२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो संख्याका कागहरूमा बर्डफ्लु संक्रमित भएको पुष्टि भएको छ। कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग संकलन गरी मंगलबार पुरेको छ।
‘त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज संकलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौं, रासससँग कुरा गर्दै नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन्। उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए।
प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो। त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग संकलन गर्ने निर्णय गरेको थियो।
साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना संकलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग संकलन गर्न थालिएको थियो । आज संकलन गरिएका ६८ वटा काग खाल्डो खनी गाडिएको छ।
उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन्। ुखुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छु, उनले भनिन्। उनकाअनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ।
पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij