपुर भञ्ज्याङबाट गएको प्रहरी टोली र लेनडाँडा सुरक्षा बेसबाट खटिएको नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij